सुनसरीको हरिनगरा गाउँपालिकामा सशस्त्रको स्वास्थ्य शिविर
धरान : सुनसरीको हरिनगरा गाउँपालिकामा सशस्त्र प्रहरीले निःशुल्क स्वास्थ्य शिविर गरेको छ। शनिबार आयोजना गरिएको स्वास्थ्य शिविरमा पाँच सय सर्वसाधारणले स्वास्थ्य सेवा लिएका छन्।
भारतसँग सीमान जोडिएको हरिनगरका सर्वसाधारणलाई सशस्त्र प्रहरी बल ४ नम्बर गणले स्वास्थ्य सेवा दिएको हो। हातेमालो फाउण्डेसन धरानको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर भएको हो। शिविरमा हाडजोर्नी, नाक कान घाँटी, दाँत, प्रसूति, छाला र साधारण बिरामीको उपचार भएको छ।
शिविरमा १६ चिकित्सक सहभागी भएको सशस्त्र प्रहरीका उपरीक्षक कृष्ण ढकालले जानकारी दिए। हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले गाउँमा शिविर संचालन गरेर सर्वसाधारणको स्वास्थ्य उपचार गरेकोप्रति सशस्त्र प्रहरी र हातेमालो फाउण्डेशनलाई धन्यवाद दिए।