रक्सीको मातमा महिलामाथि दुर्व्यवहार गर्ने हवल्दार कारवाहीमा
कपिलवस्तु : रक्सी सेवन गरी महिलामाथि दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले प्रहरी हवल्दार बलबहादुर जि.सी.लाई निलम्बन गरेको छ। तौलिहवा पुरानो हाटबजारकी रेष्टुरेन्ट संचालक महिलामाथि दुर्व्यवहार तथा हातपात गरेको आरोपमा जि.सी.लाई आईतबारदेखि निलम्बनमा राखिएको प्रहरी नायव उपरीक्षक सुनिल मल्लले बताए। हवल्दार जि.सी.लाई निलम्बन गरी घटनाको थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए।
रक्सीले मातिएका प्रहरी हवल्दार जि.सी.ले आफुमाथि हापात गरेको र संवेदनशील अंगमा प्रहार गरी कुटपिट गरेको रेष्टुरेन्ट संचालक महिलाको आरोप छ। प्रहरी पोशाकमै बुधबार साँझ रेष्टुरेन्ट छिरेका हवल्दार जि.सी.ले रेष्टुरेन्टका कुर्सी, टेबलसमेत टोडफोड गरेका थिए।
रेष्टुरेन्ट संचालक महिलाले हार-गुहार गरेपछि हवल्दार जि.सी. त्यहाँबाट भागे। उनी भाग्दा उनले बोकेको प्रहरीको संचार सेट रेष्टुरेन्टमै छुटेको थियो। घटनाबारे स्थानीयले जिल्ला प्रहरी कार्यालयलाई फोन गरी जानकारी गराएपछि घटनास्थल पुगेको प्रहरीले संचार सेट बुझेर लगेको स्थानीयले बताए। पिडीत महिलाले आफु माथि दुर्व्यवहार गर्ने प्रहरी हवल्दार जि.सी.लाई कडा कारवाही हुनुपर्ने माग गरेकी छिन्।