स्थानीयको निगरानीमा ठेकेदारले थाल्यो काम
ओखलढुंगा : मेयरले ठेक्का लिएर अलपत्र छाडिएको मोलुंगा खोला पक्की पुलको काम सुरु भएको छ । ६ वर्ष पहिले लिइएको ठेक्का विभिन्न बहानामा एउटा पिलर उठाएर छलपत्र छाडिएको थियो।
चौतर्फी दबाबपछि पर्शुराम नगरपालिकाका मेयर भीमबहादुर साउद सञ्चालक रहेको कम्पनीले अहिले म्यानेजर नियुक्ति गरेर निर्माण स्थलमा खटाएको छ ।
अहिले काम सुरु भइसकेको निर्माण कम्पनीका म्यानेजर विदुर कडेँलले बताए । उनले पुलमा भएको डिजाइन परिवर्तन, संघीयताले बजेट कार्यन्वयन गर्ने निकाय नतोकिनु र कन्ट्याक्टरले काम नगर्दा ढिलाइ भएको जानकारी दिए । निर्माण सुरु भएको ६ महिनाभित्रै काम सम्पन्न हुने कडेलले दावी गरे।
स्थानीयले पुल निर्माणको कामलाई निगरानी गर्ने भएका छन् । स्थानीय अर्जुन धमलाले पुलको काम अलपत्र हुँदा दलका नेता र स्थानीय सरकार रमिते बनेको आरोप लगाए । उनले अब स्थानीयले काम रोके नछोड्ने चेतावनी दिए । 'हामी निरन्तर अनुगमन गर्छौं, यो कसैको राजनीति गर्ने थलो होइन, काम हुनुपर्छ ।'
सांसदले जिल्लामा कागज गराएर फिल्ड पठाएका ठेकेदारले काम नछाडोस् भनेर निगरानी गरिने उनले बताए । स्थानीय युवा प्रकाश दाहालले सुनकोसी गाउँपालिका र मोलुङ गाउँपालिका जोड्ने उक्त पुलबारे दुई गाउँपालिका प्रमुख मौन बसेर जनताका दु:खमा रमिते बनेको बताए । गाउँपालिकाले चासो नै नदिएको उनको भनाइ छ ।
ओखलढुंगालाई पूर्वपश्चिम जोड्ने सडकको बीचमा रहेको उक्त मोलुङ खोलाको मान्द्रे दोभान पक्की पुल सम्झौताअनुसार २०७१ सालमा सम्पन्न हुनुपर्ने थियो । निर्माण कम्पनी राजेन्द्र-लोकप्रिय जेभीको लापरवाहीले अहिलेसम्म काम हुन सकेको छैन्।
दुई पटक म्याद थप गरेर पनि काम सुरु नभएपछि ०७६ चैतसम्म काम सक्ने गरि अन्तिम पटक म्याद थपेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । पुल निर्माण नहुँदा ओखलढुंगाबाट पश्चिमी क्षेत्र जोड्ने सडक वर्षा लागेपछि अबरुद्ध हुने गरेको छ । ठेकेदारले काम अलपत्र छाडेको विषयमा अन्नपूर्ण पोष्टमा दुई पटक समाचार प्रकाशित भएपछि ०७६ असोजमा ठेकेदारका प्रतिनिधि झिकाएर सांसद यज्ञराज सुनुवार मोहन खड्का र प्रमुख जिल्ला अधिकारीले गणेश आचार्यले कार्यजोजना पेश गरेर काम सुरु गर्ने कागज गराएका थिए ।
त्यसयता कम्पनीका म्यानेजर फिल्डमा खटिएका छन् भने कामदार र उपकरण ल्याउन सुरु भएको छ । काममा ढिलासुस्ती हुने स्थानीयको गुनासोपछि पूर्व सांसद रामहरि खतिवडा र कांग्रेस जिल्ला सभापति प्रदिप सुनुवारसहित निमार्णस्थल पुगेर स्थानीयसँग छलफल गरेका छन् । निर्माण व्यवसायी आफ्नो पार्टीको जनप्रतिनिधी भए पनि निर्माणका काम छिटो सक्न दबाव दिइएको उनीहरुको भनाइ छ।
अहिले पिलरको जग खन्ने काम थालिएको अनुगमनपछि फर्किएका पूर्व सांसद रामहरि खतिवडाले बताए । खतिवडाले भने, 'हामीले ठेकेदारका प्रतिनिधीलाई स्थानीयसँग छलफल गरायौं, उनीहरुको आक्रोश थाहा पाए, अब अटेर नगरि काम गर्छ भनेर प्रतिबद्धता पनि गरेको छ ।'
दुई स्पान संख्या रहेको ८० मिटर लम्बाई र ५ मीटर चौडाईको उक्त पुलको लागत सुरुमा ३ करोड ३२ लाख ५५ हजार १ सय ६९ रुपैयाँ थियो । बीचमा चट्टान भेटिएपछि फेरिएको डिजाइन अनुसार ५ करोड ६९ लाख २४ हजार ५ सय ९८ पुर्याए पनि समयमा काम नभएको स्थानीयलाई गिट्टी कुट्न लगाएर पैसा नदिएको लगायत स्थानीयको गुनासो छ ।