टायर, ट्युब र ल्युबमा नेपाल आत्मनिर्भर हुनसक्छ
कृष्णप्रसाद दुलाल पूर्वाञ्चल ल्युब आयल (पीएलओ) प्रालिका निर्देशक हुन्। विराटनगरबाट लुब्रिकेन्ट्स व्यवसाय सुरु गरेर सफल उद्योगीका रूपमा स्थापित दुलाल नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष निर्वाचित भएका छन्। दुलालसँग नाडामा उनका भावी योजना र लुब्रिकेन्ट्स व्यवसायमा केन्द्रित रहेर गरिएको कुराकानी :
नाडाको अध्यक्षमा सर्वसम्मतबाट निर्वाचित हुनुभएको छ। अध्यक्षको रूपमा यहाँको पहलकदमी के हुनेछ ?
नाडाको अहिलेसम्मको प्रतिष्ठालाई बचाउँदै संस्थालाई व्यवसायीको हकहितमा सशक्त ढंगले अघि बढाउने योजना छ। संस्थालाई नेतृत्व गर्न टिम राम्रो चाहिन्छ। सोचजस्तै टिम पनि तयार भएको छ। समग्र रूपमा नाडाको दुई वर्षको कार्यकालमा नाडाका सदस्य व्यवसायी तथा उद्योगीको तथा यस क्षेत्रको हकहितका लागि काम गर्नेछौं। अटोमोबाइल्स क्षेत्रसँगै सडक व्यवस्थापनलाई पनि अगाडि लैजाने कार्यक्रम छ। सडक दुर्घटनालाई कसरी कम गर्न सकिन्छ, ट्राफिक व्यवस्थापन कसरी गर्न सकिन्छ। यस्ता कुरालाई ध्यानमा राखेर काम अगाडि बढाउने योजना छ। हाम्रा मुख्य गतिविधि यसमै केन्द्रित हुनेछन्।
उत्पादनमूलक उद्योगलाई प्रोत्साहन गर्ने नीति तथा कार्यक्रमको प्रस्थानबिन्दु के हुन सक्छ ?
पहिला भएका उद्योगलाई प्रवद्र्धन गर्नुपर्छ। भएका उद्योगलाई व्यवस्थित रूपमा सञ्चालन हुने वातावरण बनाउनुपर्छ। भलै १० वटा उद्योग मात्र किन नहोस्। अटोमोबाइल्स क्षेत्रमा सबैभन्दा बढी सम्भावना टायर उद्योगमा छ। गोरखकाली टायर उद्योगले गुणस्तरीय उत्पादन गरेको पनि हो। त्यो उद्योगलाई व्यवस्थित गरेर सञ्चालन गर्न सकिन्छ। गोरखकाली रबर उद्योगजस्ता २/३ वटा टायर उद्योग नेपालमा चल्न सक्छन्।
त्यस्तै, नेपाली लुब्रिकेन्ट्स उद्योगलाई अलिकति प्रोत्साहित गर्ने हो भने कुल बजारको ५०/६० प्रतिशत हिस्सा नेपाली लुब्रिकेन्ट्सले लिन्छ। त्यति मात्र भयो भने वार्षिक १५ अर्ब रुपैयाँभन्दा बढीको बजार नेपाली उत्पादनले लिन्छ। त्यसपछि ट्युब उत्पादन गर्ने उद्योग निर्माण गर्न सकिन्छ। हेलमेट उत्पादन गर्ने उद्योग चलाउन सकिन्छ। गाडीका सजावटका सामान बनाउन सकिन्छ। एसेसरिज उत्पादन गर्न सकिन्छ। सुरुमा एसेम्ब्लिङ उद्योगलाई ल्याउन सक्नुपर्छ। त्यसपछि क्रमशः पूर्ण उद्योग सञ्चालनमा आउन सक्छन्। अलिकति मिहिनेत गर्ने हो भने नेपाल टायर, ट्युब र लुब्रिकेन्ट्समा आत्मनिर्भर बन्न सक्छ।
समग्रमा उद्योगको विकास गर्न सरकारी निकायको नेतृत्वमा रहेका व्यक्तिमा इच्छाशक्ति आवश्यक छ। हालको नीतिमा केही सुधार जरुरी छ।
अहिले नेपालमा लुब्रिकेन्ट्सको बजार कस्तो छ ?
