इन्स्टिच्युट बन्द गरेर विद्यालय खोलेँ
काभ्रे बनेपास्थित आदर्श विद्या मन्दिर स्कुलका प्रधानाध्यापक हुन्, रामप्रसाद तिमल्सिना। उनी विगत १६ वर्षदेखि यस विद्यालयमा प्रधानाध्यापकका रूपमा कार्यरत छन्। यसभन्दा अगाडि उनी ‘नेपाल मिडिया इन्स्टिच्युट’ नामक आफ्नै निजी इन्स्टिच्युटमा काम गर्थे।
विद्यालयसँग उनको खासै सम्बन्ध थिएन। त्यसैले होला उनले विद्यालयको प्रधानाध्यापक बन्छु भनेर सोचेकै थिएनन्। तर, पछि कल्पनै नगरेको कामसँग सधैंका लागि उनको साइनो गाँसियो। बिस्तारै काम गर्दै जाँदा उनलाई आनन्द लाग्न थाल्यो। भन्छन्, ‘म विद्यालयको प्रधानाध्यापक बनूँला भन्ने कल्पना त गरेको थिइनँ तर प्रधानाध्यपक भएर बालबालिकाको भविष्य राम्रो बनाउने जिम्मा पाएपछि खुसी भएँ। मैले यसैलाई आफ्नो पेसा बनाएँ।’
जीवन एउटा यात्रा हो। यात्राका क्रममा परिस्थितिले कुन बेला कस्तो मोडमा पुर्याइदिन्छ थाहा हुँदैन। तिमल्सिनाको यात्रामा पनि यस्तै मोड आयो। उनी विद्यालय वा शिक्षण पेसामा आउनुको अवस्था वा परिस्थितिलाई बताउन विगततिर फर्किए।
२०५५ सालमा उनले एसएलसी पास गरे। खाली समयमा केही गर्नु पर्यो भनेर उनले काभ्रेबाट निस्किने ‘चेष्टा’ नामक साप्ताहिक पत्रिकाको बजार प्रतिनिधि भएर काम गर्न थाले। ‘पत्रिकामा काम गरेपछि मलाई त्यसप्रति रुचि बढ्यो’, एसएलसी रिजल्टपछि आईए पत्रकारिता पढ्न थालेका तिमल्सिना भन्छन्, ‘मैले पत्रिकामा काम गर्दा समाजका विभिन्न समस्या बुझ्ने मौका पाएँ र यसै क्षेत्रमा केही काम गर्छु भन्ने लाग्यो।’
२०५७ सालमा उनले नेपाल मिडिया इन्स्टिच्युट खोले। यस इन्स्टिच्युटमार्फत उनले पत्रकारिता, उद्घोषण, भाषा शिक्षणलगायतका विषयमा तालिम दिन थाले। यो क्रम करिब तीन वर्षसम्म चल्यो। केही समयपछि इन्स्टिच्युट सञ्चालन गरिराखेको घरमा स्कुल खोल्ने कुरा आयो।
‘घरबेटीले मलाई पनि स्कुलमा संलग्न हुन आग्रह गरे र म इन्स्टिच्युट बन्द गरेर स्कुल खोल्ने कुरामा सहमत भएँ’, तिमल्सिना भन्छन्, ‘२०६० साल चैतमा हामी चार जना मिलेर त्यो स्कुल सञ्चालन गर्यौं।’ त्यति बेला विद्यालयका प्रधानाध्यपक थिए केदार तिमल्सिना।
स्कुलको नयाँ शैक्षिक सत्र २०६१ सालमा सुरु भयो। यसको १५ दिनमै बुर्जुवा शिक्षाविरुद्ध भन्दै शैक्षिक हडताल सुरु भयो। तिमल्सिना त्यति बेला विद्यार्थी संख्या जम्मा ५२ जना भएको बताउँछन्। ‘हडताल सुरु हुँदा ५२ जना विद्यार्थी थिए तर हडतालपछि जम्मा ३६ जना विद्यार्थी मात्र बाँकी रहे। दुई जना शिक्षक पनि विदेश लागे’, रामप्रसादले गुनासो गरे। त्यसपछि उनले प्रधानाध्यापकको जिम्मेवारी सम्हाले। यहीँबाट उनको यात्रा प्रारम्भ भयो।
प्रधानाध्यापकका चुनौती
प्रधानाध्यापक एउटा शैक्षिक संस्थाको पूर्ण जिम्मेवार व्यक्ति हो। स्कुलभरिका बालबालिका, अभिभावक, शिक्षक, अन्य विभिन्न पक्षलाई राम्रो बनाउने काम प्रधानाध्यापकको काँधमा हुन्छ। त्यसैले यी सबैको समन्वय गर्न निकै चुनौतीपूर्ण भएको बताउँछन् तिमल्सिना। भन्छन्, ‘नयाँ योजना बनाउँदा, त्यसको कार्यान्वयन गर्दा र अन्य विभिन्न गतिविधिको पनि सूक्ष्म रूपमा मूल्यांकन गर्दा संवेदनशील हुनुपर्छ, नत्र विद्यार्थीको भविष्य बर्बाद हुन सक्छ।’
