निर्वाचन विरोधी गतिविधिमा संलग्न समूह पक्राउ
धरान : आगामी मंसिर १४ गते हुने धरान उपमहानगरपालिकाको उपनिर्वाचनको विरोध गर्दै पर्चा पमप्लेट बाँड्दै हिँड्ने ९ जनाको समूहलाई धरान प्रहरीले पक्राउ गरेको छ । धरानको उपनिर्वाचन बहिष्कार गरौं भन्दै विरोधमा उत्रिनेमा सिपि गजुरेल अध्यक्ष रहेको देशभक्त जनगणतान्त्रिक मोर्चाका कार्यकर्ता रहेका छन् ।
धरानको छाता चोकमा भेला भई उपनिर्वाचन बहिष्कारको योजना बनाई सर्वसाधारणलाई आत्तंकित पार्न सक्रिय रहेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले बताए ।
पक्राउ पर्नेमा मोर्चाका केन्द्रीय सदस्य उदयपुरका टिकाराम राई, धरानका पारक लिम्बू, मोहन लिम्बू, प्रदेश सदस्य पदम तामाङ, गौरव राई, झापाका जय आचार्य, धरानका पारस लिम्बू, रामबहादुर पौडेल, इटहरीका सन्तोष ठाकुर रहेको पोखरेलले जानकारी दिए।
पक्राउ परेका सबैलाई सोमबार अभद्र व्यवहार ऐनअन्तर्गत मुद्धा दर्ता गरी कारवाही अगाडी बढाइएको छ । धरानमा उपनिर्वाचन विरोधि समूहको सक्रियता बढेपछि धरानका २० वटै वडामा व्यापक प्रहरी परिचालन गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डिराज न्यौपानेले बताए।