गरिमा धान नफलेपछि खेतमै

गरिमा धान नफलेपछि खेतमै

धनगढी : गहुँ छर्ने चटारो हुनेबेला, कैलाली र कञ्चनपुरका धेरै किसानलाई गरिमा धान नफलेपछि काट्ने÷नकाट्ने अन्योल भएको छ। सरकारले सूचीकृत गरेको गरिमा जातको धानबाट राम्रो उत्पादन हुने अपेक्षासाथ रोपेको धानमा बाला नै नलागेपछि किसान चिन्तित भएका छन्।

रोपेको ९० देखि ९५ दिनमा बाला लाग्ने र १ सय २० देखि १ सय २५ दिनमा पाक्ने मसिनो जातको गरिमा धान प्रतिहेक्टरमा ५८ देखि ६३ क्विन्टलसम्म उत्पादन हुन्छ। कैलाली, कञ्चनपुरलगायत जिल्लाका किसानले नक्कली धानको बिउ फेला पर्दा धान नै नफलेको आरोप लगाए।

कैलालीको कैलारी गाउँपालिका–२ बसौटीका किसान खुशीराम चौधरीले पवेरास्थित शंकर एग्रोभेटबाट बिउ लगेका थिए। राम्रो धान फल्ने आसमा बिउ लगेका उनको खेतमा धानमा बाला नै नलागेपछि काट्ने÷नकाट्ने अन्योलमा परेका छन्।

एक बिघा जमिनमा लगाएको धानले धोका दिएपछि उनी परिवार कसरी पाल्ने भन्ने चिन्तामा छन्। ‘जम्मा जमिन भनेकै एक बिघा हो। त्यसमा सबै गरिमा जातको धान रोपियो’, उनले भने, ‘अहिलेसम्म एक दाना धान घरमा भित्र्याएको छैन। अन्योल भएको छ।’ अन्य जातको धान लगाएकाहरूले धमाधमा घरमा भिœयाए पनि गरिमा धान लगाएकाहरू चिन्तित भएका हुन्। ‘अघिल्लो वर्ष गरिमा जातको धान राम्रो फलेपछि आफूसँग भएको ८५ कठ्ठामा यस वर्ष लगाएँ’, कैलाली गाउँपालिका–२ सिमलीका किसान छत्र चौधरीले भने।

धानमा बाला नलागेपछि परिवार कसरी पाल्ने भन्ने समस्या भएको उनले गुनासो गरे। ‘खेतमा गहुँ छर्ने समय भइसक्यो। धान नै काट्न सकेको छैन’, उनले भने, ‘धानले त धोका दियो–दियो। गहुँ पनि छर्न ढिला हुने हो कि भन्ने चिन्ता थपिएको छ।’

‘सरकारले सूचीकृत गरेको धान लगाउँदा किसानलाई धोका हुन्छ भने कसरी एग्रोभेटले वितरण गर्ने बिउमा विश्वास गर्ने’, कैलारी मझेराका किसान हेमराज खड्काले गुनासो गरे। ‘सरकारबाट सूचीकृत भएको भन्ने थाहा पाएर टाढाटाढाबाट ल्याएर गरिमा धान लगाएको हो’, उनले भने, ‘उल्टै किसानलाई एक दाना उत्पादन नहुने गरी गरिमाले धोका दियो। सरकारले यसमा के गर्न सक्छ ? चाँडोभन्दा चाँडो निर्णय गर्नु जरुरी छ।’ धान फलाउनका लागि घाँस मार्नेदेखि विभिन्न थरीका भिटामिन औषधि छर्किंदा पनि उत्पादन नभएको उनको भनाइ छ। ‘स्थानीय, प्रदेश वा संघीय सरकारले चाँडोभन्दा चाँडो राहतको घोषणा गर्नुपर्छ’, किसान नारायण चौधरीले भने।

कैलालीको कैलारी गाउँपालिकाका किसानले मात्र ४० बिघाभन्दा बढी क्षेत्रफलमा गरिमा जातको धान लगाएका छन्। एक किलो धानको ५ सय रुपैयाँसम्म किनेर रोपेका किसानले फल नपाएपछि सरकारबाट क्षतिपूर्तिको माग गरेका हुन्।

कैलारी गाउँपालिका–१ का वडाध्यक्ष सन्तोष चौधरीले धान नफलेपछि किसानको लगत संकलन गरी गाउँपालिकामा पठाएको बताए। ‘कैलारी गाउँपालिका मात्र ४० बिघाभन्दा बढी क्षेत्रफलमा गरिमा धान लगाइएको छ’, वडाध्यक्ष चौधरीले भने, ‘किसान क्षतिपूर्तिको माग गर्दै वडासम्म पुग्ने गरेका छन्। खेतमा भएको धानको बोट पनि के गर्ने भन्ने अन्योल छ।’

कैलाली–कञ्चनपुरमा यस वर्ष एक लाख २० हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा ७ सय हेक्टरमा लगाएको गरिमा जातको धानले फल नदिँदा १५ सयभन्दा बढी किसान मर्कामा परेका छन्। कृषि विकास निर्देशनालय दिपायल डोटीका प्रमुख यज्ञराज जोशीले गरिमा धान नफल्दा किसान ठगिएको स्विकारे।

उनले किसानलाई मुचुल्का बनाएर मात्र धान काट्न सुझाव दिएका छन्। ‘सरकारले वितरण गरेको बिउ होइन, किसानले स्वेच्छाले लगाएका हुन्। तैपनि, किसानलाई मर्का परेकाले सरकार किसानकै पक्षमा छ’, उनले भने, ‘प्रमाणसहित आफ्नो खेतमा भएको धान काट्नुपर्छ।’ कैलाली–कञ्चनपुरमा धान नफल्दा यस वर्ष किसानले खाद्यान्न किन्नुपर्ने बाध्यता आउने पक्कापक्की भएको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.