राष्ट्रपति भण्डारीलाई रामवरणसँग कक्षा लिन विश्वप्रकाशको आग्रह
धरानः नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पूर्व राष्ट्रपति रामवरण यादवसँग कक्षा लिन आग्रह गरेका छन् । प्रेस युनियनले धरानमा गरेको पत्रकार सम्मेलनमा बोल्दै शर्माले सम्मानित पदको गरिमा र भूमिकाकाबारे शिक्षा लिन आवश्यक रहेको भन्दै व्यंग्य गरे ।
'केपी ओली प्रधानमन्त्री रहने, प्रचण्डलाई कार्यकारी अधिकार दिने छलफल बालुवाटारमा कम शीलत निवासमा बढी भएको सुन्यौँ,' उनले प्रश्न गरे, 'राष्ट्रपतिलाई विवादमा पार्ने काम कम्युनिस्ट साथीहरुले किन गर्नुहुन्छ?'
शर्माले राष्ट्रपतिले आफू व्यक्ति होइन संस्था हो भन्ने कुराको हेक्का राख्नुपर्ने सुझाव दिए । प्रवक्ता शर्माले वर्तमान सरकार जिम्मेवारी पूरा गर्न असफल भएको जिकिर गरे । 'यो सरकार असफल भएको भन्ने कुरा प्रधानमन्त्रीले मन्त्रीहरु असफल भए भनेर हटाएबाट पुष्टि भएको छ, 'उनले भने ।
शर्माले कांग्रेस जिम्मेवार प्रतिपक्षी भूमिकामा रहेको भन्दै आगामी सरकारको नेतृत्वका लागि जनताका गुनासा सुनिरहेको जानकारी दिए । धरानको उपनिर्वाचनलाई लक्षित गर्दै हेभिवेट नेताहरु धरान आउने क्रम जारी छ ।