कुशल फार्मेसीको अभ्यास

कुशल फार्मेसीको अभ्यास

खोपलाई समेत जोड्दा औषधि नचाहिने मानिस छैनन्। गर्भमा आउने तयारीदेखि जन्मिएर पूरा जीवन कटाई मृत्युवरण गर्दासम्म हामी औषधिको सहयोग लिइरहेका हुन्छौं। उपभोक्तासम्म औषधि पुर्‍याउने अहम् भूमिका मुख्यतः सामुदायिक फार्मेसी र अस्पताल फार्मेसीले खेल्छन्।

मधुमेह, हृदय रोग, उच्च रक्तचाप, क्यान्सर, दीर्घकालीन अवरोधक पल्मोनरी रोग (सीओपीडी) र एचआईभी–एड्स जस्ता दीर्घकालीन रोगमा बिरामीले बाँच्न र जीवनको गुणस्तर सुधार गर्न लामो समयसम्म र कतिपय अवस्थामा आजीवन नियमित, निर्बाध, समयमै औषधि सेवन आवश्यक पर्दछ। नसर्ने दीर्घकालीन रोग र एचआईभी–एड्सको बोझ कम र मध्यम आय भएका देशहरूमा सबैभन्दा बढी पर्छ। दुःखको कुरा, क्यालिफोर्निया विश्वविद्यालयका प्राध्यापक एम रोबिन दिमातिओ (सन् २००४) ले सन् १९४८ देखि १९९८ सम्म साइकलिट र मेडलाइनमा एब्स्ट्र्याक्ट उपलब्ध भएका गैरमानसिक चिकित्सकद्वारा दिइएका औषधि सेवनका आदेश पालनासम्बन्धी सम्पूर्ण आर्टिकलहरू (जम्मा ५६९ वटा) को बृहत् विश्लेषणद्वारा यो कुरा देखाए कि एकचौथाइ बिरामी औषधि सेवनका लागि दिइएको निर्देशन पालना गर्दैनन्। हुन त यो विश्वव्यापी समस्या हो, औषधि सेवनमा ध्यान नदिने समस्या विकासशील देशमा झन् चर्को हुनसक्ने अनुमान गरिएको छ। यसले बिरामीलाई निर्धारित उपचारको पूर्ण फाइदा प्राप्त गर्नबाट रोक्छ, उपचारको नतिजा बिगार्छ, सुरुदेखि नै रोगको जटिलता थप्छ र अस्पताल भर्ना हुनुपर्ने बनाउँछ। साथै, यसले आर्थिक उत्पादकत्व घटाई स्वास्थ्य सेवा खर्चबाहेक अर्बौंको नोक्सान पुर्‍याउँछ।

औषधिको गुणस्तर उत्पादनसम्म कुशल उत्पादन अभ्यासद्वारा र बिक्रीका लागि स्वीकृति दिनेलगायत सबाल कुशल नियमन अभ्यासद्वारा व्यवस्थित हुन्छन्। उसो त यी दुई अभ्यासको कुशल फार्मेसी अभ्याससित प्रत्यक्ष, गहिरो, पूरक सम्बन्ध रहन्छ। ढुवानी, भण्डारण, प्रयोग र निर्माणदेखि प्रयोग गर्दासम्मको अवधिमा सम्पर्कमा आउने वातावरणीय अवस्थाले पनि औषधिको गुणस्तर प्रभावित हुन्छ। उत्पादकले तोकेको म्याद नसकिँदै औषधि निस्प्रभावी मात्र हैन, विषाक्तसमेत बनेका धेरै उदाहरण छन्। सीमित स्रोतसाधन र जनशक्तिबाट धेरै औषधिको सेवा दिनुपर्ने भएकाले परीक्षण नै गर्ने कुरा सम्भव नभए पनि स्थापित कुशल अभ्यासद्वारा सामुदायिक वा अस्पताल फार्मेसी गुणस्तरीय औषधि वितरणमा महŒवपूर्ण भूमिका खेल्न सक्छन्।

