हिंसामा विपन्न किशोरी

हिंसामा विपन्न किशोरी

जनकपुरधाम : गत बैशाखमा धुनषाकी १४ वर्षीया एक किशोरीको आफूभन्दा ७ वर्ष जेठो केटासँग बिहे गरियो। आर्थिक अवस्था कमजोर भएकाले परिवारको दवावमा उनले बिहे गरिन्। बिहे भएको चार महिनापछि घरमा कोही नभएको मौका छोपी गाउँकै दुई जना युवकले ती किशोरीमाथि घरभित्रै छिरेर जबरजस्ती करणी गरे।

उक्त घटनाबाट विक्षिप्त भएकी उनले आफ्नो परिवारमा घटनाबारे सबै बताइन्। त्यतिबेला उनका परिवारले घटना बाहिरिए इज्जत जाने भन्दै खुलाएनन्। उनी गर्भवती भइन्। गर्भ रहेको ९ हप्तासम्म त उनका पतिले पनि बच्चा आफैं स्वीकार्ने आश्वासन दिए। अहिले उनको गर्भ रहेको १६ हप्ता पुगिसकेको छ। गर्भपतन गराउनसमेत नमिल्ने समयमा आएर उनका पतिले पत्नी त्यागेका छन्।

पतिले अर्काको बच्चा स्वीकार्न नसक्ने भन्दै पीडित किशोरीलाई माइतीमा ल्याए छाडे। र आफूले अर्को बिहे गरेर बसेका छन्। सानै उमेरमा दवावमा बिहे गरेकी किशोरी जवरजस्ती करणीपछि पनि आफैंसँग राख्ने आश्वासन दिएका पतिले त्यागेपछि बिचल्लीमा परेकी छन्। त्यस्तो घटनाबाट आफूलाई सम्हाल्न नसक्ने अवस्थाकी ती किशोरी पेटमा बच्चासहित हाल जनकपुर अञ्चल अस्पतालको एकढार संकट व्यवस्थापन केन्द्रको सम्पर्कमा छिन्।

‘उनले गर्भपतन गरिदिन दबाव दिइरहेकी छन्,’केन्द्रकी इन्चार्ज सम्झना ओझाले भनिन्, ‘१६ हप्ताको गर्भ छ यस्तोमा गर्भपतन गर्दा उनको ज्यानमाथि नै जोखिम हुन्छ।’ उनको अवस्था हेरेर प्रसूतिगृह थापाथली पठाउने तयारी भइरहेको ओझाले बताइन्। थापाथलीमा यस्ता असहाय तथा हिंसामा परेका महिलाहरूका लागि आत्मनिर्भर हुने सीपमूलक तालिम दिने गरिन्छ।

प्रदेश २ मा किशोरी र बालिकामाथि हुने हिंसाको यो प्रतिनिधि घटना मात्र हो। बालविवाह, अनमेल विवाह र बाल दुराचारका घटना दैनिक बढ्दै गएका छन्। प्रहरीकहाँ आउने उजुरीको संख्या मात्रै हेर्दा बालिका हिंसाको अवस्था भयावह देखिन्छ। अझै गाउँघरमा आपसी सहमति वा इज्जत जाने त्रासका कारण कतिपय ठूला घटना पनि बाहिर आउँदैनन्।

आर्थिक वर्ष २०७४/०७५ देखि हालसम्म प्रदेश २ का आठवटै जिल्लामा ४५ बालविवाहका घटना प्रहरीकहाँ दर्ता भएका छन्। विवाहपछि कुनै अड्चन आउँदा मात्र बालविवाहका घटना प्रहरीसम्म पुग्छन्। गाउँघरमा अझै अनगिन्ती बालविवाह हुने गरेको अधिवक्ता रेखा झा बताउँछिन्। ‘केटाको उमेर पुगे पनि बालिकाहरू उमेर नपुग्दै बिहे गर्न बाध्य छन्,’ उनले भनिन्, ‘बिहेपछि परिवारमा कुनै आपराधिक घटना भएपछि मात्रै प्रहरी र अदालतसम्म उजुरी पुग्छन्।’

जवरजस्ती करणीका घटनामा पनि किशोरी र बालिका नै प्रताडित रहेको संघीय एकाइ प्रहरी कार्यालय जनकपुरका प्रहरी निरीक्षक ज्ञानकुमार यादव बताउँछन्। हालसम्म प्रहरीसम्म पुगेका घटनामध्ये अधिकांश विपन्न परिवारकै किशोरी पीडित रहेको यादवले बताए। चालु वर्षको पाँच महिनामा २९७ वटा जवरजस्ती करणीका जाहेरी प्रहरीमा दर्ता भएका छन्। जसमा करिब अधिकांश १८ वर्षमुनिका किशोरी र बालिका नै पीडित छन्।

‘सानो उमेरमा राम्रो नराम्रो थाहा नहुने भएकाले किशोरी र बालिकालाई लक्षित गर्छन्,’ जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रामेश्वर कार्की भन्छन्, ‘प्रतिकार गर्न सक्षम नहुँदा पनि हिंसामा पर्न बाध्य छन्।’ छोरीहरूलाई सक्षम नबनाएसम्म उनीहरूमाथि हने हिंसा निषेध गर्न नसकिने प्रदेश २ का आन्तरीक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बताए।

‘प्रदेश सरकारले छोरीहरूको सक्षमता र चेतनाका लागि शिक्षामा जोड दिइएको छ। बेटी पढाऊ, बेटी बचाऊ अभियान नै ल्याएको छ,’ मन्त्री यादवले भने, ‘छोरीलाई मात्र सक्षम बनाएर हुँदैन। हाम्रो समाजमा छोरा मान्छेले जे गरे पनि हुन्छ भन्ने भ्रम छ। त्यसमा छोरीलाई सक्षम मात्रै नभइ छोरालाई नैतिवान बन्ने शिक्षा परिवारबाटै दिन जरुरी पनि छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.