गत आर्थिक वर्षमा लुब्रिकेन्ट्सको बजार ३० प्रतिशत विस्तार भएको छ। लुब्रिकेन्ट्स बजारको करिब ३३ प्रतिशत नेपाली उत्पादनले लिएको छ भने ६७ प्रतिशत आयातित लुब्रिकेन्ट्स प्रयोग हुन्छ। नेपाली उत्पादनलाई प्रयोग गर्ने सरकारी नीति लागू मात्र गरिदिने हो भने पनि बजार धेरै विस्तार हुन्छ। कच्चा पदार्थको भन्सारमा थोरै मात्र छुट दिएमा नेपाली लुब्रिकेन्ट्सले कुल बजारको ५० प्रतिशत लिन्छ।
अहिलेसम्म उपाध्यक्षको रूपमा तपाइँ नाडाको नेतृत्व तहमा हुनुहुन्छ। यस्ता नीतिगत सुधारका विषयमा नाडाले के भूमिका खेल्यो ?
नाडाले काम गरिरहेको छ। हरेक पटक बजेट बनाउने समयमा हामीले यो क्षेत्रमा गर्नपर्ने सुधारका लागि विभिन्न सुझाव दिँदै आएका छौं। तर, सरकार छिटोछिटो परिवर्तन हुने भएकाले, मन्त्री, सचिव, विभागीय प्रमुख परिवर्तन भइरहनाले बुझाउन र त्यसलाई कार्यान्वयन गराउन गाह्रो भयो। बनेका नीति र कार्यक्रम पनि कार्यन्वयन हुन सकेन।
अटोमोबाइल्स बजारको विकास कुन अवस्थामा छ ?
विकासको सुरुवात मात्र भएको छ। यो बजारको विस्तार वार्षिक २५/३० प्रतिशतले भइराखेको छ। अझै २० वर्षसम्म यस्तो वृद्धिदर कायम नै रहन्छ। सडक विस्तारका काम भइराखेका छन्। सडकको पहुँच विस्तारसँगै, निजी सवारी, सार्वजनिक सवारी, ढुवानीका सवारी, निर्माण क्षेत्रमा प्रयोग हुने हेभी इक्विपमेन्टलगायत सबै प्रकारका सवारीको माग बढ्छ। कम्तीमा ४/५ जनाको परिवारमा एउटा कार, कुल जनसंख्याको ७०/८० प्रतिशतसँग मोटरसाइकल भएको अवस्थामा बल्ल अटोमोबाइल्स बजार विकसित भयो भन्न सकिन्छ। अहिले कुल जनसंख्याको करिब ७ प्रतिशत जनतासँग निजी सवारी छ। ७५ प्रतिशत नेपालीसँग मोटरसाइकल र ५० प्रतिशत नेपालीसँग चारपाग्रे सवारी भएकोमा मात्र यो क्षेत्रलाई विकसित अवस्थामा पुगेको भन्न सकिन्छ।
नेपालमा सवारी दुर्घटना अधिक हुने गरेको छ, यसको कारण के हुन् ? दुर्घटना कसरी कम गर्न सकिन्छ ?
