भारतले नक्सा नसच्चाए अन्तर्राष्ट्रियकरण गर्नुपर्छ : चित्रबहादुर केसी
भैरहवा : राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले भारतले जारी गरेको राजनीतिक नक्सा कूटनीतिक तरिकाले समाधान हुन सक्ने बताएका छन् । भारतसगँ कूटनीतिक छलफल गरेर पनि नक्सा नसच्चिए अन्तर्राष्ट्रियकरण गर्न सकिने उनको भनाइ छ ।
प्रगतिशील पत्रकार संघ नेपाल रुपन्देहीले भैरहवामा गरेको पत्रकार सम्मेलनमा उनले भने, 'कूटनीतिक तरिकाले नक्साको समस्या समाधान हुनसक्छ नभए अन्तर्राष्ट्रियकरण अदालतमा जान सकिन्छ ।'
उनले आफूहरुलाई एक इन्च पनि अरुको जग्गा नचाहिने भन्दै अरुले पनि आफ्नो एक इन्च जग्गा मिच्न नपाउने बताए । केसीले नेपाली भू–भाग समेटर भारतले आफ्नो नक्सा प्रकाशित गर्नु चिन्ताको विषय भएको बताए ।
‘जुन नेपाली भू–भाग भारतले नक्सामा राखेको छ त्यो चिन्ताको विषय हो त्यसलाई सच्याउनुपर्छ’, उनले भने, ‘हाम्रो पुर्खाले जोगाएर राखेको भू–भाग हामीले छोड्दैनौँ ।’
उनले मुलुकको दर्जनौँ स्थान अतिक्रमित भएपनि विदेशीले मुलुकका नेतालाई लडाएर मुलुकमा खेल्दै आएको आरोप लगाए ।
उनले सर्वदलीय बैठकले नक्साको विषयमा जुटेको राष्ट्रिय सहमति राम्रो परिणाम ल्याउने अपेक्षा गरेको बताए । नेता केसीले सरकारले पाएको जनादेश अनुसार काम गर्न नसकेको भएपनि आफ्नो दल सरकार ढाल्ने पक्षमा नरहेको स्पष्ट पारे ।