ग्यास बुलेटबाट ग्यास ‘लिक’ भएपछि पथलैया-हेटौंडा सडकखण्ड ठप्प
बारा : रक्सौलबाट नेपाल आउँदै गरेको ग्यास बुलटेबाट ग्यास ‘लिक’ भएपछि त्रिभुवन राजपथको पथलैया-हेटौंडा सडकखण्ड बन्द गरिएको छ।
चालकले ग्यास लिक भएको थाहा पाएपछि ग्यास बुलेट अमलेखगञ्जको तीन र चार नम्बर पुल बीचको जंगलमा रोकेर राखेका छन्। सम्भावित खतरालाई मध्यनजर गर्दै प्रहरीले सडकखण्ड बन्द गरेको इलाका प्रहरी कार्यालय सिमराका डीएसपी गोविन्द पुरीले जानकारी दिए।
प्रहरीले लिक भएको ग्यास बन्द गर्नसक्ने प्राविधिकको खोजी भइरहेको बताएको छ। ग्यास लिक रोक्न नसकेसम्म सडक अवरुद्ध हुने अनुमान गरिएको छ।
प्रहरीले सम्भावित खतरालाई मध्यनजर गर्दै दमकलसमेत तयारी अवस्थामा राखेको छ। पथलैया-हेटौंडा सडकखण्ड ठप्प हुँदा पूर्वबाट राजधानी प्रवेश गर्ने र राजधानी, हेटौंडा, नारायणगढबाट तराई हुँदै पूर्वजाने सवारीसाधन सबै रोकिएका छन्।