सुन्दर पन्छी राजधनेश
चरा मन नपर्ने सायदै कोही होला। चराको चिरबिरले अझै मानिसको मन लोभ्याउँछ। वन, सिमसार, ताल, पोखरीको शोभा भनेकै चरा हुन्। नेपालमा विभिन्न प्रजातिका चराहरू पाइन्छन्। तीमध्ये पनि धेरै चरा विस्तारै हराउँदै गएका छन्।
नेपाल सरकारले नौ प्रजातिका चरालाई संरक्षित सूचीमा राखेको छ। तीमध्ये राजधनेश पनि एक हो। यसको अंग्रेजी नाम ग्रेट हर्नबिल हो। नेपाल, भुटान, कम्बोडिया, चीन, भारत, इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, थाइल्यान्ड र भियतनाममा यो चरा रैथाने हो।
विशेषगरी एक सयदेखि पाँच सय मिटरको उचाइमा राजधनेश पाइन्छ। स्थानीय रूपमा चितवनमा अप्रचुर र अन्यत्र विरलै पाइने आवासीय चरा हो, राजधनेश। चितवन राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रको बरन्डाभार वन, कुमरोज र नमुना सामुदायिक वनमा राजधनेश पाइन्छ। सन् २०१३ मा चितवन राष्ट्रिय निकुञ्जमा गरिएको गणनामा ४४ वटा राजधनेश फेला परेको थियो। त्यस्तै सन् २०१८ मा सोही क्षेत्रमा गरिएको गणनाअनुसार ३० वटा मात्र फेला परेको थियो।
बर्दिया राष्ट्रिय निकुञ्ज, पर्सा वन्यजन्तु आरक्ष, घोडाघोडी ताल, कपिलवस्तुको वन क्षेत्र, सर्लाहीको वन क्षेत्र, झापा तथा इलामको गेरुवा र सुखानी वन क्षेत्रमा राजधनेश रहेको छ। त्यस्तै सुनसरीको रामधुनी साल वन र मोरङको राजारानी वन क्षेत्रमा राजधनेश रहेको तथ्यांक छ। नेपालमा राजधनेशको संस्था एक सय ५० देखि दुई सयको हाराहारीमा रहेको अनुमान गरिएको छ।
चराको संख्या घट्दै जानुमा बासस्थान नास हुँदै जानु, ठूलठूला सालका रूख काटिनु, चोरी सिकार, जलवायु परिवर्तन नै मुख्य कारण रहेको छ। यो चराको सुन्तला रङको लामो ठुँड, सिउर सेतो र प्वाँख कालो हुन्छ। राजधनेशको आहारा लसुने फल, डुम्री, छेपारो, साना चरा र सर्प हुन्। राजधनेश प्रायः जोडी बनेर हिँड्छ। यसले समूहमै आहारा खोज्ने गर्छ। यसले करिब ३० सेन्टिमिटरसम्मको गुँड बनाउँछ। यो चराले प्रायः एउटा र मुस्किलले दुईवटा अन्डा पार्ने गर्छ। पोथी ओथारो बस्ने र भालेले चारो खोज्ने गर्छ।
विश्वव्यापी रूपमा आईयूसीएनले यस चरालाई संकटापन्नको सूचीमा राखेको छ। त्यस्तै नेपाल बर्ड रेड डाटा बुकले पनि यसलाई संकटापन्नको सूचीमा राखेको छ। नेपालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले संरक्षित पन्छीका रूपमा अनुसूची १ मा यो चरालाई सूचीकृत गरेको छ।
प्रतिक्रिया दिनुहोस !