सुतली बम पड्काएर पैसा असुल्ने गिरोह प्रहरीको फन्दामा
कलैया : बम विष्फोट गराउँदै उद्योगी व्यवसायीलाई धम्क्याएर रकम असुल्ने अपराधमा संलग्न गिरोहलाई बारा प्रहरीले पक्राउ गरेको छ। खुल्ला सीमा दुरुपयोग गरेर उद्योगी, व्यवसायी र सर्वसाधारण नागरिकलाई आतंकित पार्ने अपराधिक काममा सक्रिय ४ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा प्रमोद साह गोढ, देवशंकर राम, अच्चेलाल गोसाई र दीपेन्द्रकुमार धानुक रहेका छन्। पक्राउ परेका मध्ये गोढ गिरोहका नाइके रहेको बाराका प्रहरी उपरिक्षक विकासराज खनालले जानकारी दिएका छन्।
प्रहरी उपरिक्षक खनालका अनुसार परवानीपुर गाउपालिका-४स्थित एमएस ईट्टा उद्योगका संचालक मनोजप्रसाद साह तेलीसँग फिरौती रकम लिने क्रममा उनिहरु पक्राउ परेका हुन्। गोढले तीन महिनादेखि तेलीलाई धम्क्याउदै फिरौती रकम माग गर्दै आएका थिए। फिरौती दिन ईन्कार गर्दै आएका तेलीले धम्कीबारे प्रहरीमा जानकारी गराएपछि गोढसहित गिरोह पक्राउ परेको हो।
‘तीन महिनादेखि फोन र एसएमएसबाट धम्क्याउने र बम विष्फोट गरेर रकम माग गर्दै आएको सूचना प्राप्त भयो’, प्रहरी उपरिक्षक खनालले भने,‘फिरौती दिने भन्दै बोलाएर उनिहरुलाई नियन्त्रणमा लिन सफल भएका छौं, घटनामा अन्यको पनि संलग्नता हुने देखिएको छ।’
गोढले तीन महिनाअघि उद्योग सञ्चालक तेलीसँग १५ लाख फिरौती रकम माग गरेका थिए। फिरौती रकम नदिएपछि गोढसहितका व्यक्तिले कार्तिक ४ गते तेलीको उद्योगमा बमसमेत विष्फोट गराए। विष्फोटपछि गोढले फिरौती रकम नदिए परिवारलाई समेत सिध्याईदिने धम्की दिएपछि तेली प्रहरीसम्म पुगेका हुन्।
फिरौतीका लागि पटकपटक धम्क्याउदै आएका गोढलाई पक्राउ गर्न प्रहरीले फिरौती रकम दिने आश्वासन दियो। प्रहरीकै अनुरोधमा तेलीले गोढलाई बुधबार परवानीपुर-४स्थित चैनपुरमा तीन लाख फिरौती लिन बोलाए। फिरौती लिन गोढ भने आएनन्। उनले सहयोगी देवशंकर रामलाई पठाए। ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले रामलाई पक्राउ गर्यो। उनकै मद्दतमा प्रहरीले गोढलाई पुनः फिरौती लिन बोलायो। गोढले पुनः अर्का सहयोगी गोसाईलाई पठाए। प्रहरीले गोसाईलाई समेत नियन्त्रणमा लियो।
गोढका दुई सहयोगीलाई पक्राउ गरेपछि प्रहरीले उनिहरुकै बयानका आधारमा प्रहरीले गोढलाई परवानीपुरबाट नियन्त्रणमा लिन सफल भएको प्रहरी उपरिक्षक खनालले बताए। प्रहरीले सार्वजनिक गरेकामध्ये धानुक भने जिल्ला प्रहरी कार्यालयको हिरासतमै थिए।
पक्राउ परेका व्यक्तिको बयानबाट घटनामा धानुककोसमेत संलग्नता देखिएपछि प्रहरी उनलाई हिरासतबाटै नियन्त्रणमा लिएको प्रहरी उपरिक्षक खनालले बताए। ‘धानुक पहिला नै हिरासतमा थिए, अभद्र व्यवहारमा एक हप्ताअघि नियन्त्रणमा राखेर मुद्धा चलाइरहेका थियौं’, प्रहरी उपरिक्षक खनालले भने,‘बयानबाट उनको समेत संलग्नता देखियो अनि हामीले अपराधिक कसुरमा मुद्धा चलाएका छौं।’
गिरोह नाइके गोढ तीन वर्षअघि हातहतियार मुद्धामा डेढ वर्ष जेल सजाय भुक्तान गरेको व्यक्ति भएको प्रहरीको भनाई छ। गोढ २०७३ चैत्र २८ गते वीरगन्ज महानगरपालिका(८ बाट नलकटुवा बन्दुक र त्यसमा लाग्ने तीन राउण्ड गोलिसहित पक्राउ परेको प्रहरीको भनाई छ।
पक्राउ परेका गिरोह यसअघिका विभिन्न घटनामा संलग्न भएको खुलेको छ। प्रहरीका अनुसार गत असोज १० गते प्रसौनी ४ का नन्दकिशोर प्रसाद कुम्हालसँग गोढसहितका व्यक्तिले ५० लाख फिरौती माग गरेको र रकम नपाएपछि सुतली बम विष्फोट गराएका थिए। यसैगरी परवानीपुर-४स्थित नारायणी आयल रिफायनरीमा सुतली बम विष्फोट गरी २५ हजार फिरौती रकम लिएकोसमेत प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरिक्षक खनालले बताए।
पक्राउ परेका ४ जनालाई अपराधिक लाभ कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालेको छ। पक्राउ परेका गोढबाट तीन थान मोबाइल बरामद भएको र सो मोबाइलमा फिरौती माग गर्दै पठाइएको एसएमएस रहेकोसमेत प्रहरी उपरिक्षक खनालको भनाई छ। खनालले यसअघि उनिहरुबाट भएका सबै अपराधको विषयमासमेत अनुसन्धान गरेर कारवाही प्रक्रियाअघि बढाउने बताए।