बालबालिकाको रुचि बुझ्न सक्नुपर्छ

बालबालिकाको रुचि बुझ्न सक्नुपर्छ

स्कुल पढ्दा मलाई टेनिस निक्कै मन पथ्र्यो। टेनिस भनेपछि हुरुक्कै हुन्थेँ। त्यसबेलाका टेनिस स्टार जोन म्याकइरिनको खेल मलाई धेरै मन पथ्र्यो।


मेरो जन्म सन् १९७३ अप्रिल २४ मा भारतको मुम्बईमा भएको हो। मेरा बुवा रमेश तेन्दुल्कर र आमा रजनी तेन्दुल्कर हुनुहुन्छ। बुवा चर्चित मराठी उपन्यासकार हुनुहुन्थ्यो। आमा बिमा कम्पनीमा काम गर्नुहुन्थ्यो। बुवा संगीतकार सचिन देव बर्मनका ठूला प्रशंसक हुनुहुन्थ्यो। त्यसैले उहाँले आफूलाई मनपर्ने संगीतकारकै नामबाट मेरो नाम जुराइदिनु भएको हो।

म बाल्यकालमा निकै चञ्चले र झगडालु थिएँ। हरेक दिनजसो कुनै न कुनै झगडामा फसिरहेको हुन्थेँ। स्कुलमा नयाँ विद्यार्थी आउनासाथ उसलाई धम्क्याउन र पिट्न थालिहाल्थेँ। त्यसैले हरेक दिनजसो स्कुलमा शिक्षकहरूबाट गाली खानुपथ्र्यो। अघिल्लो दिन खाएको गाली भोलिपल्ट बिर्सिहाल्थेँ र साथीहरूसँग झगडा गरिहाल्थेँ। मेरो विषयलाई लिएर घरमा पनि धेरै पटक बुवाआमाबीच झगडा भएको छ। शिक्षकहरूले घरमा पोल लगाइदिएपछि बुवा मलाई कुट्न खोज्नुहुन्थ्यो। आमालाई बचाउनकै सास्ती हुन्थ्यो।

निकै चकचक गर्दा एक पटक ठूलै दुर्घटनाबाट बाँचेको याद अहिले पनि आइरहन्छ। खेल्दाखेल्दै मेरो घाँटी घरको बरन्डाको रेलिङमा अड्किएको थियो। रेलिङबाट घाँटी फुस्काउन निकै प्रयास गरें तर सकिनँ। घरका मानिस आ–आफ्नै काममा व्यस्त भएकाले केही घण्टासम्म रेलिङमै फसिरहेँ। त्यसबेला मेरो अवस्था देखेर सबैजना डराएका पनि थिए। लामो प्रयासपछि मात्रै मलाई सकुशल उद्धार गरिएको थियो। यस घटनापछि म कहिले पनि रेलिङको छेउछाउ नै परिनँ। कौसीमा हिँड्दा पनि डराइडराई हिँड्थेँ।

स्कुल पढ्दा मलाई टेनिस निक्कै मन पथ्र्यो। टेनिस भनेपछि हुरुक्कै हुन्थेँ। त्यसबेलाका टेनिस स्टार जोन म्याकइरिनको खेल मलाई धेरै मन पथ्र्यो। उनका बारेमा शिक्षकहरूले पनि चर्चा गर्नुहुन्थ्यो। उनका पोस्टर र पोस्टकार्ड भेटे जति संकलन गर्थेँ। टेनिसमा उनी नै मेरा आदर्श व्यक्ति थिए। आफू पनि उनीजस्तै खेलाडी बन्छु भन्ने सोच्थेँ।

