निक्षेप ३४ खर्ब, कर्जा ३० खर्ब ३५ अर्ब
काठमाडौं : चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिसम्म बैंक तथा वित्तीय संस्थाको कुलनिक्षेप ३३ खर्ब ९५ अर्ब रुपैयाँ र कर्जा परिचालन ३० खर्ब ३५ अर्ब रुपैयाँ पुगेको छ। चालु आर्थिक वर्ष २०७६÷७७ को पहिलो तीन महिनामा (साउन–असोज) पहिलो तीन महिनामा निक्षेपमा ३.०२ प्रतिशतले वृद्धि भएको छ। कर्जा विस्तारमा ४.२ प्रतिशतको वृद्धि देखिएको नेपाल राष्ट्र बैंकले जनाएको छ। गत वर्ष सोहीअवधिको तुलनामा कर्जा विस्तारदर केही कम भएको छ।
गत आवको पहिलो त्रैमासमा ७.२ प्रतिशतले कर्जा विस्तार भएको थियो। बैंकको आम्दानीको मुख्य स्रोत कर्जाबाट प्राप्त हुने ब्याज आम्दानी हो। कर्जा विस्तार कम भएकै कारण चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकको नाफा घटेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४६.५९ प्रतिशतले बढेको बैंकको नाफा चालु आवको सोहीअवधिमा ६.२६ प्रतिशतमात्र बढेको छ।
बैंक तथा वित्तीय संस्थाबाट प्रवाहभएको कर्जामध्ये सबैभन्दा ठूलो हिस्सा थोक तथा खुद्रा व्यापारमा परिचालन भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार, कुल ३० खर्ब ३५ अर्ब कर्जामध्ये ६ खर्ब ४२ अर्ब रुपैयाँ थोक तथा खुद्रा व्यापारका लागि परिचालन भएको छ। व्यापारमा प्रवाहभएको कर्जा वित्तीय क्षेत्रबाट प्रवाह हुने कुल कर्जाको २१.१५ प्रतिशत हो। व्यापारिक क्षेत्रमा हाम्रो बैंकिङ प्रणालीबाट तीन खालका कर्जा प्रवाह हुन्छन्। वाणिज्य बैंकले आयातका लागि कर्जा प्रवाह गर्छन्। प्रतीतपत्रमार्फत हुने आयातको भुक्तानी तथा ठूला कर्पोरेटका लागि दिइने कर्जा वाणिज्य बैंकबाट प्रवाहभएका छन्। यस्तै, देशमा आयात भएका कच्चा वस्तुको गुणवत्ता अभिवृद्धि (भ्यालु एडिसन)का लागि सानामझौला उद्यम तथा स्टार्टअप्सका लागि विकास बैंकमार्फत कर्जा प्रवाह हुन्छ। वित्त कम्पनीले आयातीत या मुलुकमा उत्पादित वस्तु खरिद गर्न उपभोक्तालाई कर्जा दिने (कन्जुमर फाइनान्सिङ) गर्दै आएका छन्।
बैंक तथा वित्तीय संस्थाको कर्जा लगानीमध्ये दोस्रो ठूलो कर्जा लगानीभएको क्षेत्र हो– उत्पादन। उत्पादनमा ५ खर्ब ५ अर्ब अर्थात् कुलकर्जा लगानीको १६.६३ प्रतिशत कर्जा लगानीभएको छ। बैंक तथा वित्तीय संस्थाको कुलकर्जा मध्ये २५ प्रतिशत नेपाल राष्ट्र बैंकले तोकेको उत्पादनमूलक क्षेत्रमा परिचालन गर्नुपर्ने बाध्यकारी व्यवस्था छ।
बैंक तथा वित्तीय संस्थाबाट प्रवाहभएको कर्जामध्ये सबैभन्दा ठूलो हिस्सा थोक तथा खुद्रा व्यापारमा परिचालन भएको छ।
कृषि, जलविद्युत्, पर्यटनलगायत क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानीको बाध्यात्मक व्यवस्थाअनुसार तोकिएअनुसार कर्जा लगानी गर्न बैंक तथा वित्तीय संस्था मुखरित छन्। यसका अतिरिक्त सरकारले गरिबीनिवारण तथा समावेसी विकासका लागि महिला, दलित तथा युवालक्षित विभिन्न ९ किसिमका सहुलियतपूर्ण कर्जा कार्यक्रम घोषणा गरेको छ। यसले आगामी दिनमा उद्यमशीलता विकास तथा उत्पादन वृद्धिमा सहयोग हुने अपेक्षा गर्न सकिन्छ।
बैंक तथा वित्तीय संस्थाको कर्जाको तेस्रो ठूलो हिस्सा निर्माण क्षेत्रमा परिचालन भएको छ। मुलुक मानव निर्माण तथा पुनर्निर्माणले गति लिएसँगै निर्माण क्षेत्रमा परिचालन हुने कर्जा रकम वृद्धि भएको छ। आर्थिक वर्ष २०७५÷७६ मा निर्माण क्षेत्रले कुलगार्हस्थ उत्पादनमा ७.७७ प्रतिशतको योगदान दिएको अनुमान गरिएको छ। यसभन्दा अघिल्लो वर्षमा निर्माणको योगदान ७.६ प्रतिशतथियो। निर्माण क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको कुललगानी ३ खर्ब २३ अर्ब अर्थात् १०.६ प्रतिशत पुगेको छ।
बैंक तथा वित्तीय क्षेत्रको बढी कर्जा लगानी हुने अन्य क्षेत्रमा सेवा क्षेत्र, वित्तीय क्षेत्र, कृषि, यातायात र सञ्चार तथा उपभोग्यकर्जा पर्छन्। बैंक तथा वित्तीय क्षेत्रबाट प्रवाहभएको कर्जाले निजी क्षेत्रबाट सिर्जित कर्जाको माग पूरा गरी निजी क्षेत्रको विस्तारमा मद्दत पुर्याएको छ। निजीक्षेत्रको विकास र विस्तारले मुलुकको अर्थतन्त्रको विस्तारमा टेवापुगेको छ।