तिलौराकोटमा कन्थक स्तुपको उत्खनन सुरु

तिलौराकोटमा कन्थक स्तुपको उत्खनन सुरु

 कपिलवस्तु : शाक्यमुनि बुद्धका पिता राजा शुद्धोधनको प्रशासनिक राजदबार क्षेत्र तिलौराकोटसँगैको कन्थक स्तुपको उत्खनन् कार्य सुरु गरिएको छ। उत्खनन् कार्यमा सरकारको पुरातत्व विभाग, लुम्बिनी विकास कोष, बेलायतको दुर्हम विश्वविद्यालय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञको टोली सहभागी रहेको विभागका अधिकृत रामबहादुर कुँवरले बताए।

उत्खनन् २० दिनसम्म चल्नेछ। उत्खनन्का लागि लुम्बिनीस्थित होटल कासाईका सञ्चालक जापानी नागरिक डा. तोकुसिन कासाईले आर्थिक सहयोग गरेकोे विभागले जनाएको छ। तिलौराकोट दरबार क्षेत्रको पूर्वी द्वारनजिक कन्थक स्तुप छ। शाक्यमुनि बुद्धले २९ वर्षको उमेरमा राजदरबार त्याग गर्दा कन्थक नामक घोडाको सवार गरी अनोमा नदीसम्म पुगेका थिए।

अनोमा नदी हाल भारत उत्तर प्रदेशको बस्ती जिल्लामा पर्छ। सो नदीलाई अहिले भारतमा अमी नदीको नामले चिनिने पुरातत्वविद् बताउँछन्। कन्थक घोडामा सवार भई अनोमा नदीसम्म पुगेका राजकुमार सिद्धार्थले नदी किनारमा सबै आभूषण तथा पोशाक त्यागी सन्यास जीवन सुरु गरी ज्ञानको खोजीमा निस्केका थिए। अनोमा नदीबाट फर्केको कन्थक घोडा तिलौराकोट दरबार क्षेत्रको पूर्वी गेटनजिक आई स्वेच्छाले देह त्याग गरेको बौद्ध धर्म ग्रन्थमा उल्लेख छ। कन्थक घोडाले देह त्याग गरेको स्थानमा कन्थक स्तुप निर्माण गरिएको पुरातत्वविद् बताउँछन्।

कन्थक स्तुपको संरचनाको खोजी गर्न यो उत्खनन् गर्न लागिएको कुँवरले बताए। यसअघि सन् २०१५ मा गरिएको उत्खनन्बाट कन्थक स्तुपको दक्षिणतर्फ ३ सय गुना ४ सय मिटरको क्षेत्रफलमा २ वटा बिहारको संचरना र २ वटा पोखरीसमेत जियोफिजिक्स सर्भेबाट जमिनमुनि फेला परेको थियो।

सन् १८९९ मा भारतीय पुरातत्वविद् पी.सी. मुखर्जीले पहिलोपटक यस क्षेत्रमा भ्रमण गरी पुरातात्विक स्थलहरूको उत्खनन् गरेको लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत हिमाल उप्रेतीले बताए।

यसअघिका वर्षमा तिलौराकोट दरबार क्षेत्रभित्र रहेको समयमाई मन्दिर किनार, दरबारको मध्य संरचनापरिसर क्षेत्रको उत्खनन् भइसकेको उनले बताए। उनले भने, ‘कन्थक स्तुपबाहेक पुरातात्विक स्थानको उत्खनन् जनवरीबाट सुरु हुन्छ।’ दरबार क्षेत्रको वरपर अन्वेषण, नक्सांकन र भिजिटर सर्भेको काम पनि सञ्चालन यसै वर्ष हुने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.