रोकिएन मैत्रीपूर्ण बसमा तस्करी
भैरहवा : नेपाल-भारतको मैत्रीपूर्ण सम्बन्ध अझ प्रगढ बनाउने उद्देश्यले नेपाल- भारत बस सेवा संचालन गरिएपनि उक्त बस तस्करीका लागि सुरक्षित माध्यम बन्दै गएको छ । पटकपटक नेपाल- भारत चल्ने बसमा तस्करीका विभिन्न सामग्रीको बराम गरिएका सामग्रीले यसको पुष्टि गरेको छ।
सरकारी स्तरबाट नेपाल- भारत मैत्री बस र नीजि स्तरबाट गरी नेपाल भारतमा बस्ने चल्ने गर्दछ । यस पटक नीजि स्तरमा संचालित बुटवल दिल्ली बसमा प्रहरीले मोटर पार्टसको समान बरामद गरेको छ ।
प्रहरीले भारतबाटै विशेष सूचनाको आधारमा उक्त बसलाई पछाइरहेको थियो । सोमबार लु १ ख ८४७४ नम्बरको बस नेपाल भित्रिएर चेकजाँचका लागि भैरहवा भन्सार कार्यालयमा छिरेर निस्किएपछि प्रहरीले सीमा क्षेत्र बेलहिया बाइपासमा नियन्त्रणमा लिएर चेकजाँच गर्दा लाखौँ रुपैयाँ बराबरको मोटरपार्टस बरामद गरेको हो ।
साथै प्रहरीले तस्करीमा प्रयोग भएको बस पनि नियन्त्रणमा लिएको छ ।सामग्रीसँगै बसका चालक बुटवल उपमनपा १३ का ३४ वर्षीय यमबहादुर परियार र सहचालक बुटवल उपमनपा १५ का २६ वर्षीय कृष्णबहादुर रोकालाई पक्राउ गरिएको रुपन्देहीको इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक कमल बेल्वासेले बताए ।
बसलाई 'मोडीफाइड' गरी डिक्कीभित्र 'फल्स बटम' बनाई भन्सार छलेर मोटरसाइकलको स्पेर पार्टस भित्र्याएको अवस्थामा बससहित ३४ लाख बढी मूल्य बराबरको साम्रगी बरामद गरिएको उनले बताए ।
तस्करले बसलाई 'मोडिफाइड' अर्थात् बसमा 'फल्स बटम' बनाएर तस्करी गर्ने गर्छन्। जुन सहजै थाहा हुँदैन । त्यसो त विना गोप्य सूचना नियमित चेकजाँचका क्रममा पनि भन्सार छलेर थोरै-थोरै परिमाणमा भित्र्याइएका विभिन्न साम्रगी पनि यस्ता बसबाट प्राय बरामद भइरहेका हुन्छन्।
'गाडी धनीको संग्लनता विना डिक्कीभित्र 'फल्स बटम' बनाउन सकिदैन, प्रहरी निरीक्षक बेल्वासेले भने, 'कुनै साम्रगी लुकाएर ल्याउनकै लागि बसमा 'फल्स बटम' बनाएको पाइएको छ । यो बसमा पनि विगत अढाई महिनादेखि तस्करी गरिँदै आएको खुलेको छ।'
पक्राउ परेका चालक र सहचालकले बरामद २८ प्रकारका विभिन्न मोटरपार्टस साम्रगी गाडी धनीकै घरमा पुर्याउनका लागि ल्याएको प्रहरीलाई प्रराम्भिक बयान दिएको बुझिएको छ।
चार लाख बढी मूल्य बराबरका साम्रगी, तस्करीमा प्रयोग भएको बस, चालक र सहचालकलाई आवश्यक अनुसन्धान र कारवाहीका लागि भैरहवा भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।
भैरहवा नाकाबाट मात्र प्राय दिल्ली- काठमाडौं, पोखरा, नारायणघाट, बुटवल गरी दैनिक करिब १० वटा बस चल्ने गर्दछ । यी बस विरगंज, नेपालगंज, विराटनगर, कैलाली, कपिलवस्तु जिल्लालगायतका अन्य नाकाबाट पनि चल्ने गर्दछ।