उनी यस विद्यालयमा शिक्षक भएर पनि पढाउँछन्। उनलाई शिक्षक भएर पढाउनु र प्रधानाध्यापक भएर हेर्नुमा धेरै अन्तर छ भन्ने लाग्छ। ‘शिक्षक मात्र भएर काम गर्दा शिक्षकले आफ्नो निश्चित समय पावन्दीमा तोकिएका कामहरू पूरा गरे पुग्छ’, तिमल्सिना भन्छन्, ‘तर प्रधानाध्यापकले कहिले विद्यार्थीका, कहिले अभिभावकका, कहिले प्रशासनिक कुरा, कहिले शिक्षक नियुक्तिदेखि अन्य गतिविधि, समसामयिक शैक्षिक अवस्था वा गतिविधिमा चौबिसै घण्टा केन्द्रित हुनुपर्छ।’
प्रधानाध्यापक भएर काम गरेको १६ वर्ष पार गरिसक्दा उनलाई त्यस्तो नराम्रो अवस्था सामना गर्नु परेको त छैन तर विद्यार्थी समयमा घर नपुगिदिने, कहिले कता बरालिने जस्ता कुराले अभिभावकको गुनासो सुन्नु परेको बताउँछन्। उनी भन्छन्, ‘प्रधानाध्यापक भइसकेपछि आफ्ना केही व्यक्तिगत चाहनाहरूको माया मारेर भए पनि विद्यालयलाई ध्यान दिनुपर्ने रहेछ।’ स्कुलको आर्थिक व्यवस्थापन गर्नुपर्ने चुनौती, भौतिक संरचना व्यवस्थापनको चुनौती, विद्यार्थी संकलन, व्यवस्थापन साथै उनीहरूको सिकाइ उपलब्धिको मूल्यांकन गर्नुपर्नेलगायतका चुनौतीहरू पार गर्दै उनी अगाडि बढे।
शिक्षा क्षेत्रको समस्या
नेपाल भौगोलिक विविधता भएको राष्ट्र हो। त्यसैले देशको सम्पूर्ण ठाउँका लागि एउटै खालको शिक्षा नीतिले काम नगर्ने बताउँछन् तिमल्सिना। उनी भन्छन्, ‘सरकारले शैक्षिक नीति बनाउँदा कुन ठाउँमा कुन कुराको बढी आवश्यकता छ, ती कुराको अध्ययन र अनुसन्धान गरी बनाउनुपर्छ।’ सरकारले केन्द्रलाई हेरेर त्यो अनुकूल शिक्षा नीति बनाउने गरेको उनको गुनासो छ।
अहिले व्यावहारिक शिक्षा दिने कुरा जति गरिए पनि हाम्रो शिक्षा पद्धति घोकन्ते र सैद्धान्तिक शिक्षामा मात्र केन्द्रित रहेको उनको बुझाइ छ। सरकारले व्यावहारिक शिक्षाका लागि चाहिने आवश्यक पूर्वाधार कुनाकन्दराका विद्यालयसम्म पुर्याउनु उनी जरुरी देख्छन्। यसले समग्र शिक्षा क्षेत्रको विकास हुन्छ। उनी भन्छन्, ‘निजी वा सामुदायिक विद्यालयका समस्या के हुन् ? त्यसमा भएको कुनचाहिँ समस्या महŒवपूर्ण हो र कुनलाई कति छिटो समाधान गर्नुपर्छ भन्ने कुरालाई विचार गरेर नीतिनियम बनाए शिक्षा क्षेत्रमा पक्कै सुधार आउँछ जस्तो उनलाई लाग्छ।
संघर्षमय बाल्यकाल
२०३८ साल वैशाखमा काभ्रेको फलामेटारमा सामान्य परिवारमा जन्मेका तिमल्सिनाको बाल्यकाल संघर्षमय रह्यो। उनी कक्षा ३ सम्म त्यहीँको स्थानीय विद्यालयमा पढे। उनका आमाबुवा निरक्षर भए पनि ज्यालामजदुरी गर्दै उनलाई पढाएका थिए।
२०४६ सालमा उनको परिवार पनौतीमा बसाइँ सर्यो। त्यहाँ उनले कक्षा ५ सम्म पढे। त्योभन्दा बढी पढाउन नसक्ने बताएपछि उनलाई समस्या भयो तर उनले हार मानेनन्। आफैं ज्याला मजदुरी गर्दै, मेलापात गर्दै पढेको उनले बताए। उनले भने, ‘बुवाले अब पढाउँदिनँ भनेपछि जंगल गएर ऐँसेलु ल्यार बेच्थेँ, ज्याला मजदुरी गर्थें र त्यसबाट आएको ज्यालाले कापीकिताब किन्दै पढ्थेँ। यसरी मैले कक्षा १० सम्म आफ्नै कमाइले पढेँ।’ उनी थप्छन्, ‘मनैदेखि पढ्ने इच्छा छ भने कसैले पनि रोक्न सक्दैन।’