पोलमा मेयरको तस्बिर

पोलमा मेयरको तस्बिर

विराटनगर : समयमै पूर्वाधार निर्माण नगर्ने ठेकेदारको तस्बिर विरोधस्वरूप सार्वजनिक स्थलमा टाँस्न सुरु गरेका बेला विराटनगरका नागरिकले नगरप्रमुखकै तस्बिर विद्युत्को पोलमा टाँसेका छन्। समयमै सडक निर्माणमा पहल नगरेको भन्दै विराटनगरवासीले नगरप्रमुख भीम पराजुलीको तस्बिर विद्युत्का पोललगायत सार्वजनिक स्थलमा टाँस्न सुरु गरेका छन्।

भत्काएर लामो समयम्म पुनर्निर्माण गराउन चासो नदिएको भन्दै नगरप्रमुख पराजुलीको तस्बिर विरोधस्वरूप विद्युत्को पोलमा टाँसेका हुन्। तस्बिर टाँस्ने काम विराटनगर–६ बाट सुरु गरेको स्थानीय रुद्र क्षेत्रीले बताए। सडकका पोलमा टाँसेको मेयरको फोटोसहित सांकेतिक विरोध स्वरूप ‘हाम्रो विराटनगर, राम्रो विराटनगर’ सौजन्य पीडित वडाबासीहरू लेखिएको छ।

‘यो सांकेतिक विरोध हो, धेरैपटक नगर प्रमुखको ध्यानाकर्षण गर्दा पनि सडक बनेन, ध्यानाकर्षणका लागि तस्बिर टाँस्न सुरु गरिएको हो’, क्षेत्रीले भने। विराटनगरस्थित कोशी राजमार्गबाट शिवमन्दिर चोक हुँदै पश्चिमतर्फ जानेबाटो निर्माणमा नगरपालिकाले चासो नदिएको स्थानीयको आरोप छ। अहिले यसै क्षेत्रमा मेयरको तस्बिर विद्युत् पोलमा झुन्ड्याइएको छ।

सहरी विकास परियोजना अन्तर्गत महानगरले यस क्षेत्रमा सडक निर्माण गरिरहेको छ। तर परियोजना सुरु भएको दुई वर्ष बितिसक्दा पनि सडक भत्काएर पूरा नगरेको विरोध जनाएको अर्का स्थानीय शैलेश चौधरी बताउँछन्। ‘महानगरले सडक निर्माण सुरु गरेको हो, नगरप्रमुखले चासो नदिँदा सडक अहिलेसम्म एक किलोमिटर पनि कालोपत्रे भएको छैन’, उनले भने, ‘सडक किनाराको व्यवसाय चौपट भएको छ। मुख्य सडकमा हिँड्न निकै सास्ती खेप्नुपर्छ।’

दुई वर्षसम्म पटक–पटक अनुरोध गर्दा पनि वेवास्ता गरेपछि दबाब दिन तस्बिर टाँसेर विरोध गर्नुपरेको स्थानीय व्यापारी हरीहर भट्टराईले बताए। अघिल्लो वर्ष एक सार्वजनिक कार्यक्रममा नगरप्रमुख पराजुलीले यसैवर्षको दसैंसम्म सडक निर्माण कार्य पूरा हुने प्रतिबद्धता व्यक्त गरेका थिए। प्रतिबद्धता जनाए पनि दुई वर्षमा एक किलोमिटर सडक पनि कालोपत्रे नभएपछि स्थानीय आक्रोशित छन्।

०७४ सालबाटै महानगरपालिकाले विराटनगर क्षेत्रको विकासका लागि एकैपटक १७ वटा सडकको स्तरोन्नतिको काम थालेको थियो। सरकारको सघन सहरी विकास कार्यक्रम अन्तर्गत उक्त सडक व्यवस्थित एवं पुनर्निर्माण सुरु गरिएको हो। करिब २ किलोमिटर बजार क्षेत्र जोड्ने पूर्वतर्फ ८ र पश्चिमतर्फ ९ वटा सडक छन्।

दुई वर्षअघि सुरु भएको सडक निर्माण र मर्मतको ८० प्रतिशत भौतिक काम पूरा भएको महानगर र आयोजनाले दाबी गर्दै आएको छ। महानगरभित्र कालोपत्रे ५३ प्रतिशत, ढलको काम ८८ प्रतिशत र सडक नाला निर्माणको काम सबै पूरा भएको आयोजना प्रमुख भरत न्यौपाने बताउँछन्। केही स्थानमा विद्युत्का पोल, टहराको अवरोधका कारण ढिलाइ भएको उनले बताए।

अवरोधका कारण २०१७ नोबेम्बरमा सुरु भएको आयोजनाको सम्झौता सकिएको र हाल म्याद थप गर्ने प्रक्रिया अघि बढेको न्यौपानेले बताए। महानगर क्षेत्रका १७ सडकको निर्माण लागत २ अर्ब ६३ करोड रुपैयाँ छ। जम्मा सबै सडकको लम्बाई जोड्दा ७४ किलोमिटर छ। महानगर प्रमुख पराजुली भने नगरपालिकाले चासो दिएर दैनिक काम गरिरहेकाले अहिलेनै आत्तिनुपर्ने अवस्था नरहेको बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.