जब रुद्रको झोला हराउँछ
काठमाडौं : एकाबिहानै भोजपुरबाट कतार जान हिँडेको रुद्र काठमाडौं ओर्लन्छ। बसपार्ककै छेउमा बसेर दाँत माझ्ने क्रममा उसको झोला हराउँछ। झोलामा उसको पासपोर्ट, भुटेको मकै, भटमास, एक जोर लुगा, डायरी र दुहुनो गाई बेचेर आमाले पठाएको ८५ हजार रुपैयाँ थियो। झोलासँगै उसको चैन हराएको छ। विदेश गएर पैसा कमाउने र आमालाई सुख दिने उसको सपना तुहिएको छ।
मण्डला थिएटर अनामनगरमा नाटक ‘झोला हराएको मान्छे’ मञ्चन भइरहेको छ। मंसिर २४ देखि पुस १७ सम्म प्रदर्शन हुने यो नाटक देशमा रहेको बेरोजगारी समस्यामा केन्द्रित छ। यो नाटक स्लिम जीवनले तीन वर्षअघि लेखेका हुन् जो नाटकमा रुद्रको भूमिकामा छन्। नाटकबारे बोल्दै उनले भनेका छन्, ‘झोलामा सपना बोकेर आफ्नो घरपरिवार छाड्न विवश युवाको मनोदशा नाटकका माध्यमबाट देखाउन खोजिएको हो।’
दीपेन्द्र शाहीले नाटक निर्देशन गरेका हुन्। उनी आफ्नो निर्देशकीय अनुभवमा भन्छन्, ‘तपाईंहरू पनि भ्रममा हुनुहुन्छ। हामी पनि भ्रममा छौं। आउनुस्, केही क्षण भ्रममा बाँचौं।’ रुद्रले झोला खोज्ने क्रममा पाएको दुःख, पीडा र असहजतासँगै उसको मानसिक द्वन्द्वकै वरिपरि नाटक घुमिरहन्छ। काठमाडांै सबैको सपनाको सहर हो। यहाँ सबै आउन चाहन्छन्। कसैलाई रहरले काठमाडांै ल्याइपुर्याउँछ त कसैलाई बाध्यताले काठमाडांैको रैथाने बनाउँछ। सहरमा जे पनि हुन्छ। पैसा कमाउन मानिसले जे पनि गर्छ, चोरी गर्छ, ठगी गर्छ, ठेलामा मम बेच्छ, बाटोमा मोबाइलको चार्जर बेच्छ। यस्तै तमाम बेरोजगारीको कथाले भरिएको छ नाटक ‘झोला हराएको मान्छे’।
नाटकमा शरीर बेचेर गुजारा गर्ने पूजाको कथा पनि समेटिएको छ। दादागिरी गरेर जीवन चलाउनेको व्यथा पनि अटाएको छ। बाटोको छेउमा लुगा बेच्नेको कठिनाइ पनि देखाइएको छ। पृष्ठभूमिमा कथावाचक छ। नाटकमा उसको परिचय छैन। उसले घटनालाई जोड्ने र विश्लेषण गर्ने काम गर्छ। खासमा ऊ रुद्रको दाइ योगेन्द्र हो जो विदेशमा काम गर्ने क्रममा मारिएको छ। काठको बाकसमा घर फर्किएको छ। नाटकको सुरुआती दृश्यमा काठको बाकसबाट फुत्त निस्किएको योगेन्द्र नाटक अवधिभर हरेक पात्रसँग पुगिरहन्छ।
पूजाका माध्यमबाट नाटककारले विभिन्न कारणले सडकमा जीवन जिउन बाध्य पात्रलाई नाटकमा उतारेका छन्। जोसँग कि मागेर खाने कि चोरेरै खाने मात्रै विकल्प छ। घरबारविहीन उनीहरूलाई पूजाले शरीर बेचेरै भए पनि शरण दिएकी छ। नाटकमा होश गुमाएर सडकमा आउनेहरू, परिवार गुमाएर बेसहारा हुनेहरूको कथा पनि नाटकले समेटेको छ। राजनीतिक आन्दोलनमा लागेर घरबार बिग्रिएको र पार्टीबाट पनि केही सहयोग नपाएको परिवारको कथा पनि नाटकले समेटेको छ।
सहरमा निकै हन्डर खाएको रुद्र गाउँमै केही गर्छु भनी फर्किन्छ। घर पुग्दा उसकी आमाको मृत्यु भइसकेको छ। ऊ बेसहारा बन्छ। गाउँलेले उसलाई होश हराएको मानिसको रूपमा व्यवहार गर्छन्। समाजका अनेक विषयलाई नाटकमा समेट्ने प्रयास गरिएको छ।
करिब डेढ घण्टाको यो नाटक हेर्दा रमाइलो लाग्छ। आवश्यक ठाउँमा गितार, सारंगीको धुन, प्रत्यक्ष गायन र संगीतको तालमेल मिलेकै छ। कहीँ कतै पात्रहरूको अवस्थाअनुसार अश्लील र कर्कस संवादहरू पनि छन्। नाटकले अहिलेको समयलाई चित्रण गरेको छ। नाटकमा चन्द्र नेपाली, विकास लामा, सुनिशा बजगार्इं, सन्जितप्रताप मल्ल, सबिना थापा, नवीनचन्द्र अर्याल, गणेश पौडेल, जयराम ढकाल, स्लिम जीवन, मणिराज पौडेल, विशाल श्री, आनन्द्र महत, मोहन राई, अरुण पौडेल, संजस्व योगीलगायतको अभिनय छ।