मेयर जिताउन केन्द्रैदेखि कसरत
धरान : उपनिर्वाचन नजिकिँदै जाँदा धरान उपमहानगरपालिकामा राजनीतिक दलले चुनाव प्रचार अभियान तीव्र पारेका छन्। धरान उपमहानगरको प्रमुखका लागि हुने उपचुनावलाई सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्ष कांग्रेस नेतृत्वले समेत महत्वका साथ लिएपछि चुनावी माहोल तातिएको छ।
मंसिर १४ गते धरान उपमहानगरको प्रमुख (मेयर) र वडा नम्बर ७ को अध्यक्षको उपचुनाव हुँदैछ। उपमहानगर प्रमुखका लागि नेकपाका प्रकाश राई, कांग्रेसका तिलक राई, समाजवादीका गजेन्द्र लिम्बू, संघीय लिम्बुवान मञ्चबाट अमर इजम र साझा पार्टीका राजन श्रेष्ठसहित २३ जनाको उम्मेदवारी परेको छ। १० जना स्वतन्त्र र वडा नम्बर ७ को अध्यक्षमा ४ जना उम्मेदवार रहेको मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले जानकारी दिए।
नेकपाका उम्मेदवारलाई यस पटक धेरै कसरत गर्नु पर्ने भएको छ। तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रबीच एकता भए पनि मेयरको निधनपछि उपमेयर मञ्जु भण्डारीले काम गर्न नसकेपछि नेकपाकै कार्यकर्तासमेत असन्तुष्ट छन्। नेकपा अहिले आफ्नै असन्तुष्ट कार्यकर्ता र मतदाता रिझाउन लागि परेको छ।
कांग्रेस पनि नेकपासँग असन्तुष्ट मतदाता फकाउन लागि परेको छ।
कांग्रेसले साना दलसँग सहमति गरि आफ्ना उम्मेदवारलाई सघाउने समझदारी गरेको छ। राजनीतिक विश्लेषक प्राडा. राजेन्द्र शर्मा पनि नेकपा र कांग्रेस उम्मेद्वारबीच कडा प्रतिस्पर्धा हुने बताउँछन्। संगठन बलियो रहेको नेकपाविरुद्ध कांग्रेसले साना दल र असन्तुष्ट मतदाता फकाउन सके चुनाव निकै रोचक बन्ने उनको ठम्याइ छ।
तत्कालीन माओवादीलाई टिकट नदिएकाले नेकपाभित्र तीव्र असन्तुष्टि छ।
त्यसैले चुनाव जित्न नेकपालाई आफ्नै कार्यकर्ताको ठूलो डर छ। नेकपा सुनसरीका सचिव रमेश बस्नेत दुई पार्टीको एकीकरण र मजबुत संगठन नै नेकपाको चुनाव जित्ने बलियो आधार रहेको बताउँछन्। नेकपा उम्मेदवार प्रकाशले धरानको विकासमा पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीदेखिकै ठूलो योगदान गरेकाले कांग्रेसलाई सजिलै पराजित गर्ने बताए।
नेकपासँग असन्तुष्ट मतदाता र साना दलले कांग्रेस उम्मेदवारलाई मत हाल्ने हो भने कांग्रेसलाई चुनाव जित्न केही सहज हुनेछ। तर कांग्रेसमा पार्टीभित्रैबाट अन्तर्घात हुनसक्ने डर पनि उत्तिकै छ। कांग्रेसबाट मेयरका प्रत्यासी तिलक साना दल र नेकपासँग असन्तुष्ट मतदाताको भोटले जित्ने दाबी गर्छन्।
नेकपाले उल्लेखनीय काम गर्न नसकेकाले मतदाताले परिवर्तन चाहेको उनको भनाइ छ।
वडा नम्बर ७ को वडा अध्यक्षमा पनि नेकपा र कांग्रेसबीच नै प्रतिस्पर्धा हुनेछ। यहाँ नेकपाले जीवनराज सुवेदी र कांग्रेसले सुवर्णमोहन पलिखेलाई उम्मेदवार बनाएको छ। धरानमा ९२ हजार ८ सय ५३ मतदाता छन्।
नतिजा आफ्नो पक्षमा पार्न नेकपा र कांग्रेसका शीर्ष नेता आएर आश्वासन बाँड्दै भोट माग्न थालेपश्चात धरानको उपचुनावलाई महत्वका साथ हेरिएको छ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य महेश आचार्य, शेखर कोइराला, विश्वप्रकाश शर्माले चुनाव प्रचार गरेका छन्। नेकपाका प्रदेश १ इन्चार्ज भीम आचार्य, पोलिटब्युरो सदस्य सावित्री काफ्ले, केन्द्रीय सदस्य राजन राई, धर्म निरौला, रामकुमार राई, हिमाल राई, युवा संगठनका केन्द्रीय अध्यक्ष दीपशिखा मतदाताको घरदैलोमा पुगेका छन्।