सागको हातमा देशको शिर

सागको हातमा देशको शिर

तेह्रौँ सागका लागि खेलाडी छनोटदेखि बन्द प्रशिक्षण र विदेशी प्रशिक्षकका लागि राज्यको ठूलो धनराशि खर्च भइसकेको छ। सागमा ऐतिहासिक सफलता हात पार्ने लक्ष्यसहित खेलाडीलाई लामो समयदेखि बन्द प्रशिक्षणमा राखिएको छ। देशको शिर उठाउने वा झुकाउने, त्यो साग आयोजनाको हातमा छ।


यतिबेला नेपाली खेलकुद तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) आयोजनाको सँघारमा उभिएको छ। साग दक्षिण एसियाकै सबैभन्दा बृहत् खेलकुद प्रतियोगिता हो। यस अर्थमा सागलाई दक्षिण एसियाली राष्ट्रको ‘मिनी ओलम्पिक’ भन्दा फरक पर्दैन। विश्व खेलकुदका अधिकांश मेगा इभेन्ट्समा प्रतियोगिता सुरु हुन एक सय दिन बाँकी रहँदा काउन्टडाउन (उल्टो गन्ती) सुरु गर्ने प्रचलन छ। ओलम्पिक खेलकुद, विश्वकप फुटबल, विश्वकप क्रिकेट, एसियाली खेलकुदजस्ता ठूला प्रतियोगिता यसको उदाहरण हुन्।

तर, दक्षिण एसियाली खेलकुदकै महाकुम्भ भए पनि तेह्रौँ सागको काउन्टडाउन गत शनिबार (१५ दिनअघि) मात्र सुरु भएको छ। एक सय दिनअघि त तेह्रौँ साग निर्धारित समयमा आयोजना हुने वा नहुने विषयमै अन्यौल थियो। त्यसअघि पनि पटक–पटक मिति सर्दै आएको र भौतिक पूर्वाधार निर्माणमा सिन्को नभाँचिएकाले अन्यौलको अवस्था सिर्जना हुनु स्वाभाविकै थियो। 

तर, एक सय दिनअघि पनि नेपाली खेलकुदका दुई हस्ती युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवालको अडान भने ‘गजब’को थियो। यी दुवै खेल हस्तीले हरेक मञ्चमा तेह्रौँ साग कुनै पनि हालतमा नसर्ने र निर्धारित समयमै आयोजना हुने दाबी गर्दै आएका थिए। साग आयोजनाप्रति सरकारी उदासीनता, भौतिक पूर्वाधार निर्माणमा भएको ढिलाइ, प्राविधिक काममा देखिएको अन्यौलजस्ता कारणले आमनेपाली भने उनीहरूको दाबीप्रति रत्तिभर आश्वस्त हुन सकिरहेको थिएन। त्यतिबेला मन्त्री र सदस्यसचिवले जसरी पनि साग आयोजना हुन्छ भनेर दाबी गर्नुको पछाडि विभिन्न कारण हुन सक्ने अनुमान गरिएको थियो। पहिलो कारण, आफ्ना केही मन्त्रीले सन्तोषजनक काम गर्न नसकेको कारण देखाउँदै पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली मन्त्री परिषद् हेरफेरको तयारीमा थिए। हेरफेरको सूचीमा युवा तथा खेलकुदमन्त्रीको नाम पनि रहेको चर्चा व्यापक थियो। 

यस्तोमा मन्त्री विश्वकर्मा सागजस्तो ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरेर आफ्नो योग्यता प्रमाणित गर्न चाहन्थे। पछिल्लो समय पूर्वाधार निर्माण स्थलमा देखिएको मन्त्रीको आश्चर्यजनक सक्रियता पनि यसैको उदाहरण हो। विगत केही समयदेखि बिहान सबेरै दशरथ रंगशाला पुग्ने मन्त्री राति अबेरसम्म त्यहीँ व्यस्त रहन्छन्। रंगशाला निर्माणमा खटिएका कामदारलाई समेत उनी आफैँले निर्देशन दिइरहेको देख्न पाइन्छ।

