रामधुनी मन्दिरमा शतबीज छर्नेको घुइँचो (भिडियाे)
सुनसरीः दिवंगत पितृको सम्झनामा शतबीज छर्न सुनसरीको रामधुनी मन्दिरमा हरेक वर्षझैं यो वर्ष पनि तीर्थालु भक्तजनको घुइँचो लाग्यो । बालाचतुर्दशीको अवसरमा रामधुनी नगरपालिका ४ मा अवस्थित मन्दिरमा सोमवार शतबीज छर्न एक लाखभन्दा बढी भक्तजन आएका मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष डिल्ली कार्कीले जानकारी दिए।
पूर्वपश्चिम राजमार्गको झुम्का बजारबाट ७ किलोमिटरको दुरीमा रहेको मन्दिरमा बालाचतुर्दशीको अघिल्लो बेलुका भक्तजन मन्दिर पुगि भजनकीर्तन गरेर जागा बस्ने परम्परा छ । बालाचतुर्दशी, शिवरात्रि, रामनवमीलगायत महत्वपूर्ण पर्वमा यहाँ मेला लाग्ने गर्छ। नेपालको पूर्वी भेगका विभिन्न स्थानबाट तीर्थाहरु आउने गर्छन् भने भारतीय तीर्थालुको समेत भीडभाड भएको देखिन्छ ।
त्रेतायुगमा भगवान् राम यहि स्थानमा आएर वनबास बसेको किंवदन्ती छ। त्यसबेला भागवान् रामले बालेको मानिएको आगो (धुनी) अहिलेसम्म पनि बलिरहेको छ। साथै, मन्दिरपरिसरमा रथको पांग्रा, इनार, सीताले प्रयोग गरेको जाँतोलगायत महत्वपूर्ण ऐतिहासिक वस्तुहरु समेत यहाँ देख्न सकिन्छ ।
पर्यटकीयक केन्द्र बनाउँदै स्थानीय सरकार
नगरपालिकाले यस क्षेत्रलाई धार्मिक पर्यटकीय केन्द्रको रुपमा विकास गरि अर्थ उपार्जन गर्ने योजना बनाएको छ । नगरप्रमुख जयप्रकास चौधरीले यो आर्थिक वर्षमा मन्दिरको संरक्षण र स्तरोन्नतीका लागि ५० लाख बजेट छुट्याएको जानकारी दिए । 'यो धार्मिक ऐतिहासिक महत्वको क्षेत्र भएकाले यहाँसम्म पुग्ने सहज सडकमार्गसँगै व्यवस्थित मन्दिर बनाउने नगरालिकाको लक्ष्य छ,' चौधरीले भने ।
उनका अनुसार हिउँद याममा पिकनिकका लागि आउने पर्यटकका लागि व्यवस्थित पिकनिक स्पट बनाइँदै छ । त्यस्तै मन्दिर नजिकै भएर बग्ने सुनसरी खोलामा व्यवस्थित मुक्तिघाटको निर्माण समेत गरिएको छ । नगरपालिका भित्रका स्थानीयको सक्रियतामा गठित जनसरोकार मञ्चको सहभागीतामा नगरपाकिाले यहि मंसिर १५ गते मन्दिर परिसरमा अष्टचिरञ्जिविको मूर्तिसमेत शिलान्यास गर्ने कार्यक्रम रहेको मेयर चौधरीले जानकारी दिए ।