सडक दुर्घटना नाडाको विशेष चासोको विषय हो। यो विषयलाई हामीले धेरै पहिलेदेखि उठाउँदै आएका छौं। सवारी दुर्घटना हुनुमा ड्राइभरको लापर्बाही प्रमुख कारण हो। ड्राइभरलाई न्यूनतम शिक्षा पनि भएन। उनीहरूको क्षमता विकासका लागि तालिम दिने निकाय पनि भएन। मेडिकल कलेज खोल्न लडाई भइराखेको छ, नर्सिङ कलेज खोल्ने होडबाजी छ, फेसन कलेज खुलेका छन् तर ड्राइभिङ शिक्षा दिने कलेज खुलेका छैनन्।
सडकमा एउटा गाडीले अर्को गाडीलाई जित्न खोज्ने प्रतिस्पर्धाले धेरै दुर्घटना भएका छन्। यातायात क्षेत्रमा भएको सिन्डिकेटले पनि सवारी दुर्घटना गराइराखेको छ। सवारीको क्षमताभन्दा बढी यात्रु बोक्ने, स्वस्थ्य प्रतिस्पर्धा गर्न नपाउने, नयाँ गाडी नहाल्ने, धेरै पुराना र राम्ररी मर्मत नभएका सवारी चलाउने अभ्यासले पनि दुर्घटना हुने गरेको छ।
तेस्रो, सडक राम्रो नभएकाले पनि दुर्घटना हुने गरेको छ। कच्ची, खाल्टाखुल्टी भएको, साँघुरो सडक, इन्जिनियरिङ नाप नभई हचुवाको भरमा बनेका सडकका कारणले पनि दुर्घटना हुने गरेका छन्। सवारी मर्मत गर्ने मेकानिक्सको क्षमता विकासमा हामीले ध्यान दिएका छैनौं। सवारी मर्मत गर्ने दक्ष जनशक्ति नभएका कारण विदेशबाट मेकानिक्स ल्याउनुपरेको छ। सीटीईभीटीले धेरै प्रकारका प्राविधिक जनशक्ति विकासमा काम गरे पनि वर्कसप चलाउने मेकानिक्सको लागि तालिमका व्यवस्था गरेको छैन। हुँदा हुँदा ड्राइभर पनि विदेशबाट ल्याउनु पर्ने अवस्था छ।
बिक्रीको तथ्यांक हेर्ने हो भने उपभोक्ताले स्वदेशीभन्दा विदेशी लुब्रिकेन्ट नै रुचाएको देखिन्छ। नेपाली कम गुणस्तरका भएर हो ?
उद्योग व्यवसायमा सुधार ल्याउन सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुपर्छ। विदेशमा सरकारी कर्मचारीमा आफ्नो देशको उत्पादन प्रयोग गर्नुपर्छ भन्ने नै ट्रेन्ड छ। जस्तै भारतीय पर्यटक नेपाल आयो भने इन्डियन प्रडक्ट नै खोज्छन्। विदेशीले नि आफ्नै देशको उत्पादन खोज्छन्। तर, हाम्रोमा आफ्नै उत्पादनमा त्यति विश्वास भएको देखिँदैन, यो मात्रै हाम्रो समस्या हो। नत्र खासै परिवर्तन गर्नुपर्ने देखिँदैन।
सरकारले आफ्नो देशको उत्पादन नै प्रयोग गर्नुपर्छ भन्ने नीति लियो भने पुग्छ। हाम्रो संस्कार नै अरु देशको राम्रो भन्ने बसिसक्यो। बनाउँदै जाने हो भने हाम्रो उत्पादन पनि राम्रो हुन्छ। अहिले होटल रेस्टुरेन्टमा स्वदेशी ब्रान्ड बनाउने गरेको पाइन्छ। हामीले लुब्रिकेन्टमा पीएलओ एउटा छाप बसाउने प्रयास गरिरहेका छौं। एउटा साधारण उद्योगले १० प्रतिशत बजार ओगट्नु भनेको सानो कुरा होइन।
गुणस्तरको सवालमा विदेशी र नेपाली उत्पादनका लुब्रिकेन्टलाई कसरी तुलना गर्न सकिन्छ ?
विदेशबाट आयात हुने ग्रिजभन्दा नेपालको ग्रिज सस्तो र गुणस्तरीय छ। नेपाली बजारमा स्वदेशी उत्पादनकै ग्रिजको एकलौटी छ। ९० प्रतिशत हिस्सा ग्रिजको छ भने बाँकी १० प्रतिशत आयात गरिन्छ। मोबिलको कुरा गर्ने हो भने पुराना गाडी तथा ट्र्याक्टरमा स्वदेशी उत्पादन नै प्रयोग हुन्छ। नयाँ गाडीका लागि भने ६ वर्षको ग्यारेन्टी दिएर आफ्नै मोबिल प्रयोग गर्नुपर्छ भनेर बिक्री गर्छन्। लुब्रिकेन्टको गुणस्तरको सन्दर्भमा अमेरिकी पेट्रोलियम इन्स्टिच्युट (एपीआई) ले मार्ग निर्देशन दिएको छ।
गाडीको प्रकारअनुसार निश्चित फरक फरक सामग्री छुट्याइएको छ। जस्तो चिया बनाउन चियापत्ती, चिनीलगायत कुराहरू छुट्याइएको हुन्छ। त्यस्तै लुब्रिकेन्टका लागि पनि ट्र्याक्टरका लागि छुट्टै मापदण्ड छ भने बाइक तथा ठूला गाडीका लागि फरक फरक सामग्री राखिएको छ। चिप्लोपनालाई बाक्लो बनाइन्छ। जसका कारण बाह्रै महिना लुब्रिकेन्ट टिकाउ रहनसक्छ। त्यसमध्ये बढी मिहिनेत ग्रिज बनाउँदा लाग्छ। ग्रिज चाँही अन्तर्राष्ट्रिय मापदण्डअनुसारकै छ।
विदेशी उत्पादनका साथै स्वदेशी उद्योग पनि छन्। यस्तो अवस्थामा पीएलओले कसरी प्रतिस्पर्धा गरिरहेको छ ?