अर्कोतिर, सदस्यसचिव सिलवाल पनि अप्ठ्यारो परिस्थितिमा राखेपको नेतृत्व सम्हाल्न आइपुगेका थिए। उनी सदस्यसचिव नियुक्त हुँदा पनि शैक्षिक क्षेत्रबाट आएको व्यक्तिले खेलकुद राम्ररी हाँक्न नसक्ने गाइँगुइँ चलेको थियो। त्यसैले पनि उनी सदस्यसचिव नियुक्त भएको छोटो समयमै सागको सफल आयोजना गरेर आफू खेलकुद क्षेत्र हाँक्न सक्षम रहेको सन्देश दिन चाहन्थे। उनले केही सार्वजनिक कार्यक्रममा त साग आयोजना गर्न नसके पदबाटै राजीनामा दिने अभिव्यक्तिसमेत दिएका थिए।

दोस्रो कारण, केही समय अघिसम्म सरकार आफैँ पनि साग आयोजनाप्रति उदासीन देखिन्थ्यो। सागका लागि आवश्यक बजेट छुट्याउनेदेखि लिएर अन्य काममा पनि सरकारले खासै सक्रियता देखाएको थिएन। त्यसैले साग आयोजनाको कार्यलाई तीव्रता दिन अत्यावश्यक पर्ने समिति र उपसिमितसमेत गठन हुन सकिरहेको थिएन। यस्तो अप्ठ्यारो स्थितिमा राखेप सम्हाल्न जाँदा आफू असफल हुने यथार्थ राम्ररी बुझेका सदस्यसचिवले प्रधानमन्त्रीसँग साग आयोजनाको प्रतिबद्धता खोजेका थिए।

सोही अनुरूप सरकाले पनि सागको सफल आयोजनाका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै बजेटसमेत विनियोजन गरेपछि दुवै खेल हस्ती तेह्रौँ साग हुनेमा ढुक्क देखिएका थिए। सरकारको प्रतिबद्धतासँगै बजेट पनि प्राप्त भएपछि साग आयोजना हुन नसक्दा त्यसको दोष मन्त्री र सदस्यसचिवकै टाउकोमा थोपरिने भएकाले पनि यो जिम्मेवारी पूरा गर्नु दुवै खेल हस्तीका लागि निर्विकल्प बाध्यता बन्न पुगेको थियो। हरेकजसो कार्यक्रममा मन्त्री र सदस्यसचिवबाट तेह्रौँ साग जसरी पनि हुन्छ भनेर अभिव्यक्ति आउनुको अर्को कारण यो पनि हो। 

दक्षिण एसियाली ओलम्पिक काउन्सिलको काठमाडौँमै सम्पन्न बैठकले नेपाल सरकारको प्रस्तावअनुसार तेह्रौँ सागको पछिल्लो मिति तय गरेको थियो। तर, नयाँ मिति निर्धारण गर्दा काउन्सिलले नेपालका लागि यो साग आयोजना गर्ने यो अन्तिम अवसर भएको चेतावनी पनि दिएको थियो। जुन कुरालाई संघीय संसद्अन्तर्गतको समितिको छलफल कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले पनि स्विकारेका थिए। दक्षिण एसियाली ओलम्पिक काउन्सिलका अध्यक्षसमेत रहेका सांसद श्रेष्ठले तेह्रौँ साग आयोजनाका लागि नेपाललाई यो अन्तिम अवसर भएको बताएका थिए। 

त्यसैले पनि पछिल्लो पटक घोषित मितिमा साग सफलतापूर्वक आयोजना गर्नु नेपालको बाध्यतासमेत बनेको थियो। सागजस्तो ठूलो प्रतियोगिता देशकै प्रतिष्ठासँग जोडिएको विषय हो। अर्कोतिर विश्व खेल मञ्चमा यस्ता निकै कम उपलब्धि छन्, जसमा नेपालले गर्व गर्न सकोस्। ती उपलब्धिमध्ये सबैभन्दा ठूलो हो, साग। साग यस्तो प्रतियोगिता हो, जसको बीउ नेपाल आफैँले रोपेको थियो। यो प्रतियोगिताको परिकल्पनाकार पनि नेपाल नै थियो भने पहिलो संस्करणको आयोजना पनि नेपालमै भएको थियो। दक्षिण एसियाली खेलकुदको जन्मदाता र पहिलो संस्करणको आयोजकसमेत भएकाले पनि नेपाल यो प्रतियोगितासँग भावनात्मक रूपमा जोडिएको छ। त्यसैले वर्तमान सरकार पनि यो प्रतियोगिता अन्यत्र सरेको अपजस बोक्ने पक्षमा देखिएन। 

