विद्युत् चोरीपछि गाउँ नै ‘ब्ल्याकआउट’
कपिलवस्तु : कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ को छपियागाउँलाई नेपाल विद्युत् प्राधिकरण तौलिहवा शाखाले विद्युत् सप्लाई कटौती गरी ‘ब्ल्याकआउट’ गरेको छ। छपिया गाउँका प्राय घरमा विद्युत् चोरी गरेको भेटिएपछि चुहावट नियन्त्रणका लागि गाउँलाई नै ब्ल्याकआउट गरिएको प्राधिकरणले जनाएको छ।
विद्युत् चुहावट नियन्त्रणको नियमित कार्यक्रम अन्र्तगत बुधबार राति प्राधिकरणका कर्मचारीहरू छपिया पुगेका थिए। गाउँका स्थानीय नेता मोहम्मद युनुस खानको घर र उनको अगाडिको घरमा विद्युत् चोरी गरेको भेटाएका थिए। प्राधिकरणका कर्मचारीहरूले मिटर खोलेर विद्युत् कटौती गर्दै गर्दा गाउँलेको ठूलो समूहले विद्युत् कर्मचारीहरूलाई कुटपिटसमेत गरेका छन्।
कर्मचारीहरू प्रवीण आचार्य, हरिशचन्द्र मि श्रा, शिवलोचन यादव, राजेश पाण्डे लगायतमाथि हातपात र दुव्र्यवहार भएको प्राधिकरणले जनाएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीसमेत सहयोगमा विद्युत् चोरी नियन्त्रण गर्न खोज्दा गाउँका पूरै सर्वसाधारण विरोधमा उत्रिएको प्राधिकरणका प्रमुख जयकुमार यादवले बताए। ‘गाउँका करीब ३ सय बढी सर्वसाधारण कर्मचारीविरुद्ध उत्रिएपछि हाम्रो प्रयास सफल भएन,’ शाखा प्रमुख यादवले भने, ‘गाउँका अधिकांश घरमा चोरी गरेर विद्यत् उपभोग गरेको सूचना प्राप्त भएको छ। त्यही जाँच गर्न खोज्दा कर्मीचारीमाथि नै हातपात भयो।’
सुरक्षाकर्मीसहित चुहावट नियन्त्रणको प्रयास गर्दा आक्रमण गरिएको घटनाप्रति प्राधिकरणको गम्भिर ध्यानआकर्षण भएको कार्यालयले जनाएको छ। कर्मचारी कुटपीट गर्नेउपर कारबाही र पूरै गाउँलाई चुहावट नियन्त्रण नगरेसम्म विद्युत् लाइन सप्लाई रोक्ने प्रमुख यादवले बताए। प्राधिकरणको तौलिहवा शाखा अन्र्तगत गत आर्थिक वर्षको असार मसान्तसम्म विद्युत् चुहावटको दर ३२ बाट २२ प्रतिशतमा झारेको जनाएको छ।