नेविसंघ विवाद : किन भयो कांग्रेसभित्रै बबन्‍डर ?

नेविसंघ विवाद : किन भयो कांग्रेसभित्रै बबन्‍डर ?

काठमाडौं : नेपाली कांग्रेसको भ्रातृ संगठ नेपाल विद्यार्थी संघलाई कार्यकर्ता उत्पादनको ‘नर्सरी’ को रुपमा लिने गरिएको छ। पार्टीको यही सशक्त भ्रातृ संगठन अहिले नेतृत्वविहीन अवस्थामा अलपत्र छ । 

नेविसंघ नेतृत्व गरेर आएका अधिकांश नेता अहिले पार्टी नेतृत्वको निर्णायक तहमा छन् । सभापति शेरबहादुर देउवालगायत दर्जन बढी नेता नेविसंघकै नेतृत्वबाट आएका हुन् । 

अहिले नेताबीचको गुटबन्दी र भागबन्डाको सिकार नेविसंघ भएको छ । पछिल्लो १० महिनादेखिन नेविसंघ रित्तो छ। लामो समयसम्म तदर्थ समितिले चलाएको नेविसंघमा ११ औँ महाधिवेशनबाट निर्वाचित भएर आएको नैनसिंह महरले राजीनामा दिएसँगै नेविसंघभित्र संकट आएको हो। न महाधिवेशन निश्चित भएको छ न त तदर्थ नेतृत्व चयन हुन सकेको छ। यसले नेविसंघका हजारौं कार्यकर्तामा निराशा छाएको छ । 

महराको नेतृत्व कालमा पनि नेविसंघको भूमिका पहिलेजस्तो प्रभावकारी हुन सकेन। उनले आफूखुसी मनोनयन र निर्णय गर्न थालेपछि नियमित बैठक पनि बस्न सकेन । कृष्णप्रसाद सिटौलासँग निकट तेस्रोधारको नेतृत्व गर्ने कुन्दनराज काफ्ले समूहले विरोध गर्दै आएका कारण महरलाई बैठक राख्नसमेत अप्ठ्यारो थियो । 

महर नेतृत्वको समितिले नेविसंघको १२ औँ महाधिवेशन २ भदौ २०७५ मै गर्नुपर्ने थियो । तर, महाधिवेशन गर्न नसकेपछि विधानअनुसार थप तीन महिनाको समय थपियो । उक्त समयमा पनि महाधिवेशन हुन नसकेपछि पार्टीले थप दुई महिना समय थप्यो । त्यो समय केही जिल्लाको अधिवेशन भइसकेको थियो ।

दुई महिनाको समयमा महाधिवेशन गर्न नसकिने भन्दै नेविसंघका नेताले पार्टी नेतासमक्ष पटकपटक ६ महिना समय दिन आग्रह गरे । दोस्रो पटकको म्याद सकिँदा पनि पार्टीले म्याद थपेन । उल्टै देउवा समूहका केही शीर्ष नेताले अध्यक्ष महरलाई राजीनामा दिन दबाब दिए। अन्ततः महरले २८ माघ ०७५ मा सभापति देउवासमक्ष राजीनामा बुझाए । महर पनि गुटगत स्वार्थका कारण आफूले राजीनामा दिएको स्वीकार गर्छन् । ‘हामी त्यो बेला महाधिवेशनको बाटोमा थियौँ । गुटगत फाइदा-घाटालाई हेरेर नेताहरुरू अघि बढे’, महरले भने, ‘अहिले गुटगत भागबण्डा मिलेन नेविसंघ खाली भयो । १० महिनादेखि नेविसंघ खाली हुँदा पार्टीलाई नै क्षति भएको छ।’

