नेपाली सडकमा खटिएकी जापानी नागरिक
आयुमी ओहासी जापानी नागरिक हुन्। नौ वर्ष जापान प्रहरीमा काम गरेपछि उनी नेपाल आएकी हुन्। यहाँ उनले ट्राफिक प्रहरी स्वयंसेवकका रूपमा काम गरिरहेकी छिन्। सडकमा उभिएर उनी नेपालीलाई ट्राफिक नियमसम्बन्धी ज्ञान बाँडिरहेकी हुन्छिन्।
आयुमी ओहासी (३२) जापानी नागरिक हुन्। आठ महिनायता उनी नेपालमा छिन्। काठमाडौँमा उनले ट्राफिक प्रहरी स्वंयसेवकका रूपमा काम गरिरहेकी छिन्। पुतलीसडक एरियामा पैदलयात्री, चालक, सहचालकलाई उनले ट्राफिक नियमसम्बन्धी ज्ञान दिइरहेकी हुन्छिन्। ‘रोक’, ‘पर्ख’ को साइनबोर्ड हातमा समातेर उभिएकी हुन्छिन्।
जापान, टोकियोमा उनले नौ वर्ष प्रहरीको जागिर गरिन्। उनी प्रहरी जवान थिइन्। त्यसपछि उनलाई विदेशमा काम गर्ने रहर लाग्यो। उनले नेपाल रोजिन्। सन् २०१८ मा जापान प्रहरीको जागिरबाट राजीनामा दिई सन् २०१९ मा उनी नेपाल आइन्। जापान प्रहरीमा हुँदा आफूले ट्राफिक प्रहरी भएर काम गरेकोले यहाँ पनि त्यही क्षेत्र रोजेको उनले बताइन्। ‘जापानमा ट्राफिकसँगै अनुसन्धानमा पनि काम गरेकी थिएँ,’ उनले भनिन्, ‘तर, अनुसन्धानभन्दा ट्राफिक पेशा ठीक लाग्छ। त्यसैले यही काम स्वयंसेवी रूपमा गर्न थालेँ।’
आयुमी अर्थात् सुप्रभा
आयुमीले आफ्नो नेपाली नाम पनि राखेकी छिन्, ‘सुप्रभा लामा’। ‘यो नाम जापानमा मलाई नेपाली पढाउने शिक्षकले राख्नुभएको हो,’ उनले भनिन्, ‘‘तिमी हेर्दा लामाजस्ती छौ’ भनेर यो थर दिनुभएको हो। नेपालीहरूलाई सजिलो होस् भनेर यो नाम परिवर्तन गरेकी हुँ।’ नेपाल आउनुअघि आयुमीले जापानमा तीन महिना नेपाली भाषा सिकेकी थिइन्। विश्व भाषा क्याम्पसमा उनी अहिले पनि नेपाली भाषा सिकिरहेकी छिन्। ‘बिहान भाषा सिक्न विश्व भाषा क्याम्पस जान्छु,’ उनले भनिन्।
अहिले उनी नेपाली भाषामा सामान्य संवाद गर्न सक्ने भएकी छिन्। ‘बिस्तारै बोल्छु,’ उनले भनिन्, ‘केही नेपाली शब्द बोल्न सक्छु। नेपालीमा आफ्नो नाम पनि लेख्न सक्छु।’
कठपुतलीमार्फत सिकाइ
जापान प्रहरीमा सिकेको ज्ञान, काम गर्दाको अनुभव नेपालीहरूसँग बाँड्न चाहने उनले बताइन्। ‘आफूमा भएको ज्ञान विशेष गरी ट्राफिक नियम नेपालीलाई सिकाउन इच्छा छ,’ उनले भनिन्। हप्ताको छ दिन उनी काठमाडाँैको सडकमा खटिइरहेकी हुन्छिन्। जेब्रा क्रसिङमा पैदलयात्रीलाई बाटो काट्न मद्दत गर्छिन्। सडकमा मात्र होइन, विभिन्न विद्यालयमा पुगेर विद्यार्थीलाई ट्राफिक नियमबारे सिकाइरहेकी हुन्छिन्। ‘सडकमा धेरै दुर्घटना देखेकी छु,’ उनले भनिन्, ‘दुर्घटना कम गर्न नेपाल ट्राफिक प्रहरीले थुप्रै जनचेतनामूलक कार्यक्रम गरेको रहेछ। तर, स्कुल पढ्ने केटाकेटीलाई सानै उमेरदेखि सिकाए त्यस्तो दुर्घटनामा कमी आउन सक्छ। बाटोमा भन्दा स्कुले विद्यार्थीलाई ट्राफिकसम्बन्धी नियम सिकाउन जरुरी छ।’
विद्यार्थीहरूलाई ट्राफिक नियम सिकाउन उनी कठपुतली प्रयोग गर्ने गर्छिन्। ‘जापानमा बालबालिकालाई कठपुतलीको सहायताले ट्राफिक नियम सिकाउने गरिन्छ,’ उनले भनिन्, ‘त्यो तरिका नेपालमा पनि प्रभावकारी हुने आशा गरेकी छु।’ कठपुतलीबाट सिकाउँदा केटाकेटीले सजिलै बुझ्न र सिक्न सक्छन्।’