यो व्यवसाय सर्भिस डेलिभरीमा आधारित छ। तपाइँकोमा जो पुग्छ त्यहीँ बिक्री हुन्छ। प्रतिस्पर्धा लुब्रिकेन्टमा धेरै छैन। हुन त प्रतिस्पर्धाबिनाको बजार नै हुँदैन। लुब्रिकेन्टको मार्केट सिस्टमअनुसार चल्छ। यो बिल्कुलै स्लो मुभिङ आइटम हो। यो उपभोग्य वस्तु जस्तो तुरुन्तै बिक्री हुने वस्तु होइन।
विदेशी उत्पादनसँगको प्रतिस्पर्धा कस्तो छ ?
नेपाली लुब्रिकेन्टका लागि आयात हुने कच्चा पदार्थमा १५ प्रतिशत भन्सार शुल्क लाग्छ। तयारी वस्तुमा ३० प्रतिशत कर लाग्छ। कच्चा पदार्थ र तयारी लुब्रिकेन्टमा जम्मा १५ प्रतिशतको फरक छ। यसले सम्पूर्ण उद्योगलाई समेट्न सकेको छैन। भारतले त्यहाँका उद्योगलाई अनुदान दिने चलन छ। भारतबाट आयात हुने लुब्रिकेन्टको मूल्य निकै कम छ। नेपाली लुब्रिकेन्ट र भारतीय लुब्रिकेन्टमा मूल्यको अन्तर खासै छैन। सरकारबाट हामीलाई सहयोग नै छैन। त्यसले गर्दा भारतसँगको प्रतिस्पर्धा अलि कडा भइरहेको छ। ०६२/०६३ साल अगाडी उद्योगलाई पाँच प्रतिशत लाग्थ्यो भने तयारी वस्तुमा ३० प्रतिशत लाग्थ्यो। २५ प्रतिशतको फरक थियो। त्यतिबेला एउटा मात्र लुब्रिकेन्ट उद्योगका रूपमा नेपालमा गल्फ उद्योग थियो। गल्फ त्यतिबेलाको एक नम्बर ब्रान्ड थियो। सरकारले नेपालमा उद्योग खोल्नुपर्छ भने पनि फस्टाएको देख्न नसक्ने प्रवृत्ति छ। अहिले आठवटा उद्योग हुन् तर त्यसरी एकछत्र राज गर्न सकेका छैनन्। अहिले विश्वबजारमा नै विद्युतीय सवारी साधनले राम्रो स्थान लिइरहेका छन्।
पेट्रोलियमबाट चल्ने गाडी विस्थापित हुँदा लुब्रिकेन्ट उद्योगमा के प्रभाव पर्न देख्नुहुन्छ ?
विद्युतीय सवारी आउँदा लुब्रिकेन्ट उद्योगलाई प्रभाव त पर्छ नै। तर, यो एकैचोटीमा विस्थापित हुने विषय होइन। अन्तर्राष्ट्रिय बजारमा त विस्थापित हुनसकेको छैन भने नेपालमा विस्थापित हुने परिकल्पनासमेत गर्न सक्ने अवस्था छैन। सधैंभरी एउटै चिज चल्छ भन्ने पनि हुँदैन। हेभी इक्विपमेन्ट विद्युत्बाट नचल्ने भएकाले लुब्रिकेन्ट विस्थापित हुन्छ भन्ने छैन।