सिरहामा ११ लाखसहित समातिए हुण्डी कारोवारी
सिरहा : भारतीय बजारबाट नेपालतर्फ आइरहेका दुईजना हुन्डी कारोवारीलाई ११ लाख नेपाली रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको छ ।
सिरहा भगवानपुर गाउँपालिका-४ का ३० वर्षीय रामशंकर यादव र भारतको मधुवनी जिल्ला लौकहा पञ्चायत १२ का ३० वर्षीय अशोक कुमार झालाई प्रहरीले सीमावर्ती भगवानपुर गाउँपालिका-४ बाट पक्राउ गरेको हो ।
बीआर ३२ एसी ०३३५ नम्बरको भारतीय मोटरसाइकलमा सवारी नेपाल आइरहेका उनीहरुलाई विशेष सूचनाको आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी भेषराज रिजालले बताए ।
भारतीय नागरिक झाको साथबाट २ लाख र यादवको साथबाट ९ लाख बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुले पैसाको स्रोत खुलाउन नसकेपछि उनीहरुलाई नगदसहित आन्तरिक राजश्व कार्यालय इटहरीमा बुझाइएको प्रहरीले जनाएको छ ।