कृषि उत्पादन बर्सेनि ह्रास
ओखलढुंगा : ओखलढुंगामा बर्सेनि कृषि उत्पादन घट्दै गएको छ। तीन वर्षयता धान र मकैको उत्पादन घटिरहेको छ। कृषि भूमिमा माटोको उर्वराशक्ति कम हुुँदै जाँदा उत्पादन घटेको हो।
समयमा वर्षा नहुनु, रासायनिक मलको प्रयोग बढ्दै जानुलगायत कारणले माटोको उर्वराशक्ति घट्दै गएको कृषि प्राविधिक बताउँछन्। सिँचाइ अभाव, उचित मौसम तथा बिउको छनोट गर्न नसक्नु, समयमा प्राविधिक सेवा नपाउने तथा कम्पोस्ट मलको प्रयोग घट्दै जाँदा कृषि भूमिको उत्पादकत्वमा ह्रास आइरहेको कृषि ज्ञान केन्द्रका प्राविधिक टीका बानियाँले बताए। तीन वर्षयता लगातार ओखलढुंगाको मुुख्य खाद्यबाली धान र मकैको उत्पादन तथा उत्पादकत्व घटिरहेको छ।
ज्ञान केन्द्रको तीन वर्षको अभिलेखअनुसार धानको उत्पादकत्व प्रतिहेक्टर ३ मेट्रिकटनबाट घटेर २.५३ मा झरेको छ। आर्थिक वर्ष ०७४/७५ मा धानको उत्पादकत्व ३ मेट्रिक टन थियो। यो क्षमतामा ह्रास आएर ०७५/७६ मा २.७ मा झर्यो। चालु आर्थिक वर्षमा झन ह्रास आएको छ। अहिले ओखलढुंगाको धानको उत्पादकत्व २.५३ मा झरेको ज्ञान केन्द्रका प्राविधिक अधिकृत हेम आलेले जानकारी दिए।
यस्तै अर्को मुुख्यबाली मकैको उत्पादनसमेत घट्दै गएको छ। मकैको उत्पादकत्वसमेत यही अनुपातमा खस्किएको आलेको भनाइ छ। उत्पादनमा ह्रास आउनुको मुख्य कारण सिँचाइ अभाव र समयमा बाली नलगाउनु नै हो। खडेरीका कारण तीन वर्षयता रोपाइँको क्षेत्रसमेत घट्दै गएको छ। सिँचाइ पर्याप्त नहुँदा उत्पादन घटेको हो।
ओखलढुंगाको मुख्य आयस्रोत कृषि नै हो। तर, कृषि क्षेत्रमा स्थानीय सरकारको ध्यान कम पुगेका कारण उत्पादकत्व घटिरहेको सरोकारवालाको गुनासो छ। संघीयता कार्यान्वयनपछि स्थानीय सरकारले तीनपटक नीति तथा कार्यक्रम र बजेट ल्याएका छन्। यी तीनै वर्ष कृषि उत्पादनमा ह्रास आइरहेको छ। यसको अर्को कारण स्थानीय सरकारको कृषि क्षेत्रमा लगानी र ध्यान नगएको राष्ट्रिय कृषक समूह महासंघका केन्द्रीय सदस्य हितराज कार्कीले बताए।
उनले भने, ‘नीति तथा कार्यक्रममा राम्रै लेखेका छन् तर बजेट र कार्यान्वयन हेर्दा शून्यप्रायः छ, कृषिमा आधुनिकीकरणका नाममा केही औजार बाँड्ने काम मात्रै भएको छ।’ कृषिमा अनुदान दिएर युवालाई व्यावसायिक बनाउन सके कृषि उत्पादकत्व बढाउन सकिने कार्कीको सुझाव छ। ओखलढुंगामा धान, मकै तथा आलुको उत्पादनका हिसाबले पकेट क्षेत्र घोषणा गरिए पनि तीन क्षेत्रमा खेती गर्ने क्रम र उत्पादन घटिरहेको छ। ओखलढुंगाका रामपुर, जरायोटार, सेर्ना, ठूलीबेंसी, सेराबेँसी लगायत मुुख्य धान उत्पादन हुने क्षेत्रमा समेत बर्सेनि उत्पादन घटिरहेको छ।
ओखलढुंगाका आठ स्थानीय तहका नीति तथा कार्यक्रममा कृषि लगानीको मुख्य क्षेत्रका रूपमा प्राथमिकतामा राखेका छन्। तर, बजेट खर्च हेर्दा सडक र पूर्वाधारमा मात्रै खर्च भएको देखिएको छ। ‘स्थानीय सरकारको ध्यान कृषिमै छ, स्थानीयको माग पहिले पूर्वाधारमा रहेकाले एकाध वर्ष बजेट खर्च त्यता भए पनि हामी व्यावसायिक कृषि प्रणालीमा सुधार ल्याउँछौं’, चिसंखुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले भने। शर्माका अनुसार अब आउने नीति तथा कार्यक्रम कृषि, स्वास्थ्य र शिक्षा प्राथमिकतामा राखेर आउँछन्।
उत्पादन घटेपछि जिल्लामा बाहिरबाट खाद्यान्न आयात बर्सेनि बढ्दै गएको छ। खाद्यान्न तथा अन्य वस्तुको आयातमा कम्तीमा १५ प्रतिशतले बढिरहेको उद्योग वाणिज्य संघका कार्यालय सचिव नवराज दाहालले बताए। उनले भने, ‘आयात त २५ प्रतिशतसम्म बढेको अनुमान छ तर खाद्यान्न आयातको प्रतिशत झन् बढी छ।’