त्यही दिन बसेको पार्टी केन्द्रीय समितिको बैठकले अध्यक्ष महरको राजीनामा स्वीकृत गर्दै नेविसंघ भंग गर्यो । अध्यक्ष महरले राजीनामा दिँदै गर्दा सभापति देउवाले १२ औं महाधिवेशन गर्न सबैको सहमतिमा तत्कालै तदर्थ समिति ल्याउने बचनबद्धता गरेका थिए । तर, उनको वचनबद्धताको दश महिना बितिसक्दा पनि नेविसंघ ‘भ्याकुम’ नै छ । 

नेविसंघको केन्द्रीय समिति खाली हुँदा लोकतान्त्रिक पार्टीमै क्षति पुगेको विद्यार्थी नेताको ठम्याई छ । ‘कम्युनिस्ट सरकारले लोकतन्त्र र जनताको खिलापमा यति धेरै गतिविधि गरिरहेको छ । यो अवस्थामा नेविसंघले आन्दोलनको नेतृत्व गर्नुपर्ने थियो । तर, नेविसंघ नै खाली छ’, नेविसंघ नेता मनोजमणी आचार्य भन्छन्, ‘संसद्‍मा उठ्ने नारा त्यहाँभन्दा पहिला सडकमा घन्कनु पथ्र्यो । तर, नेविसंघ नहुँदा त्यो हुन सकेको छैन । यसले कांग्रेसलाई मात्रै हैन, सिंगो लोकतान्त्रिक पार्टीलाई नै क्षति भएको छ ।’ 

कुनै समय हरेक आन्दोलनको नेतृत्व विद्यार्थी संगठनले गर्थे । तर, अहिले सबै पार्टीको विद्यार्थी संगठन सुस्त छन् । यसमा माउ पार्टी नै दोषी भएको देख्छन्, आचार्य । ‘अहिले न कांग्रेसको न नेकपाको सबै पार्टीको विद्यार्थी संगठन अस्ताउन लागेको सूर्य अथवा अ‍ैल्याउन लागेको घाँसजस्तै भएका छन्’, उनले भने, ‘सिटी फुक्दा खेलाडी आफैं कर्नरमा जान्छन् । तर, सिटी फुक्ने पार्टी नै बेखबर छन् ।’

नेविसंघलाई पार्टीका केही नेताले ‘प्राइभेट लिमिटेड’ बनाउँदा यस्तो अवस्था आएको नोविसंघ पूर्वमहामन्त्री कुन्दनराज काफ्ले बताउँछन् । ‘हुनुपर्ने थियो अनलिमिटेड  । तर, नेतृत्वले प्राइभेट लिमिटेड बनाइ दियो । त्यसकारण नेविसंघ नेतृत्वविहीन छ’, उनले भने, ‘शैक्षिक मुद्दा छरपस्ट छन् । नेतृत्व नहुँदा उठाउन मुस्किल छ । नेविसंघ नभएकै कारण शैक्षिक क्षेत्रमा विकृति आएको छ ।’

के हो उमेर हद विवाद ?
नेविसंघको तदर्थ समिति ल्याउन सबैभन्दा विवादको विषय बनेको छ उमेर हद । २०७५ मा पार्टीले बनाइदिएको नेविसंघको विधानको भाग २ धारा ५ को उपधारा ५ मा ३२ वर्ष नाघेकाले सदस्यता लिनै नपाउने उल्लेख छ । नेविसंघको एउटा खेमा यही व्यवस्था कार्यन्वयनको माघ गर्दै आएको छ । पार्टी नेता सिटौला समूहका विद्यार्थी नेता १० महिना यता यही विषय उठाउँदै पार्टी कार्यालयमा केन्द्रीय समिति बैठक बस्नुअघि धर्ना दिँदै आएका छन् । यसको नेतृत्व सिटौला समूहका विद्यार्थी नेता सुशील भट्टले गर्दै आएका छन् । 

तर, विधान नबन्नुअघि यही समूह ३२ वर्षे उमेर हद लगाउन नहुने पक्षमा थियो । तत्कालीन नेविसंघ महामन्त्री काफ्ले आफूलाई अध्यक्ष हुने षड्यन्त्र भएको भन्दै उनको समूह विरोधमा उत्रिएको थियो ।

