कसीमा वाम नेतृत्व

कसीमा वाम नेतृत्व

सही कदम चाल्न सके मात्र सत्तारुढ दल र यसका नेताको देशभक्ति मापन हुनेछ।


माक्र्सदेखि लेनिनसम्मलाई र खासगरी चौथो महाधिवेशनपछि नेपाली कम्युनिस्ट आन्दोलनका केही समूहले माओलाई पनि आफ्नो दार्शनिक स्रोत मान्दै आएका छन्। नेपालमा सत्तारूढ नेकपाले र खासगरी यसका केही नेताले सी चिनफिङ विचारधारालाई प्रत्यक्ष–परोक्ष रूपले स्वीकार गरेको देखिन्छ। हालै, पहिलो प्रशिक्षण भन्दै पार्टी केन्द्रीय सदस्यसम्मलाई र पछि बजारिया टीकाटिप्पणीसित हच्किएर विचार आदानप्रदानका अन्तरक्रिया भनिएको द्विपक्षीय कार्यक्रम र सीको उच्च मूल्यांकन गरेको परिदृश्यले सी विचारधाराले नेपाली सत्तारूढ दलका आँखामा आधिकारिकता पाएको अर्थमा कार्यकर्ता विश्वस्त भएका देखिन्छन्।

चीनले विभिन्न देशमा वैज्ञानिक माक्र्सवादको समाजवादी प्रयोग आआफ्नो परिस्थितिअनुसार फरक हुने बताउँदै आएको छ र त्यही अवधारणाभित्र रहेर सी विचारधारालाई पनि चीनको विकासको ऐतिहासिक परिवेशसित जोडेको छ। चीनले अर्काको आन्तरिक राजनीतिमा हात नहाल्ने र मुख्यतः सत्तासितै सम्बन्ध स्थापना गर्ने प्रचलन देखेका नेपाली नेतालाई पूजा गर्ने क्रममा ‘साँच्चै ड्रागन आएको’ कहानीप्रति विश्वास थिएन होला, तर यसपालि स्थिति अलि फरक बन्यो। ‘दुवै देशमा कम्युनिस्ट सरकार’ रहेकोमा जोड दिँदै यसमार्फत पार्टीस्तरमा सम्बन्ध विस्तार गरी घरेलु फाइदा लिने दाउमा सत्तारूढ दल देखिएको बेलामा राष्ट्रपति सीको बहुप्रतीक्षित नेपाल भ्रमण सम्पन्न भयो। नेपालप्रति सहयोगी हात फैलाउनुका साथै उनले नेपाली नेताहरूलाई आचरण सुधारको सुझाव पनि दिए।

नेपाली जनता आफ्नो कुराको सुनुवाइ नभए पनि सीका कुरा हाम्रा नेताले कसरी अस्वीकार गर्दा रहेछन् भन्दै यो मुद्दा दरोसित उठाउने मौका यही हो भन्ने रणनीतितिर लागेको देखिन्छ।

नेपाली वाम आन्दोलन मूलतः यथास्थितिवादी, अमूर्त सुधारवादी जनवादी र अमूर्त नयाँ जनवादी क्रान्तिकारी तीन धारमा विभाजित छ। सत्तारूढ दल पुराना यथास्थितिवादीहरूले काम गर्न नदिएको तर्क त राख्छ, तर आचरणमा परम्परागत शक्तिभन्दा सफा, निःस्वार्थी, मितव्ययी, परि श्रमी, जनतासित मिलनसार देखिन सकेको छैन। सुधारवादी जनवादीहरूलाई सैद्धान्तिक पुठ त मिलेको छ, तर सांगठनिक रूपमा त्यो यति खिइएको वा ठूला दलभित्र यथास्थितिवादीद्वारा थिचिएको छ कि त्यसको आवाज सडक र सामाजिक सञ्जालबाट मात्र उठ्न सक्छ। नयाँ क्रान्तिकारी धारले फाइदा लिन कोसिस गर्न सक्छ, तर चीनको आर्थिक–सामाजिक व्यवस्था उसको कल्पनासित मेल खाँदैन।