तर, सन् १९८४ मा दाइ अजितले क्रिकेट खेलसँग घुलमिल गराए। त्यसबेला मलाई क्रिकेटका बारेमा केही पनि थाहा थिएन। दाइले जबर्जस्ती क्रिकेट खेल्न लगाए। क्रिकेट खेलेर म सुध्रिन्छु कि भनेर दाइले क्रिकेट खेल्न जोड दिएका थिए। मेरो ध्यान टेनिसमा थियो। त्यही कारण लामो समयसम्म क्रिकेटमा खासै ध्यान दिइनँ। तर, दाइले पनि हार मानेनन्। उनले मलाई रमाकान्त अर्चेकरकहाँ लिएर गए। रामाकान्त क्रिकेटका चर्चित प्रशिक्षक थिए। उनले मलाई ब्याटिङ र बलिङ दुवै गर्न लगाए। मेरो खेल उनलाई मन परेन। उनले मन नपराएपछि म भने निकै खुसी भएँ। क्रिकेट छाडेर टेनिस नै खेल्न पाइने भयो भनेर खुसी भएको थिएँ।

अर्चेकरले मन नपराएपछि दाइले आफ्नो क्षमताअनुसार कौशल देखाउन नसकेको भन्दै गाली पनि गरे। अजितले भाइलाई अर्को एक मौका दिन अर्चेकरसँग अनुरोध गरे। अर्चेकरले अर्को मौका दिन तयार भए। तर पहिलेजस्तो हेलचेक्र्याइँ नगर्न निर्देशन पनि दिए। त्यसपछि मेरो दैनिकी फेरियो। दाइले हरेक दिन क्रिकेट सिकाउन थाले। म ब्याटिङ गर्दा कहिलेकाहीँ टेनिसमा जसरी सट हान्थेँ। क्रिकेटमा हेलचेक्र्याइँ गरेपछि धेरै पटक दाजुको पिटाइ पनि खाएँ। दाइले हाम्रो देश (भारत) मा टेनिसमा भन्दा क्रिकेटमा भविष्य राम्रो रहेको भन्दै धेरै सम्झाए। क्रिकेटमै मेहनत गरेर राम्रो खेलाडी बन्न हौसला दिए। दाइको लगातारको दबाबपछि म क्रिकेटमै समर्पित भएँ। मन नलागेर खेले पनि छोटो समयमै राम्रो प्रगति पनि गरेँ। त्यसपछि दाइले फेरि अर्चेकरकहाँ लिएर गए। यसपटक प्रशिक्षक अर्चेकर मेरो खेल देखेर निकै प्रभावित हुनुभयो। तुरुन्तै आफ्नो एकेडेमीमा भर्ना पनि गरिदिनु भयो।

एकेडेमीमा भर्ना भएपछि मैले घण्टौंसम्म अभ्यास गर्न थालेँ। मलाई कसले आउट गर्ने भनेर साथीहरूबीच झगडा नै चल्थ्यो। एकेडेमीमा बस्दा मेरो खेल निकै राम्रो भयो। सन् १९८७ मा भारतको प्रतिष्ठित रनजी ट्रफीका लागि मुम्बईबाट छनोट पनि भएँ। तर लामो समयसम्म प्लेइङ सेटमा स्थान बनाउन सकिनँ। सन् १९८८ मा गुजरातविरुद्धको खेलमा भने अवसर पाएँ।

म आफूलाई भाग्यमानी ठान्छु कि मैले पहिलो घरेलु प्रतियोगितामै शतक बनाएँ। त्यसपछि मलाई बधाईको ओइरो नै लाग्यो। सबैले स्याबासी पनि दिए। उनीहरूले अझै राम्रो खेल्न प्रेरणा र हौसला पनि दिए। घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकै कारण सन् १९८९ मा पाकिस्तानविरूद्धको टेस्ट टोलीमा छनोट हुन सफल भएँ। मलाई लिएर छनोटकर्ताको निकै आलोचना पनि भयो।

