धनुषा बम विस्फोटका घाइतेको धरानमा उपचार गरिँदै
धनुषा : धनुषामा बम विस्फोटका कारण घाइते भएका तीनजनाको धरानस्थित विपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
क्षिरेश्वरनाथ नगरपालिका—५ महेन्द्रनगर बजारमा शुक्रबार राति बम विस्फोट हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको थियो भने तीनजना घाइते भएका छन् । विस्फोटका कारण प्रहरी निरीक्षकसहित तीनजनाको मृत्यु भएको हो।
कुसाई टोलस्थित एक औषधि व्यवसायी राजेश्वर शाहको घरमा भएको बम विस्फोट भएको हो । घटनामा घरधनी राजेश्वर र उनका छोरा आनन्द साहको घटनास्थलमै मृत्यु भएको हो।
घटनामा घरधनी राजेश्वरकी २१ वर्षीय छोरी अञ्जली साह, १४ वर्षीय छोरा प्रेम साह, प्रहरी जवान रिजनाथ कुमार महतो गम्भीर घाइते भएका छ्न्। घाइते तीनैजनाको धनुषामा उपचार सम्भव नभएपछि विपी प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रतिष्ठानका सहायक प्रवक्ता अशोक ऎरले जानकारी दिए । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।
घटनामा परेर गम्भीर घाइते भएका प्रहरी निरीक्षक अमिर दाहालको उपचारको क्रममा धरानमा मृत्यु भएको धनुषाका प्रहरी उपरीक्षक शेखर दाहालले जानकारी दिए। निजी मेडिकल स्टोर सञ्चालन गर्दैआएका राजेश्वरको घरमा राति शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरिएको थियो। प्राप्त सूचना अनुसार नजिकैको महेन्द्रनगरस्थित इलाका प्रहरी चौकीबाट सुरक्षाकर्मीहरु घटनास्थलमा पुगेका थिए। तर, सुरक्षाकर्मीहरु घरमा पुगेर शंकास्पद वस्तु हेर्न खोजेकै बेला एक्कासी विस्फोट भएको प्रहरीले जनाएको छ ।