औषधोपचार प्रक्रियामा औषधि सेवनअघि बिरामीले भेट्ने पछिल्लो स्वास्थ्यकर्मी फर्मासिस्ट हो। चिकित्सकले पुर्जी लेख्दा गरेको गल्ती औषधि वितरण गर्ने समयमा फर्मासिस्टले देखेन भने वा फर्मासिस्ट आफैंले वितरणमा गल्ती गर्‍यो भने वा बिरामीलाई राम्ररी परामर्श दिई सही तरिकाले औषधि प्रयोग गर्न सक्ने र मान्ने बनाउन सकिएन भने औषधिद्वारा सही उपचार सम्भव हुँदाहुँदै पनि बिरामीले धेरै दुःख पाउँछन् र क्षयरोगजस्ता रोग असाध्य बन्न पुग्छन्। यस्तो परामर्श दिन कस्तो शिक्षित, दक्ष, अनुभवी र समर्पित जनशक्ति आवश्यक पर्छ, त्यो सहजै अनुमान गर्न सकिन्छ।

रोग, उपचार पद्धति, उपलब्ध औषधि र अनुसन्धानका क्रममा रहेका औषधिको विश्वव्यापी अवस्था आफ्ना ठाउँमा छन्। वर्तमान नेपालको फार्मेसी सेवाकै सन्दर्भमा विश्वमा प्रयोगमा रहेका औषधिलाई राम्रो गुणस्तरसहित आम उपभोक्ताको आर्थिक क्षमताले भ्याउने गरी अटुटरूपमा उपलब्धता, औषधिको हुन सक्नेसम्म विवेकपूर्ण प्रयोग, सही प्रक्रियाद्वारा औषधि र खोप निर्माण, ढुवानी, भण्डारण, वितरण र सेवन मुख्य चासोका विषय हुन्। आर्थिक पाटो, जीवनशैली, बिरामी जाँची औषधि पुर्जी लेख्ने काम र अन्य यस्तै जनस्वास्थ्यमा प्रभाव पार्ने कुरामा फार्मेसी सेवाको भूमिका आंशिक मात्र हुन सक्छ।

विश्व स्वास्थ्य सभाले सन् १९८६ मा अंगीकार गरेको परिमार्जित औषधिसम्बन्धी रणनीतिअनुरूप विश्व स्वास्थ्य संगठनले फर्मासिस्टको भूमिकाबारे दिल्ली (सन् १९८८) र टोकियो (सन् १९९३) मा बैठक आयोजना गर्‍यो। विश्व स्वास्थ्य संगठनले अघि सारेको परिमार्जित औषधिसम्बन्धी रणनीतिमा फर्मासिस्टको भूमिकालाई सन् १९९४ को विश्व स्वास्थ्य सभाले घोषणा डब्लूएचए ४७.१२ मार्फत अंगीकार गर्‍यो।

आर्थिक पाटो, जीवनशैली, बिरामी जाँची औषधि पुर्जी लेख्ने काम र अन्य यस्तै जनस्वास्थ्यमा प्रभाव पार्ने कुरामा फार्मेसी सेवाको भूमिका आंशिक मात्र हुन सक्छ।

सन् १९९२ मा अन्तर्राष्ट्रिय फर्मास्युटिकल फेडरेसन (एफआईपी) ले ‘समुदाय र अस्पतालमा कुशल फार्मेसी अभ्यास’ शीर्षकअन्तर्गत फार्मेसी सेवाका मानकहरू विकास गर्‍यो। यो डब्लूएचओको फर्मास्युटिकल उत्पादनसम्बन्धी प्राविधिक समितिमा पनि पेस गरियो र सन् १९९७ मा दुवै निकायले पारित गरेपछि एफआईपी र डब्ल्यूएचओ कुशल फार्मेसी अभ्याससम्बन्धी संयुक्त दस्ताबेज सन् १९९९ मा डब्लूएचओको फर्मास्युटिकल उत्पादनसम्बन्धी प्राविधिक समितिको ३५औं प्रतिवेदन समावेश गरियो।

