गुल्मीका राते बाख्री

गुल्मीका राते बाख्री

राते बाख्रीलाई रतुवा मृग पनि भनिन्छ। गुल्मीका जंगलमा रतुवा मृग पाइने भएकाले यसलाई स्थानीयले राते वा राते बाख्री र वन बाख्रो भन्ने गर्छन्। रतुवा उच्च पहाडी भेग तथा भित्री मधेसमा पाइने एक प्रकारको शाकाहारी तथा स्तनधारी जंगली जनावर हो।

हेर्दा घोरलजस्तै देखिने रतुवाको रङ रातो हुन्छ। यसको चरण आदि सबै घोरलसँग मेल खान्छ। यो दुर्लभ प्रजातिको जीव हो। नेपालमा ६ किसिमका मृग पाइन्छन्। यो राते बाख्रीको सिङ हुँदैन। तर भाले जातिको रतुवाको सिङ हुने गर्छ। भाले जातिको सिङ प्रत्येक वर्ष झर्ने गरेको जिल्ला वन कार्यालय गुल्मीले जनाएको छ।

सामुदायिक वनजंगलको क्षेत्र बढेसँगै नेपालमा यसको संख्या बढेको कार्यालयको भनाइ छ। गुल्मीका मदाने, मालिकालगायतका जंगलमा यो प्रजातिको जनावर पाइन्छ। यो झट्ट हेर्दा घरपालुवा बाख्रोजस्तै देखिन्छ। तर जंगलमा बस्दा यसले हरियो घाँसमात्रै खाने गर्छ। यसलाई गुल्मीमा विभिन्न नामले चिनिन्छ।

यहाँका स्थानीय मानिसले यसलाई रतुवा मृग, हरिण वा राते भनेर बढी चिन्ने गरेको पाइन्छ। वन विज्ञका अनुसार यसको आयु नेपालमा १६ देखि २० वर्षसम्म रहेको छ। भाले रतुवाले सिङका कोथा हाल्दै गयो भने आयु बढाउने मदाने, मालिका वनविज्ञ छवि अर्यालले बताए। उनका अनुसार यो राते वा रतुवा मृगलाई तराईमा पाटेबाघले सिकार गर्ने गर्छ। पहाडका क्षेत्रमा भने चितुवाले प्रमुख आहार बनाउने गरेको अर्यालले बताए।

यस्तै हिमाली भेगमा पनि रतुवा पाइने भएकाले यसलाई हिमाली चितुवाले सिकार गर्ने गर्छ। पहाडी वा मध्यपहाडमा देखिएअनुसार चितुवाले रातेलाई मारिसकेपछि सिङ र खुट्टाका खुर छोडर अरू मासु खाएको पाइन्छ। जंगलमा पाइने रतुवा मृग वा राते बाख्रीलाई बाघ र चितुवाबाहेक अन्य जनावरले आक्रमण गर्न सक्दैनन्। यो आफैंमा बलियो प्रजातिको जंगली जनावर हो। मानिसलाई देख्नासाथ यो एकदमै दगुर्छ। मानिसले यसलाई समात्न खोज्यो भने सिङ र खुट्टामा बाहेक अन्यत्र भागमा समात्न सकिँदैन। सिङमा मात्रै समाउन खोजे यसले खुट्टाले हानेर मार्ने वा घाइते बनाउन सक्ने अर्यालको भनाइ छ। घरपालन रतुवा वा राते बाख्रीले मानिसले जस्तै अन्न खाने गर्छ। तर मानिसले पालेको घरपालुवा रतुवा पनि मानिस देख्नासाथ एकदमै तर्सिन्छ। यसको पेट र घाँटीको भाग चिप्लोजस्तो हुने भएकाले घरपालुवा रातेलाई पनि समाउन मुस्किल पर्छ।

    गुल्मीमा पाइने राते जाडो समयमा उच्च भाग छोडेर गाउँको नजिकै आउने गर्छ। यो राते बाख्रीले आजभोलि गाउँमा आएर बारीमा लगाएको कोदो, मकै, जौं, गहुँलगायतका अन्नबाली खाने गरेको मालिका गाउँपालिका–५ छापहिलेका प्रेमबहादुर खड्काले बताए। जंगलमा बस्दा यसले ओडार र झाडीहरूलाई बासस्थान बनाउने गर्छ। यो राते बाख्रीको आवाज घरपालुवा बाख्राको भन्दा फरक हुने गर्छ। रातिको समयमा एक्लै भयो भने यो कराउने गर्छ। यो प्रजाति समूहमा मिलेर बस्ने गर्छ। चितुवाले आक्रमण गर्न खोजेको थाहा पाएमा यसले कराएर आफ्ना समूहलाई जानकारी दिन्छ।

यो प्रजातिले जन्मेको ८ महिनापछि गर्भधारण गर्ने गर्छ। गर्भधारण गरेको एक वर्षभित्रमा यसले बच्चा जन्माउने वनविज्ञ छवि अर्यालले बताए। यो राते बाख्रीले एक पटकमा एक वा दुई वटा बच्चालाई जन्माउने गर्छ। ८ देखि १० पटकसम्म यसले बच्चा जन्माउने गरेको पाइन्छ। गुल्मीका मदाने र मालिकाको वन क्षेत्रमा यसले बासस्थान बनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.