सानो उमेरमै टेस्ट टोलीमा समावेश गरेको भन्दै त्यसबेलाका प्रमुख चयनकर्ता राजसिंह डुङ्गरपुर निकै आलोचित बने। तर, उनले मलाई बाहिर कुरामा ध्यान नदिन र आफ्नो खेलमा केन्द्रित हुन सुझाव दिए। १५ वर्षको उमेरमा टेस्ट टोलीमा छनोट भएको मैले पहिलो खेलमा १५ रन मात्र बनाउन सकेँ। पाकिस्तानका फास्ट बलर वाकर युनिसको बलले नाकमा लागेर घाइते भएँ। नाकबाट लगातार रगत बगिरहँदा पनि त्यसको पर्वाह नगरी खेलमै केन्द्रित भएँ। ड्रेसिङ रूपमा मेरो सबैले प्रशंसा गरे।

मैले पहिलो अन्तर्राष्ट्रिय शतक न्युजिल्यान्डविरुद्ध बनाएको थिएँ। आक्रामक ब्याटिङ गरेको मैले एक सय १७ रन बनाएर शतकको खाता खोलेको थिएँ। यसबेला म १६ वर्षको मात्र थिएँ। न्युजिल्यान्डविरुद्धको शतकपछि मैले कहिल्यै पछाडि फर्किनु परेन। लगातार राम्रो खेलेकै कारण सबैले ‘मास्टर ब्लास्टर’को उपमा दिए। जुन मेरो अहिले परिचय बनेको छ।

नेपाल आउन पाउँदा मलाई निकै खुसी लागेको छ। यो देश भगवान् पशुपतिनाथको देश हो। सगरमाथाको देश हो। अझ महत्त्वपूर्ण कुरा बालबालिकासम्बन्धी महासन्धिमा हस्ताक्षर गर्ने महत्त्वपूर्ण राष्ट्रमध्येको एक देश नेपाल हो। मलाई के कुरामा खुसी लागेको छ भने विगतको तुलनामा बालबालिकाको अवस्थामा निकै सुधार आएको छ।

संयुक्त राष्ट्रसंघबाट बालअधिकारसम्बन्धी महासन्धि पारित भएको ३० वर्ष पुगेको उपलक्ष्यमा युनिसेफले सुन्दर देशमा आमन्त्रण गरेकोमा युनिसेफप्रति पनि आभार व्यक्त गर्दछु। युनिसेफले दक्षिण एसिया क्षेत्रको सद्भावनादूत बनाएकै कारण आज तपाईहरूको माझमा आउन पाएको छु। अझ तपाईंहरूसँगै क्रिकेट खेल्न पाउँदा निकै खुसी लागेको छ।

हामीले आफ्ना बालबालिकालाई के बनाउनेभन्दा पनि उनीहरू के बन्न चाहन्छन् भनेर सबैभन्दा पहिले उनीहरूको रुचि बुझ्न आवश्यक छ। सकेसम्म उनीहरूको रुचिअनुसार नै उनीहरूलाई आफ्नो काम गर्न दिनुपर्छ। होइन भने पनि राम्रासँग सम्झाउन सक्नुपर्छ।

सानो छँदा म टेनिस भनेपछि हुरुक्क हुन्थेँ। टेनिसमा भन्दा राम्रो अवसर क्रिकेटमा छ भनेर मेरो दाइले राम्रोसँग सम्झाएकै कारण म अहिलेको अवस्थामा आइपुगेको हुँ। यसमा मेरो दाइसँगै आमाबुवाको भूमिका पनि उत्तिकै छ। त्यसैले अभिभावकले बालबालिका के गर्न चाहन्छन् भन्ने कुरा बुझ्नुपर्छ। मेरो अभिभावकले बाल्यकालमा क्रिकेट नखेल भन्नुभएको भए आज म यहाँ पुग्ने थिइनँ।

(गत कात्तिक ३० गते कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा संयुक्त राष्ट्रसंघबाट बालअधिकारसम्बन्धी महासन्धि पारित भएको ३० वर्ष पुगेको उपलक्ष्यमा युनिसेफ नेपालले आयोजना गरेको बालबालिकासँगको मैत्रीपूर्ण खेलका क्रममा विश्व क्रिकेटका महान् हस्ती सचिन तेन्दुल्करले व्यक्त गरेका विष्णु थापाको प्रस्तुतिमा।)
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.