बंगलादेशी खेलाडीको रिसले 'रेडकार्ड' : तस्बिरमा नेपालको फाइनल यात्रा
तस्बिर : दिपेन श्रेष्ठ
काठमाडौं : नेपालको पुरुष फुटबल टोली १३औं दक्षिण एसियाली खेलकुद (साग)को फाइनलमा प्रवेश गरेको छ। दशरथ रंगशालामा आइतबार भएको लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई १-० गोलले हराउँदै नेपाल उपाधि नजिक पुगेको हो।
प्रतिस्पर्धात्मक खेलमा नेपालका लागि सुनील बलले निर्णायक गोल गरे। सुनीलले ११औं मिनेटमा गरेको गोल नै नेपालका लागि पर्याप्त बन्यो। सुनीलले डीबक्स भित्र कप्तान सुजल श्रेष्ठको पासमा पोस्ट नजिकबाट जाली चुमाएका थिए। फाइनल पुग्नका लागि जित या बराबरी पर्याप्त रहेको खेलमा नेपालले सुरुआती गोल गरेपछि रक्षात्मक रणनीति अपनाएको थियो।
६४औं मिनेटमा सुजल श्रेष्ठको पोस्ट नजिकको हेड प्रहार थोरै बाहिरिएको थियो। यही खेलबाट नेपालका सेसेहाङ आङ्दम्बेले डेब्यु गरेका छन्। सेसेहाङ कप्तान सुजल श्रेष्ठ दोस्रो हाफमा घाइते भएपछि उनको स्थानमा मैदान प्रवेश गरेका थिए।
६९औं मिनेटमा अभिषेक रिजालले खाली पोस्टमा हानेको भली प्रहार बाहिरिएको थियो। पहिलो हाफमा एउटा फितलो अवसर बनाएको बंगलादेश दोस्रो हाफमा खेलमा फर्कने प्रयास गरे पनि सफल हुन सकेन। बंगलादेशले दोस्रो हाफमा थप दुई वटा गोलका अवसर बनाएको थियो। दोस्रो हाफको इन्जुरी समयमा अनावश्यक फल खेलेका कारण बंगलादेशका कप्तान जमल भुयन दोहोरो पहेँेलो (रातो) कार्ड पाउँदै बाहिरिएका थिए। हारसँगै तेस्रो स्थान बनाएको बंगलादेशले कांस्य पदकमा चित्त बुझाएको छ।
उपाधिका लागि नेपालले मंगलबार दिउँसो ३:०० बजे भुटानसँग खेल्नेछ। नेपालले लिग चरणको खेलमा भुटानलाई ४-० गोलले पराजित गरेको थियो। नेपाल लिग चरणको विजेता बन्दै फाइनलमा पुगेको हो। राउन्ड रोविन लिगका आधारमा सञ्चालित पुरुष फुटबलको शीर्ष स्थानमा रहेका नेपालले चार खेलबाट १० अंक बनाएको छ। नेपालले तीन जित र एक बराबरी नतिजा निकालेको थियो। तीन जित र एक हार खेपेको भुटान उपविजेता बन्यो। भुटानले नौ अंक बनायो।
खेलपछि नेपालका प्रशिक्षक बालगोपाल महर्जनले खेलाडीले राम्रो खेल्दै फाइनलमा स्थान बनाएको बताए। ‘हामीले सबै खेलमा राम्रो खेल्यौं। लिग चरणको एउटा खेलमा इन्जुरी समयको गोलले बराबरी भयो। लिग चरणमै भुटानलाई फराकिलो अन्तरले हराएकोले फेरि हराएर उपाधि जित्न चाहन्छौं। दैनिक खेलेका खेलाडी थाकेका थिए। तर पनि आज जितका लागि दबाब रहेको खेलमा सही ढंगले खेले। हामी स्वर्ण नजिक पुगेका छौं। अब उपाधि रक्षाका लागि खेल्नेछौं,’ बालगोपालले भने। नेपाल साग फुटबलको साबिक विजेता हो। भारतमा सन् २०१६ मा भएको १२औं संस्करणको फाइनलमा नेपालले आयोजक भारतलाई हराउँदै उपाधि जितेको थियो।
यसैगरी बंगलादेशका बेलायती प्रशिक्षक जेम्स डेले मौका पाएर पनि गोल गर्न नसक्दा हार खेपेको बताए। ‘हामीलाई अगाडि बढ्न जित्नै पर्ने बाध्यता थियो। तुलनात्मक रूपमा नेपाल बलियो देखियो। मेरा खेलाडीले पनि राम्रो खेलेका थिए। सुरुआतमै गोल खाँदा खेलाडीले दबाब महसुस गरे। रेफ्रीले पनि अनावश्यक फल दिएर तनाव निम्त्याए,’ जेम्सले भने। जेम्सले साग फुटबलमा नेपालको प्रदर्शन अन्य टोलीको भन्दा माथिल्लो स्तरको रहेकोले नेपालले नै उपाधि जित्ने बताए।