‘सीमामा पिलर देखिन्छ, दशगजा देखिँदैन’
सिरहा : सिरहा नगरपालिका, औरही, बरियारपट्टि, नवराजपुर र भगवानपुर गाउँपालिकाको सीमावर्ती वडामा बसोबास गर्ने केही नेपाल र भारत दुवै देशका बासिन्दाले दशगजा मिचेका छन्। मिचेका ठाउँमा उनीहरूले खेतीपाती र पसल थाप्न स–साना टहरा बनाएका छन्।
ठाडी बजारमा भारतीय प्रहरीले बोर्ड झुन्ड्याएरै दशगजामै चेकपोस्ट राखेका छन्। सिरहा नगरपालिका २० गदियानी गाउँस्थित ठाउँठाउँमा दशगजा मिचेर खेत बनाएका छन्। पारी (भारतीय) लगडी गाउँका ज्ञानी मुखियाको घरआँगनमै जंगे पिलर छन्। उनको सुत्ने घर पिलरदेखि भारतपट्टि पर्छ भने गाईगोरु नेपालतिर बाँध्ने गर्छन्। ‘पहिले दशगजा ऐलानी पर्ती थियो। सीमा टाँसिएका खेतवालाहरूले बिस्तारै मास्दै गएका छन्’, गदियानी गाउँका ६७ वर्षीय राजेन्द्र यादवले भने, ‘अब सीमामा पिलर देखिन्छ। दशगजा देखिँदैनन्। दुवैतिरका बासिन्दाले पाएसम्म मासेका छन्।’
ज्ञानीका अनुसार मासेका ठाउँमा कसैले खेती गरेका छन् त कसैले स–साना टहरा थापेर पसल खोलेका छन्। एकतर्फी रूपले भारतीयले मात्रै सीमा नमिचेको उनले सुनाए। ‘हामी पुस्तौंदेखि दशगजामै बसोबास गर्दै आएका छौं। घरआँगनमै जंगे पिलर छ’, भारतीय लगडी गाउँका कपिलदेव यादवले भने, ‘केही महिनाअघि दुवै देशका अधिकारीले फेरि सीमास्तम्भ गाडेका छन्।’ यहाँ दुवैतिरका बासिन्दाले जग्गा वारिपारी राखेको उनले सुनाए। दशगजा मिचेरै बस्ती र खेती गर्ने जग्गा कतिपयले बनाएको उनले बताए।
‘केही भारतीयले नेपाली नागरिकता बनाएको छ त केही नेपाली भारतीय आधार कार्ड बनाएका छन्’, उनले भने, ‘त्यस्ता व्यक्तिहरूको दुवैतिर जग्गा जमिन छ। खेती पनि गर्छन्।’ दशगजा मिचेर बसे पनि एकापसमा विवाद कहिल्यै नभएको उनले सुनाए। भारतीय प्रहरीले केही वर्षअघि जर्बर्जस्ती दशगजामै चेकपोस्ट खडा गरेको ठाडीका कन्हैया भट्टले बताए।
दशगजामै बसोबास गर्ने दुवैतिरका नागरिकले मिचेर घरटहरा र खेतीबारी बनाएको सिरहा नपा २० का वडाअध्यक्ष रामचन्द्र यादव सुनाउँछन्। ‘सीमास्तम्भ नै उखाडेर मिचेको त्यति देखिँदैन’, उनले भने, ‘तर दशगजामा जसको खेत टाँसेको उनीहरूले केही भूभाग जग्गा मिचेको छ।’ अरू देशको भूमि नै कब्जा गर्ने हिसाबले नमिच्ने गरेको उनको भनाइ छ।
‘दशगजा मासेर ३१ ठाउँमा खेतीपाती भइरहेको निरीक्षणको क्रममा भेटिएको थियो’, सशस्त्र प्रहरी सिरहाका एसपी प्रवीण कँडेलले भने, ‘यसवर्ष २० ठाउँमा खेती गर्न रोक लगाएका छौं। थप ठाउँहरूमा रोक लगाउन भारतीय अधिकारीसँग समन्वय भइरहेको छ। केही दिनमै ती ठाउँमा पनि खेती गर्न रोक लगाउँछौं।’ यस जिल्लामा ठूलो भूभाग सीमा नमिचिएको उनले बताए।
हालसालमा सिरहामा कहीँ सीमा नमिचिएको सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए। ‘केही ठाउँमा सीमा स्तम्भ मर्मत गर्नुपर्ने देखिन्छ। त्यसका लागि माथिल्लो निकायमा जानकारी गराइसकेका छौं’, उनले भने। प्रहरी/प्रशासनको तथ्यांकअनुसार सिरहामा मुख्य २७, सहायक १९ र सानो ३४२ गरी ३८८ वटा पिलर छन्। जसमा मुख्य ७, सहायक २ र सानो ३१ गरी ४० वटा मर्मत गर्नुपर्ने अवस्थामा देखिन्छ।