चौथो कारण, सरकारले तेह्रौँ साग आयोजनाका लागि करिब साढे चार अर्ब रुपैयाँ बजेट निकासा गरेको छ। जसमा पूर्वाधार निर्माणका लागि १ अर्ब ६२ करोड र प्रतियोगिता आयोजनाका लागि ३ अर्ब ६५ करोड रुपैयाँ बजेट रहेको छ। आवश्यक थप बजेटको निम्ति सरकारले प्रतिबद्वता व्यक्त गरेको छ। 

तेह्रौँ सागका लागि खेलाडी छनोटदेखि बन्द प्रशिक्षण र विदेशी प्रशिक्षकका लागि राज्यको ठूलो धनराशि खर्च भइसकेको छ। सागमा ऐतिहासिक सफलता हात पार्ने लक्ष्यसहित खेलाडीलाई लामो समयदेखि बन्द प्रशिक्षणमा राखिएको छ। थुप्रै खेलका खेलाडीलाई वैदेशिक प्रशिक्षणमा समेत पठाइएको छ। सागको तयारीका क्रममा २१ खेलका खेलाडीलाई वैदेशिक प्रशिक्षणमा पठाइएको छ भने नेपालमै रहेका अधिकांश खेलमा विदेशी प्रशिक्षक ल्याएर तयारी गरिएको छ। विगतको तुलनामा सागमा सहभागी खेलाडीलाई भत्ता पनि करिब दोब्बर गरिएको छ। साग निर्धारित समयमा आयोजना हुन नसके हालसम्म भएको खर्च निरर्थक बन्न पुग्छ। यस्तो स्थितिमा ठूलो रकम बेरुजु आउने सम्भावना रहन्छ। यसले खेलकुदको नेतृत्व तहलाई समेत अनावश्यक विवादमा तान्ने निश्चित छ। त्यसैले पनि वर्तमान नेतृत्वका लागि तेह्रौँ साग निर्धारित समयमै सम्पन्न गर्नु अर्को बाध्यता बनेको थियो।

जेजस्ता कारणले काम गरे पनि यतिबेला नेपाली खेलकुद तेह्रौँ साग आयोजनाको सँघारमै उभिएको छ। केही दिनअघि नेपालमै सम्पन्न दक्षिण एसियाली ओलम्पिक काउन्सिल र सात वटै राष्ट्रका सेभ दी मिसनको बैठकले समेत हरियो झण्डा देखाएपछि साग हुनेमा कुनै शंका बाँकी रहेन। पूर्वाधार निर्माणको कामसमेत अन्तिम चरणमा पुगिसकेकाले पनि समग्र खेल क्षेत्र निर्धारित समयमै सागको आयोजनाप्रति ढुक्क देखिएको छ। सरकार र खेल नेतृत्वको जुनसकै मानसिकताले काम गरे पनि आँटेको छोटो समयमै डिसेम्बर १ को लक्ष्य भेट्टाउनुमा खेलकुदमन्त्री विश्वकर्मा र राखेप सदस्यसचिव सिलवाल धन्यवादका पात्र बनेका छन्। 

