अनशनरत डा. केसीलाई अस्पताल लगियो
धनगढी : सोमबारदेखि डडेल्धुरामा अनशनरत प्रा.डा. गोविन्द केसीलाई शुक्रबार साँझ अस्पताल लगिएको छ। स्वास्थ्यमा समस्या देखिएपछि त्यहाँको नागरिक समाजको अगुवाइमा साँझ ८ : ४५ बजे डडेल्धुरा अस्पताल लगिएको हो।
अस्पतालका मेसु डा. जितेन्द्र कँडेलका अनुसार केसीको शरीरमा सुगरको मात्र घटेको छ। ‘सामान्यतया सुगरको मात्रा ९० देखि एक सय ४० सम्म हुन्छ’, उनले भने, ‘तर, डा. केसीको शरीरमा सुगरको मात्रा ४३ मा झरेको छ।’
शरीरमा पानी कम भएकाले किटोन भन्ने पदार्थ बढेको उनले बताए। पानी कम हुँदा शक्ति आर्जन गर्ने शक्ति घटिरहेको उनले बताए। अहिले केसीलाई स्लाइन दिएर अस्पतालमा राखिएको छ।
चिकित्सा शिक्षा सुधार सम्बन्धी विभिन्न माग राख्दै १७ औं अनशन बस्न डडेल्धुरा पुगेका केसीको स्वास्थ्य खराब बन्दै गएपछि डडेल्धुरा अस्पताल लगिएको हो।
डा. केसी कात्तिक १८ गते सोमबारदेखि डडेल्धुरामा अनशन बसेका हुन्। केसीलाई अहिले आकस्मिक कक्षमा राखिएको छ।