धरान उपनिर्वाचन : १६० सशस्त्र, ७९० जनपथ प्रहरी र सेना परिचालन गरियो
धरान : मंसिर १४मा उपनिर्वाचनको सुरक्षाका लागि धरान उपमहानगरपालिकामा सेना परिचालन गरिएको छ। इटहरीको नम्बर १ राजदल गण र मोरङको याङ्शिलास्थित कालिशक्ती गणबाट निर्वाचन सुरक्षाका लागि यहाँ सेना परिचालन गरिएको हो।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र बृहत् जनवादी जनगणतान्त्रिक मोर्चाले यहाँ हुने उपनिर्वाचन बहिस्कार गर्ने घोषना गरेपछि धरानको शान्ति सुरक्षा मजबुत बनाउन सोमबारदेखि धरानका २०वटै वडामा सेना परिचालन गरिएको छ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले धरानमा हुन लागेको उपनिर्वाचन सफल बनाउनका लागि आवश्यकता अनुसार सेना, १६० सशस्त्र प्रहरी र ७९० जना जनपथ प्रहरी परिचालन गरिएको जानकारी दिएका छन्।
धरानमा रिक्त रहेको उपमहानगरपालिकाको मेयर र वडा-७को अध्यक्ष पदको निर्वाचन सफल बनाउनका लागि सेनाले धरानको पाहाडी क्षेत्र ठिंगावारी, विष्णुपादुका, हर्दिया, क्षेत्रमा समेत गस्ती सुरु गरेको छ। निर्वाचन विरोधी गतिविधि नियन्त्रण गर्नका लागि निर्वाचन अवधिभर सेना लगायतका सुरक्षाकर्मीहरु परिचालन गरी मतदाताहरुलाई पूर्ण शान्ति सुरक्षाको व्यवस्था गरिएको प्रजिअ पौडेलले बताएका छन्।