पत्रकार कुट्ने ६ जनाविरुद्ध मुद्दा
धरान : नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष तथा न्युज २४ टिभीमा कार्यरत पत्रकार सन्तोष काफ्लेलाई कुटपिट गर्ने ६ जनाविरुद्ध शरीर अंगभंग ऐनअन्र्तगत मुद्धा चलाइएको छ । बुधबार समाचार संकलन गर्न ढिलो आएको भन्दै सल्लेरी बचत तथा ऋण सहकारी संस्थाबाट पीडित भएका बचतकर्ताले काफ्लेलाई मरणासान्न हुनेगरी कुटपिट गरेका थिए ।
कुटपिटमा संलग्न धरान ३ का नरशे शाही, १५ का तुलसी प्रसाद विक, ४ का दिपक राई र संगीता राईलाई पक्राउ गरिएको छ । अन्य चारजनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
कुटाइबाट घाइते भएका पत्रकार काफ्लेको देब्रे आँखा, नाक र छातीमा गम्भीर चोट लागेको छ । उनको आँखाको नली काटिएकाले बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानमा उपचार हुन नसकेपछि थप उपचारका लागि विराटनगर आँखा अस्पताल भर्ना गरिएको छ ।
पत्रकार काफ्लेमाथि आक्रमण गर्ने ६ जनाविरुद्ध शरीर अंगभंग ऐनअन्र्तगत मुद्धा दर्ता गरि कारबाही पक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढुण्डिराज न्यौपानेले बताए ।
शुक्रबार काफ्लेले आफूमाथि आक्रमण गर्ने ६ जनाविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा किटानी जाहेरी दिएका छन्। पत्रकार काफ्लेमाथि भएको आक्रमणको नेपाल पत्रकार महासंघ सुनसरीले प्रेस विज्ञप्ति प्रकाशित गरि विरोध जनाएको छ।
महासंघका सचिव हिमाल दाहालले हस्ताक्षर गरेको विज्ञप्तिमा आक्रमणकारीलाई कडा कारबाही र पत्रकारलाई शान्तिपूर्वक काम गर्ने वातावरण मिलाउन सरकारसँग माग गरिएको छ।