भारतमा पुल मर्मत : आयात–निर्यात प्रभावित
विराटनगर : भारतले जोगबनी बजार नजिकै रहेको मीरगन्ज खोलाको पुल मर्मत सुरु गर्दा नेपालमा निकासी–पैठारी प्रभावित भएको छ। दुई वर्षअघि बाढीले भत्काएको पुल बिहीबारदेखि मर्मत सुरु भएको हो।
पुल मर्मत गर्न अझै चार/पाँच दिन लाग्ने त्यस अवधिका लागि ठूला मालबाहक सवारी सञ्चालनमा रोक लगाएको फारबिसगन्जस्थित भारतीय सडक कार्यालय, अनुमण्डल पदाधिकारीले प्रकाशित गरेको सूचनामा उल्लेख छ। चार दिन मर्मत गरिने र काम नसकिए अन्य ४÷५ दिनसमेत बढ्न सक्ने सूचनामा उल्लेख छ। पुल मर्मतको काम राति र दिन दवै समयमा गर्ने भएकाले चाँडो काम सकिने भारतीय अधिकारीले बताएका छन्।
२०७४ सालको बाढीले उक्त पुल भत्काउँदा विराटनगर नाका एक वर्ष बन्द भई मालवस्तु रि–रूट गरेर सुनसरीको सेतुबन्ध नाकाबाट ल्याउनु परेको थियो। यसपछि केही मर्मत गरे पनि गत वर्षात्मा समेत भारतले पुल जोखिमपूर्ण रहेकाले केही दिन सामान आयातनिर्यातमा रोक लगाएको थियो।
विराटनगर भन्सारमा आउन यो पुलबाहेक अन्य बाटो छैन। चार/पाँच दिन भन्दै पुल मर्मत गर्न भारतले सुरु गर्दा विराटनगर भन्सार हुँदै नेपाल सामान ल्याउन समस्या भएको प्रदेश १ का उद्योगी व्यवसायीले बताएका छन्। ‘दैनिक अरबौंका सामान बोकेका ठूला सवारी हामीले यसै मार्गबाट ल्याउने हो’, मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले भने, ‘पुल पूर्णक्षमतामा सञ्चालन नहुँदा खर्च बढेको थियो, अहिले रोकिएपछि झनै समस्या थपियो।’ सीधै ल्याउँदा एकै दिनमा हुने काम अब दुई दिनमा पनि नहुने उनले बताए।
ठूला कन्टेनरमा सामान ल्याउँदा ढुवानी खर्च निकै बढी हुने र त्यसलाई घुमाएर ल्याउँदा खर्च दोब्बर हुने व्यवसायी बताउँछन्। यसले प्रदेश १ का उद्योगी व्यवसायीलाई निकै ठूलो असर पर्ने मुन्दडाको भनाइ छ। पुल सञ्चालन नहुँदा बथनाहा हुँदै भीमनगर भन्सार नाकाबाट कोसी ब्यारेज, त्यसपछि सुनसरीतर्फ मालवाहक गाडी ल्याउनुपर्छ। ती गाडी फेरि विराटनगर भन्सार कार्यालयमा आई जाँचपास गराएर उद्योगसम्म पुग्नुपर्दा व्यवसायीको लागत समेत दोब्बर पुग्छ। कन्टेनर समयमै फिर्ता हुन नसके ढुवानी गर्नेलाई उद्योगीले अतिरिक्त रकम बुझाउनुपर्ने बाध्यता छ।
पुलकै कारण आयात निर्यात प्रभावित हुँदा भन्सारमा राजस्वमा समेत असर पर्न सुरु गरेको छ। विराटनगर भन्सारका अधिकृत एवं सूचना अधिकारी मणिराम पौडेलले मालवाहक सवारी आउन–जान नपाएपछि निकासी–पैठारी सँगसँगै कार्यालयले संकलन गर्दै आएको राजस्वमा पनि असर पुग्ने बताए। कार्यालयले दैनिक १५ करोडको हाराहारीमा राजस्व संकलन गर्दै आएको छ। पुल मर्मतसँगै राजस्व संकलन आधाले घटेको पौडेलको भनाइ छ।