व्यक्तिगत चरित्रसित जोडिएका सबाल

नैतिक संकट भारतीय नेता नरेन्द्र मोदीले पनि ल्याइदिएका छन्। सत्ताको फाइदा आफ्नी आमा र दाजुभाइलाई नरेन्द्रले मात्र नबाँड्ने हैन, मोदी परिवारको कुनै पनि सदस्य नरेन्द्रको शक्तिको आडमा फाइदा लिन मान्दैनन्, प्रधानमन्त्री निवासमा सयर गर्न जाँदैनन्। इमरान खानले पाकिस्तानी प्रधानमन्त्री बनेपछि अफिसमा साबिक ५२४ जनाबाट घटाएर आफ्ना लागि दुईजना सहयोगी मात्र राख्ने, ३३ वटा बुलेटप्रुफ गाडीबाट घटाएर दुईवटा मात्र राखी अरू बेच्ने, अमेरिका जाँदा होटेलमा हैन, दूतावासमा बस्नेजस्ता जनप्रिय काम गरेका छन्। नेपाली जनता नेदरल्यान्डेली प्रधानमन्त्री मार्क रुट साइकल चढेर राजा भेट्न गएको, न्युजिल्यान्डकी महिलामन्त्री जुली आन जेन्टर सुत्केरी हुन साइकल चढेर अस्पताल गएको, मालाविकी पहिलो महिला राष्ट्रपति ज्वाइस बान्डाले आर्थिक सुधारका लागि जेट विमान र साठी वटा मर्सिडिज गाडी बेचेको, डेनमार्कका प्रधानमन्त्री लार्स लोकी रास्मोसेन कार्यकाल सकिएपछि झोला बोकेर एक्लै निवासबाट बाहिरिएको जस्ता सादगीका प्रशंसा गर्दैछन्।

आर्थिक विकासको मुद्दा त बरु दीर्घकालीन हो भन्दा केही समय किन्न सकिन्थ्यो तर आचरणकै बारेमा उठेको कुरा टार्न सकिन्न।

यी सबैको उद्देश्य एउटैजस्तो हुन पुगेको छ– नेपाली राजनीतिक नेता पनि मितव्ययी र सादगी बन, आफन्त र आसेपासेको हितमा देशको सम्पत्ति खर्च नगर आदि। कतिपयले त विदेश जाने, सुखसयल गर्ने, ठूला घर भाडामा लिने रकमको स्रोत माग्न थालेका छन्। यी सबै कुरा नेपाली वाम सरकारको नेतृत्वलाई सचेत गराउँदैछन्। फालिएको राजतन्त्र, नेपाली कांग्रेस वा त्यस्तै कसैको आचरणलाई देखाएर जनता चित्त बुझाउनेवाला छैनन्। भनिहाल्छ– त्यस्तो आचरण चित्त नबुझेर त तिमीलाई चुनाव जिताएको !

आर्थिक विकासको मुद्दा त बरु दीर्घकालीन हो भन्दा केही समय किन्न सकिन्थ्यो। आचरणकै बारेमा उठेको कुरा टार्न सकिन्न। सत्तामा पुग्न नपाएका दोस्रो पुस्ताका नेतामा एक किसिमको बेचैन सिर्जना भएको देखिन्छ। एकातिर वाम आन्दोलनको छवि पहिलो पुस्ताले नै धमिलो बनाइदियो भने आफू सत्तामा पुग्नै नपाइने डर छ, अर्कातिर दलीय स्वार्थ र दलभित्रै आफ्नो स्थान सुरक्षित गर्नका लागि शक्तिमा भएका नेतासित मित्रता राख्नैपर्ने बाध्यता। अहिले सबैभन्दा द्विविधामा परेको वर्ग यही हो।

