काम, करिअर अनि मात्र प्रेम
सुनसरी झुम्काकी सुनिसा बजगाईं थिएटर आर्टिस्ट हुन्। केही म्युजिक भिडियो र नाटकमा अभिनय गरेकी छन्। इन्टु मिन्टु लन्डन, हरि र प्रसाद फिल्ममा उनको अभिनय देख्न सकिन्छ। जयमाया आफू मात्रै लिखापानी आइपुगी नामक नाटकमा उनले जयमायाको रोल गरेकी थिइन्। नाटकको दौरानमा उनलाई जयमाया आफू नै हुँ भन्ने लाग्थ्यो। जयमायाको दुःख सम्झेर पछिसम्म दुःखी हुन्थिन् उनी। विचरा जयमाया भन्ने लाग्थ्यो।
अहिले उनी झोला हराएको मान्छे नाटकको रिहर्सल गरिरहेकी छन्। मंसिर २४ गतेबाट मण्डला थिएटरमा यो नाटक मञ्चन हुँदैछ। यही नाटकको रिहर्सल सकाएर हतार हतार आउँदै थिइन् उनी कुराकानीका लागि। हँसिलो स्वभावकी सुनिसा कुनै घटना सुनाउँथिन् र दिल खोलेर हाँस्थिन्। भन्छिन्, ‘कलाकार बन्छु भन्ने कुनै सपना थिएन, सोच पनि थिएन। नाटकले कति बेला मभित्र डेरा जमाएछ पत्तै पाइनँ मैले।’
करिब पाँच वर्षअघिको कुरा हो, साथीसँग जार नामक नाटक हेर्न मण्डला थिएटर पुगेकी थिइन् उनी। नाटक हेरेपछि त उनलाई लट्ठ बनायो। यो के हो ? कसरी गर्ने भन्ने लाग्यो। जे होस्, नाटकमा कलाकारले गरेको कामले दिलैसम्म छोयो उनलाई। त्यसपछि त नाटक सकिन सात दिन बाँकी थियो, हरेक दिन त्यही नाटक हेर्न जान थालिन्। नाटक सकिएपछि पनि उनलाई थिएटरमै बसिरहन मन लाग्थ्यो। एकखालको अट्याचमेन्ट थियो नाटकसँग। मैले गर्ने काम यो पो हो भन्ने लाग्यो। रमाउन थालिन् रंगकर्ममा। मण्डलामा थिएटर क्लास सुरु हुन लागेको रहेछ। सुनिल पोखरेलसँग तीनमहिने कक्षा पूरा गरिन्। कक्षा सकिएपछि पनि उनी थिएटर गइरहन्थिन्। खुब रमाइलो लाग्थ्यो थिएटरको माहोल।
अञ्जु पन्तको आवाजमा रहेको यो जिन्दगी तिमीलाई लगायत केही गीतमा अभिनय गरिसकेकी थिइन् तर पनि खुसी हुन सकेकी थिइनन्। थिएटर गएपछि मात्रै थाहा पाइन् उनी रंगकर्मका लागि जन्मिएकी रहिछन्। भन्छिन्, ‘जीवन निर्वाहका लागि अवसर आएका अन्य कर्म पनि गर्छु होला तर थिएटरमा जस्तो खुसी अन्त कहीँ मिल्दैन।’
किन ? थिएटर एक्टिङमा नो चान्स फर मिस्टेक। आफूले जे ग¥यो त्यही प्रत्यक्ष दर्शकले हेर्ने काम हो थिएटर एक्टिङ। गल्ती गर्ने छुट नै छैन। नाटक अभिनयले मेरो परिचयभन्दा पनि पात्रको परिचय बढी दिन्छ। एक दुई महिनासम्म त आफूलाई बिर्सनुपर्छ र पात्र बोकेर हिँड्नुपर्छ।
खुला स्वभावकी सुनिसाका फ्यान फलोइङ पनि टन्नै छन् ? प्रेम प्रस्ताव आइरहन्छ होला नि ? कसैलाई मन पर्नु, माया गर्नु सामान्य कुरा भएको बताउने सुनिसा गहिरो प्रेममा भने नपरेको बताउँछिन्। टिनएजको लभको त कुरै छाडौं। अलि चकचके बदमास टाइपको थिइन् तर पढ्नमा ट्यालेन्ट। स्कुलमा प्रिन्सिपलकी छोरी भनेर सबैले माया गर्थे।