तर, तेह्रौँ सागको आयोजनासँग जोडिएको एउटा अर्काे पक्ष पनि छ। यो प्रतियोगिताको सफलता वा असफलतासँग समग्र राष्ट्रको प्रतिष्ठा जोडिएको छ। यसको सफलताले अन्तर्राष्ट्रिय खेल जगत्मा देशको शिर अझ उच्च बनाउनेछ भने यसको असफलताले राष्ट्रको शिर झुकाउने छ। त्यसैले डिसेम्बर १ तारिखमा हुने उद्घाटन समारोह र १० तारिखमा हुने समापन समारोहको भव्यताले मात्र सागको सफलतालाई चित्रण गर्दैन भन्ने कुरा कसैले भुल्नु हुँदैन। उद्घाटन समारोहपछि पनि हरेक खेललाई व्यवस्थित तरिकाले सञ्चालन गर्नु, खेललाई विवादरहित बनाउनु, विदेशी खेलाडी र पाहुनालाई खेलस्थल र व्यवस्थापनको दृष्टिकोणले गुनासोको मौका नदिनुजस्ता विषय पनि यो प्रतियोगिताको सफलता वा असफलतासँग गाँसिएका हुन्छन्। 

तीन वर्षअघि भारतको गुवाहाटीमा आयोजित बाह्रौँ सागको समापन समारोहमा तेह्रौँ सागको जिम्मेवारी ग्रहण गर्दा एउटा गीत बजाइएको थियो। ‘स्वागतमा हामी हुनेछौँ, बुद्ध जन्मभूमिमाः उभिएको हुनेछ, सगरमाथा सामुमा।’ यो गीतको सार्थकता त्यतिबेला मात्र पूरा हुनेछ जब डिसेम्बर १० मा तेह्रौँ सागको समापन समारोहसँगै विदेशी पाहुना हामीसँग खुशी भएर आ–आफ्नो देश फर्कने छन्।

प्याराग्लाइडिङ अझै अनिश्चित

तेह्रौँ सागमा ह्यान्डबल, जुडो, कबड्डी, खोखो, सुटिङ, स्क्वास, स्विमिङ, टेबलटेनिस, तेक्वान्दो, लनटेनिस, ट्रायथलन, भलिबल, भारोत्तोलन, कुस्ती, उसु, क्रिकेट, प्याराग्लाइडिङ, आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, साइक्लिङ, फिल्ड हक्की, फुटबल, कराँते र गल्फ गरी २७ खेल राख्ने निर्णय यसअघि नै भइसकेको छ। आयोजकको हिसाबले नेपालले कराँते र गल्फ खेल थप्ने निर्णय गरेको हो। बिच भलिबल र थ्री अन थ्री बास्केटबलसमेत जोड्दा यो संख्या २९ पुग्छ। 

तर, नेपालबाहेक अन्य राष्ट्रले नाम दर्ता नगराएपछि प्याराग्लाइन्डिङको सहभागिता अन्यौलमा परेको छ। यद्यपि, सदस्यसचिव सिलवालले प्याराग्लाइडिङमा अन्य देशलाई सहभागी गराउने प्रयास अझै जारी रहेको बताउँदै आएका छन्। प्याराग्लाइडिङ पदकीय दृष्टिकोणले नेपालका लागि महŒवपूर्ण खेल हो। इन्डोनेसियामा सम्पन्न एसियाली खेलकुदमा पनि नेपाललाई एक मात्र रजत पदक यही खेलले दिलाएको थियो। यस पटकको सागमा प्याराग्लाइडिङमा भाग लिए अन्य राष्ट्रका खेलाडी र पदाधिकारीलाई हवाइ टिकटदेखि लिएर अन्य सुविधा उपलब्ध गराउने प्रस्तावसमेत नेपाली पक्षले अघि सारेको छ। तर, प्याराग्लाइडिङको सहभागिता अझै निश्चित भइसकेको छैन।

काउन्टडाउन सुरु

तेह्रौँ सागको काउन्टडाउन सुरु भइसकेको छ। गत शनिबार प्रचार–प्रसार तथा प्रकाशन समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा साग आयोजक समितिका सदस्यसचिवसमेत रहेका सिलवालले यसको औपचारिक घोषणा गरे। सोही अवसरमा सागको प्रोमो र आधिकारिक वेबसाइट पनि सार्वजनिक गरिएको थियो।

