निकासीमा पाम आयलको हिस्सा २१ प्रतिशत
काठमाडौं : चालु वर्षदेखि पाम आयलको निर्यातमा बढोत्तरीसँगै पहिलो त्रैमासमा निर्यात १४.४१ प्रतिशतले बढेको छ। कुल २७ अर्ब १७ करोडको निर्यातमध्ये पाम आयलको निर्यातमात्रै ५ अर्ब ७८ करोड रुपैयाँको छ। जुन कुल निर्यातको २१.२७ प्रतिशत हो।
पाम आयलको निकासीले हाम्रा मूल निकासी वस्तुका रूपमा परिचित गलैंचा, अलैंची, जुट, हस्तकलाका सामानको निकासी पछि परेका छन्। यसरी एकाएक पाम आयल प्रमुख निकासी वस्तुका रूपमा कसरी उदय भयो र यसको दीगोपनाका सम्बन्धमा सरकारी अध्ययन के छ ? उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको टोलीले केही समयअघि स्थलगत अध्ययन गरेर दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) सम्झौताले तोकेको मूल्य अभिवृद्धिको मापदण्ड पूरा गरेको छ। ‘हाम्रो अध्ययनले यी उद्योगले ३० प्रतिशत गुुणवत्ता बृद्धि (भ्यालु एडिसन) गरेको पाएका छौं,’ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक उपसचिव भन्छन्, ‘उद्योग खुलेका छन्। कच्चा पाम तेलको प्रशोधन पनि भएको छ। तर, यसको दीगोपना भनेको भारतले कहिलेसम्म सहजै आयात गर्छ भन्ने हो।’
नेपालमा पाम आयल उत्पादन हुँदैन। मन्त्रालयका अनुसार पाम आयलको कच्चा वस्तु मूलतः इन्डोनेसिया र मलेसियाबाट आयात भएर भारतमा निकासी भइरहेको छ। नेपालमा पाम आयल प्रशोधनका वीरगन्जमा १३, विराटनगरमा ६ र भैरहवामा ३ उद्योग छन्। तर, भन्सार विभागको तथ्यांकले प्रशोधित पाम आयल मात्र होइन कच्चा पाम आयल समेत निकासी भइरहेको देखाउँछ। दुई करोड ७० लाखको कच्चा पाम आयल नै निकासी भएको छ। कच्चा पाम आयल मात्र होइन, प्रशोधित (रिफाइन्ड एन्ड केमिकल्ली मोडिफाइड) पाम आयलको आयातको र निकासीको भन्सार संकेतीकरण (हार्मोनाइज्ड सिस्टम कोड) एकै छ। आठ अंकको भन्सार संकेतीकरणमध्ये प्रशोधनपछि अन्तिमको दुई अंक फरक हुनुपर्ने भन्सार विभागका अधिकारी बताउँछन्।
पाम आयलको निकासी भन्सार महसुलको लाभस्वरूप भएको हो। मुलुकभित्र मूल्य अभिवृद्धि हुने, रोजगारी सिर्जना गर्ने उद्योगभन्दा क्षणिक लाभले आएका उद्योगको उदयबाट भएको फाइदाले अर्थतन्त्रमा दीगो लाभ हासिल हुँदैन। चालु आवको पहिलो त्रैमासमा नेपालले कुल ५ अर्ब ५४ करोडको पाम आयल (कच्चा र प्रशोधित सहित) आयात भएर ५ अर्ब ७८ करोडको निकासी भएको छ। मुलुकमा केही खपतसमेत भएको अनुमान गर्ने हो भने पाम आयलमा सामान्य मूल्य अभिवृद्धि भने देखिन्छ। तर, नेपालले आयात गरेको कच्चा पाम आयलको हिस्सा भने २७ करोड ३६ लाख रुपैयाँ छ।
पाम आयल निकासीमा उत्पत्तिको प्रमाणपत्र जारी गर्ने नेपाल उद्योग वाणिज्य महासंघका सम्बन्धित अधिकारी भने मन्त्रालयले नै अध्ययन गरेर यथोचित मूल्य अभिवृद्धि भएको प्रमाणित गरिसकेकाले आफूले उत्पत्तिको प्रमाणपत्र जारी गरेको बताउँछन्।
पाम आयलको भन्सार महसुल नेपालमा १० प्रतिशत छ भने भारतमा ४० प्रतिशत छ। भारतीय व्यवसायीले इन्डोनेसिया र मलेसियाबाट आयात गर्दा धेरै भन्सार महसुल लाग्ने भएकाले नेपाल हुँदै पाम आयल भारत पुर्याइने गरेको छ। साबुनको कच्चा वस्तुको रूपमा पाम आयल प्रयोग हुँदै आएको छ। अल्पविकसित देशका रूपमा नेपालले भारतीय बजारमा सुविधापूर्ण बजार पहुँचको उपयोग गर्दै पाम आयल निकासी भइरहेको छ। पाम आयलको निकासीले निर्यात बढाउन सहयोग गरेको भए पनि यो उत्पादन विगतको वनस्पति घ्युजस्तो हुनसक्ने व्यापार विज्ञ बताउँछन्।
नेपाल भारत सन् १९९६ को उदार वाणिज्य सन्धिले नेपालबाट भारतमा निकासी वृद्धि भएको थियो। जसमा वनस्पति घ्यु, तामाको तार, जिंक अक्साइड जस्ता वस्तु प्रमुख निकासीका रूपमा उदय भएका थिए। तर, भारतले सन् २००४ मा यी वस्तुको नेपालमा उत्पादनका सम्बन्धमा प्रश्न उठाएर निकासीमा कोटा प्रणाली लागू गरिदिएपछि वनस्पति घ्यु उद्योग संकटमा परेका थिए। केही वर्षअघि सुपारीको निर्यातमा पनि यस्तै समस्या देखिएको थियो। नेपालमा उत्पादन भएको परिमाणभन्दा भारतमा बढी परिमाणमा सुपारी निकासी हुन थालेपछि भारतले प्रश्न उठाएर रोकिदिएको थियो।