'भाषण, साहित्य र कलाकारिताबाट हिंसा '
विराटनगर : 'सरकार लंगडो भयो, अन्धो भयो, अपांगजस्तै छ। यसरी घर्सिएर कसरी विकास होला' एक नेताले गरेको भाषण सुनाउँदै राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश १ की अध्यक्ष पार्वता श्रेष्ठले भनिन्, 'यसरी नेतालेनै अपांगता भएका व्याक्तिलाई होच्याउने शब्द प्रयोग गर्दै भाषण गर्छन्, हामीलाई प्रभाव पर्छ भन्ने सोच नै छैन ।'
उनले यस्ता शब्दको प्रयोगकै कारण पछिल्लो समय फरक क्षमता भएका व्यक्ति मानसिक रुपमा झनै कमजोर बन्न थालेको बताइन् । नेताले गर्ने भाषणदेखि साहित्यकारले लेख्ने साहित्य र पछिल्लो समय हाँस्य व्यङ्ग्यको नाममा चलेका टेलिसिरियल र कलाकारले समेत शारीरिक र मानसिक रुपमा फरक क्षमता भएका (अपांगता भएका) व्यक्तिलाई होच्याउने शब्द प्रयोग गर्ने गरेको राष्ट्रिय अपाङ्ग महाँसंघको आरोप छ।
'देशकै प्रवुद्ध मानिएका नेता, साहित्यकार र कलाकारले अपांगता भएका व्यक्तिलाई कस्तो प्रभाव पर्छ बोल्नुअघि सोच्नु पर्छ,' महासंघका केन्द्रीय अध्यक्ष मित्रलाल शर्माले भने, 'यस्तो गतिविधिको हामी घोर भत्छना गर्छौं।'
पछिल्लो समय अपांगता भएका व्यक्तिलाई दर्शाउने र होच्याउने शब्द प्रयोग भएका उखान, टुक्का र शब्दको प्रयोग नेताले भाषणमा र साहित्यकारले साहित्यमा अत्याधिक प्रयोग बढेको महासंघको ठहर छ ।
नेताले भाषण गरिरहँदा सुन्नेमा अपांगता भएका व्यक्ति पनि हुने साहित्यकारले लेख्ने कुरा उनीहरुले पनि पढ्ने र कलाकारको प्रस्तुति यो समुदायका व्यक्तिले पनि हेर्छन् भन्ने हेक्का नराख्नु दु:खत भएको अध्यक्ष शर्मा बताउँछन् । 'कतिपय सञ्चारमाध्यममा सञ्चारकर्मीले समेत प्रश्न सोध्दा लंगडो, बहिरो, अन्धो भन्ने शब्द प्रयोग गर्छन्, सञ्चारमाध्यममा त धेरै घट्यो तर, भाषण, साहित्य र कालाकालितामा अधिक बढेको छ,'अध्यक्ष शर्माले भने, 'यसले यो समुदायलाई हौसला कदापी मिल्दैन ।'
ठूलो समुदायमा थोरै मात्र अपांगता भएका व्यक्ति हुने र उनीहरुको गुनासो र आवाज कसैले नसुन्ने भएकाले यस्ता गतिविधि बढ्दै गएको यस समुदायको अधिकारका लागि क्रियाशील स्याङ्जाकी देबु पराजुली बताउँछिन् । 'म सानैदेखि अपांगता भएकी हुँ, मैले विद्यालयदेखिनै हिंसा त सहेँ पछिल्लो समय भाषण, टेलिसिरियल र साहित्यबाट अपांगता भएका व्यक्तिको हिंसा भएको छ, यो सबैले सोच्नु पर्छ,' पराजुलिले भनिन् ।
अपांगता भएका व्यक्ति सुरुमा शारीरिक रुपमा त्यसपछि निर्माण भएका भौतिक संरचना र हरेक क्षेत्रको सेवा सुविधा ठगिने सँगै पछिल्लो समय यस्ता शब्दको प्रयोगले झनै अपहेलित हुनुपरेको पराजुली बताउँछिन् । सडक, सेवाग्राहीको चाप हुने सरकारी भवन, होटल लगायतका स्थान अपांग मैत्री नहुँदा हरेक स्थानमा फरक क्षमता भएकाले चुनौतीको सामना गर्नु परेको उनको गुनासो छ । पछिल्लो समय बन्ने संरचनामा केही सुधार भएपनि मानिसको बोलिचाली र व्यवहारमा सुधार आउनु पहिलो आवश्यकता भएको उनको तर्क छ ।
'अपांग' शब्द आफैमा फरक क्षमता भएका व्यक्तिलाई होच्याउने शब्द भएकाले महासंघकै नाम परिवर्तन गर्ने विषयमा समेत छलफल भइरहेको महासंघका अध्यक्ष मित्रलाल शर्माले बताए । 'हामी अपांगता भएका व्यक्तिलाई मानसिक रुपमा पनि कुनै किसिमको दबाव होस् भन्ने चाहदैनौँ, मानसिक रुपमा सक्षम भए अहिले शारीरिक अशक्तताले ठूलो प्रभाव पार्दैन, यसमा महासंघले अपांग शब्दकै प्रयोगलाई पनि छलफलको विषय बनाएको छ,' उनले भने ।