जनमत निर्माण गर्ने, आफ्नो वैचारिक छवि देखाउने अभिप्रायले बहुप्रचारित माओका भनाइ ‘जनताबाट एउटा सियो र धागोको टुक्रासम्म पनि नलेऊ’, सीको भनाइ ‘सम्पत्तिको लोभ गर्नेहरूले कम्युनिस्ट पार्टीको राजनीति गर्न सक्दैनन्’, ‘जनताको मन जित्न र राज्य सञ्चालन गर्न सबैभन्दा महŒवपूर्ण कुरा पार्टीभित्रको अनुशासन र सुशासन हो’ मुख्यतः वाम जनमत र साथै स्वच्छ छविमा विश्वास गर्ने धेरै नागरिकले सरकार र सत्तारूढ दलका नेतालाई सुधार्ने र घुक्र्याउने हतियारका रूपमा दोहोर्‍याइरहेका देखिन्छन्। सामाजिक सञ्जालमा यी अभिव्यक्ति देख्दा नेतृत्वले राम्रो गरे आउँदो चुनावमा वाममत मतपेटिकामा पस्ने, चित्तबुझ्दो विकल्प नपाए जनआन्दोलनमा वा जनक्रान्तिमा बदलिन सक्ने पनि देखिन्छ।

भारतीय नक्साले ल्याएको चुनौती

देशभक्ति संसारभरि रहेका नेपालीको रगतमा छ र सोचमा छ। भारत सरकारले नेपालमाथि चलाउँदै आएको हैकम, बलमिच्याइँ, नाकाबन्दी, नेपालका क्षेत्रीय र जातीय आन्दोलनप्रतिका व्यवहार, नेपाली प्राकृतिक स्रोतमाथि एकाधिकार कायम गर्ने सोच, सीमाक्षेत्रका वासिन्दालाई दिएको दुःख, सीमामिचाइ आदि कारणले नेपाली जनतामा भारतप्रति नकारात्मक सोच त छँदै थियो, त्यसमाथि भारतले हालै नेपालका कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत क्षेत्रलाई आफ्नो सीमाभित्र राख्दै बनाएको नक्सा सार्वजनिक गरेपछि नेपालीले राष्ट्रमाथि ठूलो ज्यादतीका रूपमा लिएका छन्।

सरकारले भारतीय नक्सा नेपाललाई मान्य नभएको बताउँदै भारतीय कदमबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाएको सर्वपक्षीय बैठकमा सहभागी सबैले प्रधानमन्त्रीलाई ठोस प्रमाणसहित भारतसित प्रधानमन्त्री तहमै संवाद गर्न आग्रह गरेका छन् र नेपालका भूभाग फिर्ता ल्याउन सरकारले गर्ने हरेक पहललाई साथ, सहयोग र समर्थन रहने कुरा बताएका छन्।

भारतसितको सीमा समस्या अहिले फेरि एकपटक बहसको चुलीमा छ। यो समस्या हल गर्नमा सरकार देशभित्र कस्तो राजनीतिक नीति अपनाउँछ र अन्तर्राष्ट्रिय रूपमा कस्तो कूटनीतिक भूमिका निर्वाह गर्छ, सर्वपक्षीय समर्थनलाई राष्ट्रिय हितमा उपयोग गर्न सक्छ कि सक्दैन भन्ने कुराले सत्तारूढ दल र यसका नेताको देशभक्ति मापन गर्नेछ। सही कदम चाल्न सके सरकारका लागि आफ्नो खुबी देखाउने यो एउटा अवसर पनि हो, अन्यथा यो चुनौतीमै सीमित रहन पनि सक्छ।

आन्तरिक र बाह्य सबालमा जनभावना बुझ्नु, सोअनुरूप निर्मम आत्मसमीक्षामा जुट्नु, आफ्नो आचरण सुधार्नु, राष्ट्रहित र जनताको जीवनस्तर उकास्नका लागि फराकिलो दृष्टिकोण राख्नु, नेतृत्व र वरिपरिका सल्लाहकार, व्यक्तिगत सचिव, नातेदार, उठबसका व्यापारीको चालचलन, लोभ र व्यभिचारप्रति खरो उत्रिनु सबैभन्दा ठूलो दल हुनु र सत्ता सम्हाल्नुको नाताले सत्तारूढ नेकपाको दायित्व हो। यसो गर्नाले नेपाली वाम आन्दोलनले तत्कालीन अप्ठ्यारोको सामना गर्न सक्ने देखिन्छ।

—रेग्मी त्रिभुवन विश्वविद्यालयका प्राध्यापक हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.