फरक सडक
जापान र नेपालका सडक फरक–फरक रहेको उनको अनुभव छ। ‘नेपालमा बाटोको हालत फरक छ,’ उनले भनिन्, ‘यहाँ साँघुरा, खाल्डाखुल्डी भएका सडक छन्। जापानमा फराकिलो बाटो छ। चिल्ला सडकमा कतै खाल्डाखुल्डी देखिँदैनन्।’ सडकमा इशाराका लागि ट्राफिक लाइट नभएको देख्दा उनी छक्क छिन्। ‘सडकमा ट्राफिक लाइट एकदमै आवश्यक हुन्छ,’ उनले भनिन्, ‘बिनाट्राफिक लाइट काम गर्न ट्राफिक प्रहरीलाई निकै गाह्रो हुन्छ। सडकमा लाइट नहुँदा चालक पनि मर्कामा परिरहेका हुन्छन्।’
जापानी चालकले पैलदयात्रुलाई प्राथमिकता दिने उनले बताइन्। ‘तर, यहाँ त जेब्रा क्रसिङमा बसेर हात दिएर रोक्दासमेत गाडी रोकिँदैनन्,’ उनले सुनाइन्, ‘चालकहरूले कहिलेकाहीँ ट्राफिक प्रहरीको इशारासमेत मान्दैनन्।’ चालक, पैदलीयात्रीले ट्राफिक नियमको पालना नगरिदिँदा ट्राफिक प्रहरीसँगै आफू पनि समस्यामा परेको उनले बताइन्। ‘त्यसैले म ‘रोक’, ‘पर्ख’ को साइनबोर्ड लिएर बाटोमा उभिन्छु,’ उनले भनिन्। ‘जापानीजस्तै नेपालीहरू पनि ट्राफिक नियम पालना गर्ने होऊन’ भन्ने उनको चाहना छ। ‘त्यसका लागि नेपाल ट्राफिक प्रहरीसँग मिलेर काम गरिरहेकी छु,’ उनले भनिन्, ‘ट्राफिक नियमसम्बन्धी जानकारी दिन विभिन्न पम्फलेट बाँड्ने गरेकी छु।’
काठमाडौँको धुलोधुवाँले पनि आयुमीलाई सास्ती दिएको छ। ‘यहाँ एकदमै धुवाँधुलो रहेछ,’ उनले भनिन्, ‘रुघाखोकी लाग्ने, छाला फुट्ने समस्याले सताएको छ।’
रमाइलो नेपाल
पहिलो पटक आएकी उनलाई नेपाल औधी मन परेको छ। ‘नेपाल एकदमै राम्रो लाग्यो,’ उनले भनिन्, ‘यहाँ काम गर्न पनि रमाइलो लागिरहेको छ।’ उनले आगामी दुई वर्ष नेपालमा बस्ने योजना बनाएकी छिन्। आफूसँगै आएका अर्का सिनियर जापानी स्वयंसेवक कौशिरोउ सावागुचीसँग काठमाडौँ, डिल्लीबजारमा बस्छिन्। उनीहरूसँग अरू तीन जना पनि नेपाल आएका थिए। उनीहरू पोखरामा ट्राफिक प्रहरीसँग मिलेर काम गरिरहेको आयुमीले बताइन्।
‘नेपालीहरू आत्मीय छन्,’ उनले भनिन्, ‘बाटोमा हिँड्नेहरूले मलाई नमस्ते भन्दा खुशी लाग्छ।’ पैदलीयात्री, ट्राफिक प्रहरीले सहयोग गर्दा आफू काम गर्न झन् उत्साहित भएको उनले बताइन्। ‘पैदलयात्रीले राम्रो व्यवहार गर्छन्,’ उनले भनिन्, ‘नेपालको ट्राफिक प्रहरीले पनि सबै कुरामा मद्दत गर्छन्।’
जापानमा चपस्टिकले खाना खाने आयुमी नेपालमा हातले खाना खान्छिन्। ‘जापानमा हातले खाना खाने गरेकी थिइनँ,’ उनले भनिन्, ‘त्यहाँ चपस्टिकले वा चम्चाले खाइन्थ्यो। नेपालीको संगतमा हातले खाना खान सिकेँ। चम्चा, चपस्टिकले भन्दा हातले खाँदा खानाको स्वाद झन् मीठो हुँदो रहेछ।’ नेपाली सामान्य खाना दालभात, तरकारी उनलाई खूब मन पर्छ। ‘पनिर भइदिए थप खाना खान्छु,’ उनले भनिन्।
आयुमीले अहिलेसम्म खासै नेपाल घुम्न पाएकी छैनन्। ‘नेपाल राम्रोसँग घुम्न पाएकी छैन,’ उनले भनिन्, ‘पोखरा, चितवनलगायत ठाउँ मात्र गएकी छु। ओखलढुंगा र मुस्ताङ ट्रेकिङ जान मन छ।’
अन्नपूर्ण सम्पूर्णबाट (https://sampurnaweekly.com/news/2562)