कार्यक्रममा सदस्यसचिव सिलवालले सागमा ५० वटा स्वर्ण जित्ने लक्ष्य रहेको दाबी गरे। यसअघि सन् १९९९ मा नेपालमै भएको आठौँ सागमा नेपालले ३१ स्वर्ण जित्दै दोस्रो स्थान हात पारेको थियो। सोही अवसरमा सदस्यसचिव सिलवालले साग खेल सारा नेपालीको गौरवको विषय भएको बताउँदै यसलाई सफल पार्न सबै पक्षसँग अनुरोध गरेका थिए। 

दक्षिण एसियाली ओलम्पिक काउन्सिलका अध्यक्षसमेत रहेका नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नोभेम्बर २० तारिखसम्म खेलाडीको नाम दर्ता गर्ने मिति रहेकाले त्यसपछि मात्र खेलाडीहरूको पूर्ण जानकारी प्राप्त हुने बताए। २० वर्षअघि केवल १२ खेल समावेश गरि आठौँ दक्षिण एसियाली खेलकुद आयोजना भएको थियो। अहिले दोब्बरभन्दा बढी खेल समावेश भएकाले व्यवस्थापन पनि सोहीअनुरूप दोब्बर भएको छ।  

तेह्रौँ सागमा सात देशका तीन हजारभन्दा बढी खेलाडीको सहभागिता रहनेछ। सागका क्रममा सात हजारभन्दा बढी विदेशी खेल पदाधिकारी र पाहुनाको चहलपहल रहने अनुमान गरिएको छ। काठमाडौँसहित पोखरा र जनकपुरमा खेलको आयोजना हुनेछ। काठमाडौँमा २१, पोखरामा नौ र जनकपुरमा एक खेल हुनेछ। फुटबल, भलिबल र क्रिकेटका खेल पोखरा र काठमाडौँमा हुनेछन्। प्रतियोगितामा कुल ३ सय २४ स्वर्ण, ३ सय २४ रजत र ४ सय ८७ कास्य गरी कुल १ हजार १ सय ३५ पदकका लागि प्रतिस्पर्धा हुनेछ। सागको काउन्टडाउन सुरु भएलगत्तै त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा रहेको डिजिटल डिस्प्लेमा सागको प्रोमोको पनि उद्घाटन गरिएको थियो। 

टेलिभिजन प्रसारणमा ऐतिहासिक फड्को 

पहिलो दक्षिण एसियाली खेलकुद (साग) को आयोजना गरेको नेपालले सागको इतिहासमा अर्को कोसेढुंगा पनि थपेको छ। तेह्रौँ सागबाट टेलिभिजन प्रसारण अधिकारसम्बन्धी सम्झौता गरिएको छ। पहिलोदेखि बाह्रौँ सागसम्म टेलिभिजन प्रशारण अधिकार कसैलाई बिक्री गरिएको थिएन। गत सोमबार दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) ले तीन पक्षसँग टेलिभिजन सम्झौतासम्बन्धी पत्रमा हस्ताक्षर गरेको छ। एसएओसी र भारतको टेलिभिजन कम्पनी एनके मिडिया भेन्चर प्रालिबीच प्रसारण अधिकारसम्बन्धी सम्झौता भएको हो।

एसएओसी तथा नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठ र एनके मिडिया भेन्चरका सीएमजी प्रभात रञ्जन मल्लिकले सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौताअनुसार प्रसारण अधिकारबापत उक्त कम्पनीले एसएओसीलाई आठ करोड रुपैयाँ प्रदान गर्नेछ। त्यसबापत एनके मिडियाले सम्पूर्ण खेलको प्रत्यक्ष प्रसारण गर्नेछ। यसै गरी एनके मिडियाले ल्याउने विज्ञापनको ५० प्रतिशत रकम पनि एसएओसीले पाउनेछ। यसअघि टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरेबापत आयोजकले उल्टै पैसा तिर्दै आएको थियो। एनके मिडियाले नेपाली दर्शकका लागि नेपाल टेलिभिजनमार्फत सबैको खेलका प्रत्यक्ष प्रसारण गर्नेछ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.