विश्व स्वास्थ्य संगठनले फर्मासिस्टको भूमिकाबारे भ्यान्कोभर (सन् १९९७) र हेग (सन् १९९८) मा थप दुई बैठक आयोजना गर्‍यो। यी बैठकले फार्मेसी पाठ्यक्रम सुधारको आवश्यकतालाई थप बल दिए र बिरामीद्वारा स्वयम् औषधोपचारमा फर्मासिस्टको भूमिकालाई अरू स्थापित गरे।

त्यसयता डब्लूएचओ, एफआईपी र अन्य विभिन्न सरोकार संगठन र समूहले फार्मेसी सेवालाई बदलिँदो भूमिका निर्वाह गर्न सघाउने उद्देश्यले बैठक, तालिम र गोष्ठी आदि आयोजना गर्दै आएका छन्। एफआईपीले जीपीपीका लागि आफ्ना सदस्य संगठनहरूलाई प्राविधिक सहयोग उपलब्ध गराउन पहल गर्‍यो। राष्ट्रिय मापदण्डको विकास गर्न कम्बोडिया, मोल्डोभा, मंगोलिया, पराग्वे, थाइल्यान्ड, उरुग्वे र भियतनाममा सन् २००५ देखि २००७ सम्म पाइलट अध्ययन गर्‍यो। २००७ एफआईपी दक्षिणपूर्वी एसिया फर्मास्युटिकल फोरमले ‘सामुदायिक फार्मेसीमा कुशल फार्मेसी अभ्यासका बारेमा बैंकक घोषणा’ पारित गर्‍यो।

फार्मेसी सेवामा विश्वव्यापी रूपमा आएका पछिल्ला विकासलाई आत्मसात गर्दै नेपालमा पनि सुधारका प्रयास भएका छन्। अस्पतालहरूको आफ्नै फार्मेसी हुनुपर्ने नियमलगायत कतिपय नीति, नियम, निर्देशिका नेपालले यस प्रसंग गरेका केही प्रगति हुन्।

अझै पनि ड्राफ्टका रूपमा रहेको नेपाल फार्मेसी परिषद्द्वारा सन् २००५ मा ‘राष्ट्रिय कुशल फार्मेसी निर्देशिका’ र नेपाल केमिस्ट एन्ड ड्रगिस्ट एसोसिएसनले २०७१ मा निकालेको ‘रिफ्रेसर ट्रेनिङ ह्यान्डबुक’ मा यसका धेरै अंश समेटिएका छन्, भलै यी दुवै प्रकाशन अंग्रेजी भाषामा छन्। नेपालका फार्मेसी शिक्षाका पाठ्यक्रमले पनि ‘कुशल फार्मेसी अभ्यास’ समेटेका छन्। यस हिसाबले कुशल फार्मेसी अभ्यास हाम्रा लागि अनौठो अवधारणा होइन। तर अभ्यासको हिसाबले, जबसम्म सेवाग्राहीलाई प्रत्यक्ष सम्पर्कमा रहेर फस्र्टह्यान्ड सेवा दिने सामुदायिक फार्मेसी र अस्पताल फार्मेसीमा कुशल फार्मेसी अभ्यास हुन सक्दैन, तबसम्म हामीले राम्रो फार्मेसी दियौं भन्न मिल्दैन। लक्षित वर्गलाई कुशल फार्मेसी अभ्यासबारे उनीहरूले बुझ्ने भाषामा प्रशिक्षण दिनु आजको आवश्यकता हो।

—रेग्मी त्रिभुवन विश्वविद्यालय फार्मेसी विषयका प्राध्यापक हुन्।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.