स्कुलमा आयोजना हुने हरेक कार्यक्रममा भाग लिने गर्थिन्। रेडक्रसले आयोजना गरेको गोष्ठीमा सहभागी हुन धरान पुगेकी थिइन् उनी। त्यहाँ तरहराबाट आएको चस्मा लगाउने एक युवक सारै मन प¥यो उनलाई। ऊजस्तै हुनका लागि अनेक कोसिस गरिन्। उसले पनि लुकीलुकी हेर्ने गथ्र्यो। डायरीमा नम्बर लेखेर छाडेको थियो। सुनिसा मुस्कुराउँदै पहिलो प्रेम अनुभव सुनाइरहेकी थिइन्। गोष्ठी सकियो, सबैजना आआफ्ना घर गए। उनले घरको ल्यान्डलाइन नम्बर दिएकी थिइन् उसलाई। घर पुगेपछि कतिखेर फोन आउँछ, पर्खेर बसिन्। तर त्यो बेला सबैको हातहातमा फोन पुगिसकेको थिएन। अझ स्कुल पढ्नेलाई त मोबाइल छुनै दिइँदैनथ्यो।
घरमा फोनको घन्टी बज्नासाथ उनको होशहवास उड्थ्यो। कतै उसले ग¥यो कि जस्तो लाग्थ्यो। ‘एक साँझ उसले फोन ग¥यो। सुनिसा होइन ? भन्दै उसले सोधेको पहिलो वाक्य अझै याद छ मलाई। सम्झँदा पनि हाँसो उठ्छ। कस्तो अचम्मको फिल हुने है’, उनी मुस्कुराउँदै बोल्छिन्। उनीहरूको टिनएज प्रेम एसएलसीको पढाइ सकिएसँगै सकियो।
‘कलेज पढ्ने बेला पनि आकर्षण त भइरहन्थ्यो तर सिरियस प्रेममा भने परेकी छैन’, उनले स्पष्टीकरण दिइन्। प्रेम गर्नुलाई खास नराम्रो भने मान्दिनन् उनी। ‘काम र करिअरलाई सहयोग हुने सम्बन्धले जहिले ऊर्जा दिन्छ। कतिपय कुरा घरमा भन्न सकिँदैन। कुरा सुनाउने मेरो पनि खास मान्छे होस्, मेरो इच्छा र रहर बुझिदेओस् भन्ने लाग्छ कहिलेकाहीँ’, उनले भनिन्।
सुनिसा साथीसँग घुम्न, रमाइलो गर्न खुब मन पराउँछिन्। फुर्सद भयो कि घुम्न गइरहन्छिन्। पोखरा र मुस्ताङ उनको मन पर्ने ठाउँ हो। सुन्दर प्रकृतिमा गएर रमाउन कसलाई पो मन नलाग्ला र ? एकजना मिल्ने साथी थिइन् उनको। गत वर्ष सुसाइड गरिन्। साथीको मृत्युले खुब असर ग¥यो उनलाई। खास मिल्ने साथी भएर पनि उसको अप्ठ्यारो के थियो बुझ्नै पाइनँ भन्ने लागिरहन्छ उनलाई।
बुवाकी प्यारी छोरी हुन् सुनिसा। जे काम गरे पनि पढाइ नछोड भन्नुहुन्छ। नाटकमा खेल्न पनि खासै मन पराउनुभएको थिएन। उनले आफूले पहिलो पटक अभिनय गरेको नाटक परिवारलाई नै देखाइन्। बुवाआमा नै औधी खुसी हुनुभयो। अभिनयको कामलाई पोजेटिभ सोच्न थाल्नुभयो। ज्ञानी विद्यार्थी भएकाले होला, सुनिसाले खासै बदमासी भने गरिनन्। एकजना साथीले कोठाभाडा तिर्न नसक्दा उनलाई खुब दुःख लाग्यो। बुवाको खल्तीबाट एक हजार रुपैयाँ चोरर दिएकी थिइन्। यो सम्झँदा अहिले पनि दुःख लाग्छ उनलाई। आमालाई सोधेरै दिएको भए हुन्थ्यो भन्ने लाग्छ।
अभिनय कलामा पैसाभन्दा पनि सन्तुष्टि भएको बताउने सुनिसा हरेक क्षेत्रमा सफल हुन धैर्य चाहिने बताउँछिन्। भन्छिन्, ‘अभिनय पेसा एकै रातमा स्टार र लखपति हुने पेसा होइन, निरन्तर मेहनत गरिरहनुपर्छ। पाएको भूमिकालाई मेहनत गर्नुपर्छ। धैर्य राख्न सक्दा करिअर पनि राम्रो बनाउन सकिन्छ।’