शिल्पीमा ‘बुद्ध एन्ड द बुलेट’
काठमाडौं : ‘मानव जातिमा एउटै समयमा दुई स्वभाव र विचारले प्रभाव पारिरहेको हुन्छ। यो काम गरौं कि नगरौं ? कसका लागि यो काम गरिराखेको छु ? मैले जिन्दगीमा यत्रो दुःख गरेर आखिर के पाएँ ? यस्तै विचारले हरेक मानिसलाई प्रत्येक पल प्रश्न गरिरहेको हुन्छ। प्रेम, घृणा, विवेक मूर्खता, दया, क्रूरता अनि शान्ति एवं हिंसाको भावना एकै समयमा पालैपालो आउन सक्छ।’
शिल्पी थिएटर बत्तीसपुतलीमा मञ्चन भइरहेको नाटक ‘बुद्ध एन्ड द बुलेट’का निर्देशक तथा परिकल्पनाकार आशान्त शर्माले नाटकका विषयमा आध्यात्मिक जवाफ दिए। संवादबिनाको यो नाटक हामीले हेर्दै आइरहेको अन्य नाटकभन्दा फरक लाग्छ। नाटकका पात्रहरू एकआपसमा कुरा गर्दैनन्। घरि मीठो संगीतसँगै डुबेर नाच्छन् त घरि एकआपसमा झगडा गर्छन्।
नाटकमा हातको हाउभाउ, अनुहारको एक्सप्रेसन, नृत्य र आँखाको संवाद समेटिएको छ। यही दृश्यको आधारमा उपयुक्त कथा भर्ने जिम्मा र छुट निर्देशक शर्माले दर्शकलाई दिएका छन्। नाटकको कथासार एकै लाइनमा बताउँदै उनी भन्छन्, ‘विवेकसम्मत शिक्षित मानव आफ्ना भाव र विचार नियन्त्रण गरी बोधिसत्व प्राप्त बुद्ध हुन सक्छ भने विपरीत भएमा बुलेट अर्थात् विनाशकारी वस्तुमा रूपान्तरित पनि हुनसक्छ।’ शर्माका अनुसार कहिलेकाहीँ मनमा अनायासै द्विविधा उत्पन्न हुन्छ। एउटै दृष्टिकोणमा अडिन र थामिन गाह्रो हुने अवस्था सिर्जना हुन्छ। यही अवस्थालाई समातेर यो नाटकको जन्म भएको हो।
मञ्चमा सुमधुर संगीत बजिरहेको हुन्छ। रंगीन प्रकाशको मि श्रणले मञ्च झिलिमिली देखिन्छ। अग्रभागमा बुद्धको चित्र छ। वरिपरि ध्वजापताका सजाइएको छ। विभिन्न आकारका काठका मुढा मञ्चको अग्रभागमा राखिएको छ। कपाल खौरिएर हल्का सेतो रङको लुगा लगाएको एक पुरुष मञ्चमा देखा पर्छ। उस्तै लुगा लगाएका आधा दर्जन युवती विभिन्न भावभंगीमा उभिएका छन्।
नाटकको मूल पुरुष पात्र मञ्चमा देखा पर्नासाथ ऊ अल्मलिन्छ। आफ्नो वर्तमान अवस्था विश्लेषण गर्न थाल्छ। उसका विगत सम्झन्छ, जसलाई दृश्यमार्फत देखाइएको छ। ऊ अशान्त बन्छ, मञ्चमा यताउता कुद्छ। घरि पुस्तक बोकेर पढ्न थाल्छ त घरि फूल लिएर युवतीलाई फकाउन जान्छ। नाटकका अन्य महिला पात्रमा पनि एकरूपता देखिँदैन। कोही एकअर्कासँग झगडा गर्न अगाडि सर्छन् त कोही फूल समाउँदै युवकको मायाजालमा फस्छन्।
पात्रहरूको शारीरिक मुभमेन्टका माध्यमबाट निर्देशकले कथा अगाडि बढाएका छन्। पात्रले देखाउने दृश्यसँगै संगीतको मीठो मि श्रण गरिएको छ। टुङ टुङ बज्ने धुनसँगै एक खालको आनन्द आउँछ। संगीतसँगै पात्रहरूले कलात्मक तरिकाले नृत्य पनि गरेका छन्। सवा घण्टाको यो नाटक पात्रहरूको क्रियाकलाप हेर्दैमा सकिन्छ।
नाटकमा सगुन लिम्बू र उज्ज्वलसागर अधिकारीले संगीत संयोजन गरेका छन्। सगुनको स्वर र लय सुमधुर छ। गीत आशान्त शर्माले लेखेका हुन्। कलाकारको अभिनय परिपक्व छ। नाटकका दृश्यले दर्शकको मन छुन्छ। घरि हसाउँछ त घरि सोचमग्न बनाउँछ। नाटक हेर्दाहेर्दै दर्शक अनेक मुद्रामा देखिन्छन्। दृश्यमा दर्शक डुबाउन सक्नु नाटकको सफलता हो। नाटकमा छिरिङ शेर्पा, रेनुका सिंह, रञ्जना कार्की, दिव्या मगर, संगीता नेपाली, गोपिनी सेढाई र मेलिना बर्देवाको अभिनय छ।