ट्रेल रेसमा १३ राष्ट्रका धावक
ओखलढुंगा : संसारकै १० साहसिक ट्रेल रेसमध्येको एक ‘एभरेस्ट ट्रेल रेस’ को नवौं संस्करण सोमबार सुरु भएको छ। रेस सोलखुम्बुको दूधकुण्ड नगरपालिका—८ स्थित पत्तालेबाट सुरु भएको हो। यसअघिका संस्करणहरू दोलखाको जिरीबाट सुरु भए पनि यस वर्ष पत्तालेबाट रेस सुरु गरिएको हो। जिरीको रुटमा जथाभावी सडक खनिएपछि पत्तालेबाट रेस सुरु गर्नु परेको जानकारी आयोजक संस्था अन्नपूर्ण ट्रेक्स एन्ड एक्सपिडिसन प्रालिका कार्यकारी निर्देशक कामी शेर्पाले दिए।
नेपालका तीनसहित १३ राष्ट्रका ४३ जना धावक ट्रेल रेसमा सहभागी छन्। रेसमा नेपाली धावक सुमन कुलुङ, पासाङ शेर्पा र कृष्णकुमारी भुजेलले भाग लिएका छन्। अघिल्लो संस्करणमा सहभागी भइसकेका नेपाली धावक सुमन कुलुङले पत्तालेदेखिको रुट सहज हुन सक्ने बताए। नेपाल भ्रमण वर्ष—२०२० को पूर्वसन्ध्यामा आयोजना भएको यो प्रतियोगिताले नेपाली पर्वतीय पर्यटनलाई विश्वामा चिनाउने मद्दत पुर्याउने विश्वास आयोजकले लिएको छ।
रेसमा नेपाल, स्पेन, अर्जेन्टिना, फ्रान्स, दक्षिण अफ्रिका, मेक्सिको, बेल्जियम, इङ्ल्यान्ड, ब्राजिल, अल्जेरिया, नर्वे, भियतनामलगायत मुलुकका धावक सहभागी छन्। विगतमा यो दौड जिरीबाट सुरु भई रामेछापको बाम्ती भण्डार, सोलुखुम्बु जिल्लाको गोली, पिके, जुनबेसी, टाक्सिन्दु, खरीखोला, लुक्ला, नाम्चे, त्याङबोचे हुँदै पासाङल्हामु गाउँपालिकाको लुक्लामा पुगेर समापन हुने गरेको थियो।
यो वर्ष भने रेसमा सहभागी धावकले ओखलढुंगा जिल्लाको जन्तरधाप, सोलुखुम्बुको पत्ताले हुँदै च्याङ्स्यार, खोर्या, दिम्स्यास, पिके डाँडाको (च्याबीपिके र गोले पिके), लाम्जुरा, जुनबेसी, फुङ्मोचे, तोङ्गीनाशा, टाक्सिन्दु, यावागोन्पा, जुबिङ फेदी, खरीखोला, नाम्चे, खुम्जुङ, फोर्चे, पाङबोचे, त्याङबोचे हुँदै एक सय ७५ किलोमिटर दूरी पार गर्नेछन्।
रेसमा सहभागी धावक समुद्री सतहदेखि चार हजार मिटरसम्मको उचाइमा दौडने छन्। रेसका क्रममा सातवटा क्याम्प निर्धारण गरिएको छ। एक दिनमा एक क्याम्पसम्म दौडेर बास बस्नुपर्ने हुन्छ। यसरी सात दिनसम्म दौडिएर सबैभन्दा पहिले लक्ष्यसम्म पुग्ने धावक विजेता बन्नेछन्। पछिल्लो समय अल्ट्रा रेसहरू तल्लो सोलु क्षेत्रदेखि सुरु हुँदा यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने स्थानीयको विश्वास छ। सोलुखुम्बुमा मात्रै दुई सातामा तीनवटा ट्रेल रेस आयोजना भइसकेको छ।