भ्रमण वर्षको निम्तो बाँड्दै टोली
उदयपुर : पर्यटन वर्षलाई सार्थक बनाउन उदयपुरको उदयपुरगढी गाउँपालिकाले जिल्लामै पहिलोपटक अभियान सुरु गरेको छ। प्रदेश १ का पर्यटन प्रवद्र्धन समितिका सदस्य तथा स्थानीय बोधकुमार घिमिरेको नेतृत्वमा चार दिनअघि सबै स्थानीय तहका प्रमुख, उपप्रमुखलाई भेटी भ्रमणका लागि औपचारिक निम्तो दिएको हो।
पर्यटकीय क्षेत्रको नक्सा, ब्यानर, प्रचार सामग्री र पर्यटकीय क्षेत्र समेटिएका किताब लिएर निम्तो बाँड्दै हिँडेको टोली नेता घिमिरेले बताए। सरकारले सन् २०२० लाई पर्यटन वर्षको रूपमा मनाउने घोषणा गरेसँगै गाउँपालिकाको टोली जिल्लाका ८ वटा स्थानीय तहमा पुगी पर्यटकीय क्षेत्र उदयपुरगढीको अवलोकन गरिदिन आग्रह गरेको टोलीका अर्का सदस्य दीपक रोकाले बताए।
नेपाली झण्डा मोटरसाइकलमा बाँधेर हिँडेको २ दर्जनको संख्यामा रहेको टोलीले सोमबार जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियार, उपप्रमुख गंगा राई, अन्य सदस्य, त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी, उपमेयर देवीकुमारी चौधरी, वडाध्यक्षलाई भेटेरै निम्तो दिए।
टोलीले कटारी नगरपालिकाको बेतेनीडाँडा हुँदै ताप्लीगाउँपालिका, लिम्चुङबुङ, रौतामाई गाउँपालिका, त्रियुगा नपा, चौदण्डीगढी नपा र बेलका नपा छोएर बग्ने सुनकोसीमा सञ्चालित मोटरबोटबाट बराहक्षेत्र मन्दिरको दर्शन र मैनाराजा मैनी रानीले राज गरेको स्थल मैनामैनी पुग्ने कार्यक्रम रहेको टोलीमा संलग्न स्थानीय पत्रकार होमबहादुर बस्नेतले जानकारी दिए।
आफ्नो क्षेत्रको पर्यटकीयस्थलको सामान्य जानकारी गराउँदै टोलीले सम्बन्धित स्थानीय तहको पर्यटकीय क्षेत्रकोसमेत जानकारी लिएको छ। जिल्लाको पुरानो सदरमुकाम तथा ऐतिहासिक उदयपुरगढीलाई सरकारले घोषणा गरेको एक सय गन्तव्यमा समेत समेटिएको छ।
भौगोलिक विकटताका कारण २०२८ सालमा यो ठाउँबाट सदरमुकाम बोक्सेमा सारिएको हो। तत्कालीन उदयसेन राजाले राज गरेको यो ठाउँमा पुरातात्विक महत्तव बोकेका पुराना सम्पदा छन्। त्यसैगरी नेपाली काँग्रेसका सन्तनेता कृष्णप्रसाद भट्टराईको नेतृत्वले यहीँ बसेर राणाशासनविरुद्ध अभियान सञ्चालन गरेको इतिहास छ।