नगरपालिकाको भवन वेवारिसे राखी लाख भाडा तिर्दै
बझाङ : जयपृथ्वी नगरपालिकाको नवनिर्मित भवन रङरोगन गरी चिरिच्याट्ट पारिएको छ। तर नगरपालिका भने मासिक एक लाख भाडा तिर्ने गरी भवन भाडामा लिएको छ।
नयाँ भवन चैनपुर बजारभन्दा एक किलोमिटर टाढा रिठापाटाको सिमखेतमा निर्माण गरिएको हो। निर्माण व्यवसायीले भवन निर्माण गरी हस्ताान्तण गरेको एक वर्ष बितिक्दा पनि कार्यालय सर्ने कुनै संकेतसम्म छैन। नयाँ भवन वेवारिसेजस्तै बनेको छ। जनप्रतिनिधि र कर्मचारीकै स्वार्थमा मासिक एक लाख भाडा तिर्ने गरी कार्यालय भाडामा सञ्चालन हुँदै आएको स्थानीय बताउँछन्। चैनपुर बजारमै दुईवटा घर भाडामा लिइएको छ। नगरपालिकाले एक घरको ५३ हजार र अर्को घरको ५५ हजार मासिक भाडा तिर्दै आएको छ।
नगरपालिका घोषणा भएको दुई वर्षमै केन्द्रीय बजेटमा भवन निर्माण गरिएको हो। तीन करोड ९६ लाखमा जागृति निर्माण थेगिम जेबी निर्माण कम्पनीले नगरपालिकाको भवन निर्माण गरेको हो। ‘कार्यालय निर्माणका लागि सुरुमा कसैले पनि जमिन दिन मानेका थिएनन्’, स्थानीय कार्यालयमा कार्यरत नासु पदका नारद खड्काले भने। ‘पछि जनताले ६ रोपनी जग्गा निःशुल्क दिए। केही कर्मचारी र जनप्रतिनिधिले गर्दा कार्यालय सारिएको छैन।’ भाडामा लिएको एक घर नगरपालिकाकै इन्जिनियरको घर हो भने अर्को घर स्थानीय व्यापारीको हो।
नयाँ भवनका दुई तलामा ११ कोठा छन्। कार्यालय नसार्नका कारण घरमालिकसँग कमिसन खाएको गाउँलेको आरोप छ। सुवेडाका स्थानीय रमेश महरले चैनपुर बजारभन्दा बाहिर कार्यालय नल्याउन जनप्रतिनिधिको गलत रबैयाले अनावश्यक घर भाडामा खर्च गरी रकम दुरुपयोग गरेको आरोप लगाए। नयाँ बनेको भवननजिकै मालपोत, नापी र सिँचाइ साथै जिल्ला स्वास्थ्य कार्यालय पनि छन्। नगरपालिका भूगोलका दृष्टिले नयाँ भवन बनेको स्थान पायक पर्ने ठाउँमै छ। कार्यालय सार्न पटक–पटक छलफल भए पनि भवन साँघुरो हुने देखिएपछि रोकिएको मेयर वीरेन्द्र खड्काले बताए। उनले माथिल्लो तला निर्माण गरेपछि मात्र कार्यालय सार्न सकिने तर्क गरे।
नगरपालिकाकी उपप्रमुख जुना जाग्रीले नयाँ भवनमा कार्यालय सार्न पाँच महिनाअघि नगरकार्य समितिले निर्णय गरेको बताइन्। ‘नगर कार्य समितिले कार्यालय सार्न निर्णय भएको हो’, उनले भनिन्, ‘के कारणले रोकिएको हो, बुझ्न सकेको छैन।’
प्रतिक्रिया दिनुहोस !