नाचिरहन पाइयोस्
काभ्रे भकुन्डेबेसीका सुरेन्द्रकुमार दाहाल मोडलिङको क्षेत्रमा चलेको नाम हो। उनले पाँच सयभन्दा बढी लोकगीतको कोरसमा नाचेका छन् भने दुई सयभन्दा बढी लोकगीतमा मोडेलका रूपमा अभिनय गरेका छन्। यस्तै एक सयभन्दा बढी चलचित्रका गीतमा पनि नृत्य गरेका छन्। नृत्यसँगै उनले मेरी बास्सै, जिरे खुर्सानी, रातो पिरो, गोलमाललगायत टेलिसिरियलमा पनि अभिनय गरेका छन्।
स्कुल पढ्दादेखि नै नृत्य र अभिनयका सौखिन सुरेन्द्रराजेश हमालको अभिनय र दिलीप रायमाझीको डान्स हेरेर हुर्किएका हुन्। स्कुलमा हुने सांगीतिक र सांस्कृतिक कार्यक्रममा उनी निकै खटेर लाग्थे। नाचेरै पुरस्कार पाउँथे।
लोकगीत अत्यन्तै मन पर्ने उनलाई। शंकर बीसीको नृत्य खुब हेर्थे।
कलाकार बन्नकै लागि उनी २०६१ सालमा काठमाडौं आए। अवसरसँगै चुनौतीको सामना पनि गरे। पेप्सीकोला बसेर बानेश्वर कलेजमा पढ्थे उनी। घरबाट पढ्न पठाए पनि उनको मन भने डान्स सेन्टर र अभिनय कक्षामा अडिएको थियो। एक दिन उनी कोटेश्वरको डान्स सेन्टर पुगे। त्यहाँ गोपाल नेपाल फिस्टेले अभिनय र नृत्य सिकाउँथे। त्योबेला फिस्टेले अभिनय गर्ने जिरे खुर्सानी टेलिसिरियल भर्खर टीभीमा आउन थालेको थियो। निकै चर्चित थियो जिरे खुर्सानी। केही समयपछि जिरे खुर्सानीलगायतका टेलिसिरियल पनि खेल्न थाल्ने।
त्यसपछि शंकर बीसीको डान्स सेन्टरमा काम गर्दै, नृत्य सिक्दै र कोरस नाच्दै गए। करिब पाँच वर्ष त कोरस नाचेरै नाच्ने धोको पूरा गरे। तर उनलाई त्यतिले पुगेन।
दिनको दुई सय रुपैयाँका दरले कोरस नाच्दा नाच्ने अवसर त पाए तर इज्जत र चर्चा कमाउन सकेनन्। पर्दा पछाडि काम गरिरहँदा निरास बने तर पनि हिम्मत हारेनन्। वर्षांै कोरस नाचे। एक दिन पुस महिनाको चिसोमा भृकुटीमण्डपमा उनीहरूको टोली सुटिङ गरिरहेको थियो। नजाऊ है सानु परेलीमा बोलको गीतमा नाचिरहेका थिए उनी। यो सुटिङ उनको जिन्दगीकै अविस्मरणीय सुटिङ थियो। गु्रप डान्स गर्दा मुख्य रोल खेल्नेले गरेको गल्ती देखेर उनलाई आफैं लिड गर्न सक्छु जस्तो लाथ्यो।
२०६९ सालमा पूर्णिमाको जूनमा पनि दाग छ बोलको गीतमा उनले पहिलो पटक लिड रोलमा अभिनय गर्ने मौका पाए। यो गीत त्यो बेला सुपरहिट भयो। लालकुमार बरालको लेखन रहेको यो गीतमा रामजी खाँड र टीका पुनले आवाज दिएका थिए। उनले रञ्जिता गुरुङसँग अभिनय गरेका थिए। यसपछि उनले पछाडि फर्केर हेर्नु परेको छैन। निरन्तर म्युजिक भिडियोमै व्यस्त छन्।
पलपल झल्को, वाचा कसम खाको, पूर्णिमाको जून छ, छुट्यो माया, मनको माया देखाऊ भने नि, नसर पर पर, उराठलाग्दो चैत हजुर, रात बित्छ तिम्रै सम्झनामा, पिरतीको लगनगाँठोलगायतका लोकगीत र दुई दर्जनभन्दा बढी आधुनिक गीतमा समेत उनले लिड रोल गरेका छन्।
अहिले कोरस नाच्नेहरूको पारि श्रमिक केही बढेको छ। एक दिन नाचेको एक हजार पाँच सयसम्म पुगेको छ। फिल्मको एउटा गीतमा कोरस नाचेको चार हजारसम्म पाउने गर्छन्। एउटा गीतमा अभिनय गरेबापत उनले १० देखि १५ हजार पाउने गरेका छन्। भन्छन्, ‘निर्माताको क्षमताअनुसार दिन्छन्। यति नै लिन्छु भन्न मन लाग्दैन।’
हेर्दा चकलेटी र रमाइलो देखिए पनि लजालु स्वभावका छन् सुरेन्द्र। कुनै प्रश्न गर्नासाथ लजाउँदै मुस्कुराउँछन्। म्युजिक भिडियोमा धेरैका लभर ब्वाई बनेका एसकेले वास्तविक जीवनमा भने लभ नपरेको सुनाए। सँगै काम गर्ने मोडेलका नजिकका साथी बन्थे उनी। केहीलाई मन पनि पराए तर खुलेर भन्नै सक्दैनथे। गहिरो प्रेम सम्बन्धमा भने परेनन्। गत वर्ष घरमा आमा बुवाले खोजेकी सुस्मिता रेग्मीसँग वैवाहिक सम्बन्ध गाँसेका छन् उनले। दाहाल नाच्ने गाउने, अभिनय गर्नमा सौखिन भए पनि उनकी श्रीमती भने स्वास्थ्य क्षेत्रमा संलग्न छिन्।
भिडियो सुटको बेला जब गीत बज्छ उनी आफूलाई बिर्सन्छन्। भिडियोमा कुन भूमिका छ, आफूले के गर्ने हो त्यही पात्र जस्तै बनिदिन्छन् उनी। कहिले वियोगान्त गीतमा रुँदै विरक्तिएको देखाउनुपर्छ त कहिले प्रेमिकासँगका रोमान्टिक सिन। उनी जस्तोसुकै भूमिका पनि सजिलै निभाउँछन्। भन्छन्, ‘मेरो शरीरमै नृत्य र अभिनय बगेको छ। नाचिरहन पाइयोस्।’