खानेपानी आयोजनामा खेलाँची
सिरहा :
आयोजना : एक
सीमावर्ती भगवानपुर गाउँपालिका-५ इर्नवा गाउँमा ०६३ सालदेखि खानेपानी आयोजना निर्माण सुरु भयो। ३ वर्षभित्रै सम्पन्न हुनुपर्ने हो तर १४ वर्ष पुग्न लाग्दा पनि पूरा भएको छैन। पानी तान्न ३६ लाख रुपैयाँ खर्चेर २ वटा बोरिङ गाडिएको छ। ‘ओभरहेड ट्यांक’ बनेको छ। कार्यालयको पक्की घर निर्माण गरिएको छ। आयोजनामा हालसम्म १ करोड २५ लाख रुपैयाँ खर्च भएको छ। ३ हजार घरपरिवारमा पानी पुर्याउने सर्वे गरिएको थियो। २ वर्षपहिले पाइप जडान थालियो तर पूरा भएको छैन। पाइप गाड्न खाल्टो खनियो। १ हजार घरपरिवारसम्म पुग्ने पाइप हालियो तर खाल्टो पुरिएन। त्यत्तिकै पाइप छरिएको छ। खानेपानी कार्यालयको कारण आयोजना पूरा हुन नसकेको त्यस खानेपानी उपभोक्ता समितिको अध्यक्ष बुधेश्वर यादवको भनाइ छ।
आयोजना : दुई
लहान नगरपालिका-२४ मलहनमा गाउँमा ०६९÷७० सालमा खानेपानी आयोजना बन्न सुरु भयो। त्यहाँ पनि कम्पान्ड वाल निर्माण गरिएको छ। बोरिङ गाडिएको छ। पक्की घर बनेको छ। एक करोड भन्दा बढी खर्चेर ‘ओभरहेड ट्यांकी’ बनाइएको छ। विद्युतीकरणको काम पनि भएको छ तर घरघरमा धाराको माध्यमले पानी पुर्याउने पाइप जडान गरिएको छैन। ‘गाउँमा खानेपानी अभाव छ। इनार, पोखरी र खोलाको पानीले खाने र गाइवस्तुलाई दिनुपर्छ,’ सोही आयोजनाका अध्यक्ष रासलाल रायले भने, ‘तर बजेट अभावले आयोजना सुरु हुन सकेको छैन।’
आयोजना : तीन
लहान नगरपालिका-१४ बस्तीपुर गाउँमा ३ वर्षदेखि खानेपानी आयोजना निर्माण सुरु भयो। त्यसमा ‘ओभरहेड ट्यांक’ बनिसकेको छ। बोरिङ पनि गाडिएको छ। पानी तान्ने मोटर आएको छैन। पक्की घर बनेको छैन। घरघरमा धारा पुर्याउन पाइप ओछ्याउने काम बाँकी नै छ। यो सम्पन्न नहुँदै सोही वडामा गत वर्षदेखि अर्को आयोजना निर्माण सुरु भयो। त्यहाँ कम्पाउन्ड वाल र बोरिङ गाडिएको छ। अरू काम अलपत्र छन्।
आयोजना : चार
लहान नगरपालिका-१३ सरस्वती टोलमा ०७१ सालमा फनबोर्ड एनजीओले ५० लाख खर्चेर खानेपानी आयोजना बनाउन सुरु गर्यो। ३ वर्ष पूरा हुन लाग्यो। २७६ घर लाभान्वित भनेर गाउँमा ३८ ठाउँमा सार्वजनिक धारा जडान गरियो। ०७३ साल कात्तिकदेखि गाउँलेले पानी खान पाएका थिए। डेढ वर्षसम्म राम्रै चल्यो। अहिले बन्द छ। बनाउने प्रयास भएको छैन। ‘पाइप फुट्यो। पानी तान्ने मोटरमा खराबी आएको छ। मर्मत गर्ने पैसा छैन,’ उपभोक्ता समिति अध्यक्ष सत्यनारायण यादवले भने, ‘सार्वजनिक रूपमा धारा लगाएपछि कसैले पैसा तिर्दैन। बिजुलीको बिल पनि तिरेको छैन।’ गाउँका अधिकांश घरपरिवार इनारको पानी खान बाध्य छन्। सोही वडाको पक्कीटोलमा अर्को खानेपानी आयोजना निर्माण सुरु भएको छ। तर, त्यो पनि अधुरै छ।
सिरहाका विभिन्न ठाउँमा १५ वर्षयता निर्माण सुरु भएका ६५ वटा आयोजना अलपत्र परेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय राजविराजले जनाएको छ। डिभिजन प्रमुख शैलेन्द्र झाका अनुसार ७ वटा आयोजनामा मात्रै ‘ओभरहेड ट्यांक’ निर्माण हुन सकेको छ। बाँकीमा थोर-थोरै काम भएको छ।
निर्माणाधीन अवस्थामा रहेको आयोजना पूरा नहुँदै प्रदेश २ का सरकारले सिरहामा फेरि ४ वटा आयोजना थप गरेको कार्यालय प्रमुख झाले जानकारी दिए। यीबाहेक ३ वटा आयोजना संघीय सरकारअन्तर्गत रहेको उनले बताए। ‘आयोजना धेरै छन्। तर, बजेट पर्याप्त आउँदैन,’ उनले भने, ‘त्यही भएर काम सम्पन्न हुन सकेको छैन।’ ०७६÷७७ का लागि कार्यक्रम बनाएर पठाउँदा पनि मन्त्रालयमा स्वीकृत नभएको उनले सुनाए।
‘अधिकांश आयोजनामा पाइप जडान भएको छैन। किन्नलाई कार्यालयमा पैसा आउँदैन,’ प्रमुख झाले भने, ‘बजेट नआउँदा काम कसरी गर्ने ? ’
लहान-१३ सरस्वती गाउँका कृष्ण महतोले भने, ‘एउटा बिग्रेको छ। अर्को निर्माण पूरा भएको छैन। एउटैले काम चल्ने ठाउँमा दुई÷दुई वटा आयोजना छन्। सरकारको लगानी खेर गइरहेको छ।’ गाउँमा खानेपानी अभाव रहेको उनले बताए।
‘जिल्लामा अर्बांै रुपैयाँ लगानीमा खानेपानी आयोजना निर्माण गरियो तर कुनै बिग्रेको छ त अधिकांशमा निर्माण पूरा भएको छैन,’ निर्माण व्यवसायी संघ सिरहाका अध्यक्ष रासलाल रायले भने, ‘एउटा सम्पन्न नहुँदै अर्को ठाउँमा आयोजना थालिन्छ। त्यसैले धेरै ठाउँमा अलपत्र परेका छन्।’