सिंघीया सलल...(फोटोफिचर)
विराटनगर : प्रदेश-१ कोराजधानी विराटनगरलाई छोएर बग्ने सिंघीया खोलाको सफाईमा स्थानीय तह र प्रदेश सरकार लागि परेका छन्। खोलालाई सफा बनाउन ‘सिंघीया खोलाको सफाई अभियान, हामी सबैको शान’ भन्ने मूल नाराका साथ शनिबारबाट संरक्षण एवं सफाई विशेष अभियान सुरु भएको छ।
यो अभियानले बगमती सफाईकै झल्को दिने प्रदेश सरकारको दाबी छ। शनिबार बिहान विराटनगरस्थित पुष्पलाल चोक पूर्वको घिनाघाटदेखि सामाजिक विकास मन्त्री जीवन घिमिरे र विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले यो अभियानको पूजा गरेर संयुक्त उद्घाटन गरे।
फोहोर फाल्ने स्थान र दाहसंकार गर्ने स्थानका नामले मात्रै परिचय बोक्ने संभावना बढेकाले धार्मीक महत्व समेत बोकेको यस पवित्र खोलाको संरक्षणमा प्रदेश सरकारलेनै चासो दिएको मन्त्री घिमिरेले बताए। यो अभियानमा मोरङका पाँचवटा स्थानीय तहलेसमेत साथ दिएका छन्।
विराटनगर महानगरपालिका तथा कटहरी, बूढीगंगा, ग्रामथान र जहदा गाउँपालिकासँग सहकार्य गर्दै नौलो अभियानको थालनी गरिएको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताए। यो अभियानलाई विशेष ढंगबाट सञ्चालन गर्न र निरन्तरता दिन कार्ययोजना समेत तयार पारिसकिएको छ।
अभियान अघि बढाउन सामाजिक विकास मन्त्री जीवन घिमिरे संयोजक र विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली सह–संयोजक रहेको मूल समिति बनाइएको छ। अल्पकालिन, मध्यमकालिन र दीर्घकालिन योजनासहित खोलोको संरक्षण र सफाई अभियान सुरु गरिएको मन्त्री घिमिरेले बताए।
शनिबार विहानबाट सुरु सफाई अभियानमा सरकारी तथा गैरसरकारी संघ संस्था, निजी क्षेत्र, सुरक्षा निकाय, स्वास्थ्य क्षेत्र, सामाजिक अभियन्ता लगायत हजारौंको उपस्थिती थियो। मन्त्री घिमिरेका अनुसार अत्यधिक प्रदूषण बढेपछि पहिलो चरणमा खोलाको घिनाघाटदेखि भाथिगछ पुलसम्मको १० किलोमिटर क्षेत्र सफाई गरिने छ। शनिबार सफाई गरिएको स्थान घिनाघाटबाट फोहोर, दाउरा र केराका धाम निकाल्दानै पनि खोला सफा देखिएको थियो भने जमेको पानी समेत सललल बगेको थियो।