उमेर हदको व्यवस्था लागू गर्दै नेविसंघ विधान पारित गर्दा पार्टी केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता पौडेल, नेता सिटौलासहित एक दर्जन केन्द्रीय सदस्यले ‘नोट अफ डिसेन्ट’ लेखेका थिए । तर, विधान पारित भएपछि भने ३२ वर्षे उमेर हद लगाउनुपर्ने पक्षमा सिटौला समूहका विद्यार्थी नेता छन् । 

‘विधान नबनिञ्जेल हामीले ३२ वर्षे उमेर हद नलगाऔँ भन्यौँ’, विद्यार्थी नेता भट्टले भने, ‘विधान बनाएपछि कार्यान्वयन गर्नुपर्छ । हाम्रो मुख्य माग यही हो ।’ सभापति समूह भने १२ औँ महाधिवेशनबाट मात्रै उमेर हद लगाउने पक्षमा छ । यसबीचमा सभापति देउवाले पौडेल समूह र सिटौला समूहका विद्यार्थी नेताले बोलाएर छलफल गरे । त्यो क्रममा देउवाले तदर्थ समितिमा कुनै हालतमा ३२ मुनिको नहुने स्पष्ट पार्दै आएका छन् । 

राजीवलाई ल्याउने देउवाको प्रस्ताव
शीर्ष नेताको बैठकमा सभापति देउवाले नेविसंघको तदर्थ समितिको अध्यक्षमा राजीप ढुंगानाको नाम प्रस्ता गरिसकेका छन् । उनले सबै नेतालाई अध्यक्ष राजीप भएको र अन्य पदमा मिलाउनसमेत आग्रह गरेका छन् ।

ढुंगाना सभापति देउवा उपसभापति विमलेन्द्र निधिका निकट मानिन्छन् । सुनसरीकै भएका कारण अर्का उपसभापति विजयकुमार गच्छदार पनि ढुंगानालाई अध्यक्ष बनाउन तयार छन् । ढुंगाना प्रदीप पौडेल अध्यक्ष हुँदाको नेविसंघका उपाध्यक्ष हुन् । तर, संस्थापनबाहेक समूहले भने उनको नाममा असहमति जनाउँदै आएको छ । वरिष्ठ नेता पौडेल मनोजमणि आचार्यलाई अध्यक्ष बनाउने पक्षमा छन् । तर ५० वर्षको हाराहारीमा पुगेका  ढुंगना विद्यार्थी वृत्तमा त्यति परिचित छैनन् ।

पौडेल समूहको आफ्नै दाउ 
कांग्रेसमा संस्थापन समूह र संस्थापनबाहेक समूहबीच भागबन्डा गर्ने चलन पुरानै हो । खास गरी २०६४ पछि भागबन्डा पार्टीमा संस्थागतजस्तै भइसक्यो । 

कोइराला परिवार पार्टी नेतृत्वमा हुँदा वरिष्ठ नेताको हैसियतमा देउवा थिए । त्यो बेला पनि सधैँजसो ६०-४० को अनुपातमा भागबण्डा हुँदै आएको छ । यही दाउ हेर्दै छन् वरिष्ठ नेता पौडेल पनि । उनले देउवासँग विभिन्न फोरममा नेविसंघ र तरुण दलमध्ये एकको नेतृत्व आफ्नो समूहलाई हुनुपर्ने माग गर्दै आएका छन् । तरुण दलको पनि कार्यकाल सकिएकाले दुईमध्ये एउटा आफूलाई चाहिने उनको दाबी छ । 

सभापति देउवाले नेविसंघ गठनमा जोड दिए पनि वरिष्ठ नेता पौडेल भने सबै भ्रातृ संगठन नेतृत्वविहीन अवस्थामा पुगेकाले प्याकेजमै टुंगो लगाउनुपर्ने पक्षमा छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.