तराईमा चिसो बढ्यो
भैरहवा : पश्चिम तराईमा हुस्सु, कुहिरो र शितलहर चलेसँगै चिसो बढेको छ। सामन्य रुपमा परेको झरीले जनजीवन समेत आंशिक रुपमा प्रभावित भएको छ । भैरहवा विमानस्थलको जल तथा मौसम मापन केन्द्रका प्रमुख राममणी मिश्रका अनुसार भैरहवाको दिउँसो २ बजे तापक्रम १५ दश्मलव २ डिग्री सेल्सियस मापन गरिएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका अधिकांश भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । तराईमा सबैभन्दा बढी चिसो सिमरामा ११ दशलव शून्य डिग्री सेल्सियस मापन गरिएको छ ।
त्यस्तै मंगलबार बिहान ८ बजे मापन गरिएको तापक्रम अनुसार नेपालगंजको तापक्रम १२ दश्मलव शून्य, धनगढीको १२ दश्मलव ४, जनकपुरको १२ दश्मलव शून्य तथा विराटनगरको १५ दश्मलव शून्य डिग्री सेल्सियस रहेको छ ।
चिसो बढेसँगै सर्वसाधरण चोक, बाटोमा आगो ताप्न थालेका छन् । चिसोले जाडोयामको कपडाको व्यापार बढेको छ । आगामी २४ घण्टासम्म पश्चिम तराईमा हुस्सु र कुहिरो लागिरहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।