हलेसीमा खाद्य संकट

हलेसीमा खाद्य संकट

ओखलढुंगा : खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा खाद्य संकट सुरु भएको छ । खडेरी तथा फौजी किराको प्रकोपले यो वर्ष दुई सिजनकै अन्नबाली सखाप पारेपछि खाद्य संकट सुरु भएको हो । यहाँका किसानलाई अहिले बिहान बेलुका छाक टार्नै मुस्किल हुन थालेको छ । 

नगरपालिकाका ११ वटै वडामा यो वर्ष बर्षे र हिउँदे बाली फलेन । वर्षायाममा पानी नपर्दा धान रोपाइ भएन भने मकैका बोट बारीमै सुके । हिउँदे बालीका रुपमा लगाइएका मास, कोदो तथा हिउँदे मकैमा फैजी किराले सखाप पार्यो । दुई सिजनको अन्न बाली भित्र्याउन नपाएका यहाँका किसानलाई परिवार पाल्न कठिन हुन थालेको छ ।

साविकका ११ वटा गाविस मिलेर बनेको नगरपालिकाका सबै वडामा सिंचाइ तथा खानेपानीको समेत समस्या छ । 'वर्षे बाली नभए पनि हिउँदेको आश थियो, फौजीले सिध्यायो अब खानै नपाइने अवस्था भयो,' स्थानीय रेशम राईले भने । 

उनका अनुसार ११ वटै वडाका खेतिबाहेक अन्य आयस्रोत नभएका किसान खडेरी र फौजीको प्रकोपपछि खाद्यन्न संकट झेलिरहेका छन् । खानेपानीको समेत चर्को समस्या छ । पानीका मुहान नै भएको सुख्खाग्रस्त क्षेत्रमा दुई सिजन बाली भित्र्याउन नपाएपछि दसैंपछि खाद्यन्न संकट सुरु भएको नगरपालिकाका उपप्रमुख विमला राईले बताइन् ।

हलेसी तुवाचुङलाई सुख्खा र खाद्यसंटकग्रस्त क्षेत्र घोषणा गरेर प्रदेश र संघको ध्यान तान्न खोजे पनि सुनुवाइ भएको छैन । उपप्रमुख राईले भनिन्, 'हामीले नगरपालिकालाई संकटग्रस्त घोषणा गरेर संघ र प्रदेश सरकार गुहार्‍यौं, तर सुनेनन् ।'

राईका अनुसार नगरपालिकाले प्रदेश तथा संघीय सरकारको साझेदारीमा खाद्यन्न उपलब्ध गराउन बजेट बिनियोजन गरे पनि सहयोग नभएपछि ३ लाख केजी चाम खरिद गरेर वितरण गरेको थियो । 

नगरपालिकाको कुल जनसंख्या ३२ हजार ४ सय ४६ मध्ये प्रतिव्यक्ति १० केजीका दरले ३० हजारलाई उक्त चामल बाँडिएको हो।जनप्रतिनिधी र कर्मचारी भएका घर परिवार बाहेक अन्यलाई चाडबाडका मुखमा चामल बाँडिए पनि अहिले नगरबासी भोकमरिमा पर्न थालेको राईले गुनासो गरिन् । खानेपानीका मुहान समेत सुकेर समस्या छ । 

यहाँको मुख्य खाद्यबाली मकै, कोदो, बदाम र दाल नै हो । तर, खडेरी र फौजी किराका कारण  उत्पादन नै भएपछि नगरवासीले चर्को समस्या भोगिरहेकाले दुधकोशीबाट बृहत लिफ्टिङ सिचाइ आयोजना चलाएर खेति प्रणालीमा सुधार गर्नुको विकल्प नरहेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकत रविकिरण आचार्यले बताए । उनले भने, 'यस्तो क्षेत्रमा संघीय सरकारले नै महत्व दिएर लगानी नगरे यहाँका नागरिक थातथलो छोडेर हिड्ने अवस्था आउँछ ।'

पूर्वको पशुपति भनेर चिनिने चर्चित धार्मिक स्थल हलेसी क्षेत्रका किसान भने भोकभोकै बस्नुपर्ने अवस्था आएको स्थानीयको गुनासो छ ।  खडेरीका कारण कोदोको बीउ, गहत, धान तथा दालसमेत नफलेपछि खाद्यान्न संकट भएको हलेसीतुवाचुङ नगरपालिका १ का तामन राईले बताए । राईका अनुसार पैसा हुनेले बजारबाट अन्न किनेर जिविका चलाए पनि आर्थिक अवस्था कमजोर भएकाहरू भोकभोकै पर्न थालेका छन् ।

घरमा अन्न नभएको र किन्न पैसा समेत नभएपछि हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटार ६७ वर्षीय सेतीबहादुर राई दिक्तेल-खानीडाँडा सडक खण्डमा गिट्टी कुटेर परिवार पाल्दै आएका छन् । नगरपालिकाले १० केजी चामल राहत स्वरूप दिएपनि त्यसले दुई÷चार छाक मात्र टरेको उनले गुनासो गरे । 

नेपालको संविधानले प्रत्येक नागरिकलाई खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने हक व्यवस्था गरेको छ भने धारा ३६ उपधारा ३ मा प्रत्येक नागरिकलाई कानुन बमोजिम खाद्य सम्प्रभुताको हक हुने व्यवस्था छ । तर, यस्तो व्यवस्था कार्यन्वयन गर्न संघ तथा प्रदेश सरकारले सहयोग नगरेको नगर उपप्रमुख राईले आरोप लगाइन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.