अनुष्काको मिस वर्ल्ड अनुभव : कसले के हेरिरहेको छ थाहै नहुने
काठमाडौं : ‘मिस नेपालको टाइटल जितेर मिस वर्ल्डको मेरो यात्रामा हरपल सहयोग र सद्भाव दिई हौसला बढाउने सबैलाई मेरो हार्दिक नमन’, मिस नेपाल– २०१९ की विजेता अनुष्का श्रेष्ठ मिस वर्ल्डमा सहभागी भएर फर्केपछि भन्दै थिइन्, ‘यो तपार्इं हामी सबैको सफलता हो ।’ सोमबार अन्नपूर्ण होटलमा आयोजित पत्रकार सम्मेलनमा नीलो लुगामा सजिएर उत्साहित हुँदै उनी आफ्नो मिस वर्ल्ड अनुभव बाँडिरहेकी थिइन् ।
अनुष्का लन्डनमा आयोजित मिस वर्ल्ड– २०१९ मा ब्युटी विथ परपस र मल्टिमिडिया अवार्ड प्राप्त गर्दै उत्कृष्ट १२ मा पुग्न सफल भएकी थिइन् । केही दिनअगाडि लन्डनमा भएको मिस वर्ल्ड प्रतियोगितामा सहभागी भएर उनी सोमबार मात्रै नेपाल फर्किएकी हुन् ।
मिस नेपालको आयोजक संस्था हिडेन टेजरले पत्रकार भेटघाट आयोजना गरेको थियो । अनुष्काले लन्डनमा प्रस्तुत गरेको नेपाल चिनाउने भिडियो पनि कार्यक्रममा देखाइएको थियो । अनुष्काको टिमले बनाएको यो भिडियोले चौतर्फी चर्चा र प्रशंसा बटुल्न सफल भएको थियो । यो भिडियोका कारण सामाजिक सञ्जाल, अनलाइन, इन्टरनेटमा अनुष्काको तारिफ भएको थियो ।
मिस वर्ल्डको अनुभव सुनाउने क्रममा अनुष्काले अन्तिम दिनसम्म पनि आफूलाई प्रतियोगिताजस्तो नै नलागेको बताइन् । उनले भनिन्, ‘मिस वर्ल्ड प्रतियोगितामा हरेक सहभागीको हरेक समय जज भइरहेको हुन्थ्यो तर कसले, केमा जज गरिरहेको छ भन्ने पत्तै हुँदैनथ्यो । यसैले हामीले त्यहाँ गर्ने हरेक क्रियाकलाप, चालढाल र बोली र प्रस्तुतिमा निकै सजग हुनुपथ्र्यो ।’
‘मिस वर्ल्डमा म एक्लै गएकी थिइनँ । मेरो मात्रै नाम छैन, मसँगै मेरो देशको नाम पनि जोडिएको भन्ने लागिरहन्थ्यो । कसरी देशलाई चिनाउने, अरूभन्दा कसरी फरक प्रस्तुति दिने भन्नेमै लागिरहन्थें’, उनले भन्निन्, ‘त्यहाँ जे पनि देखाउने ठाउँ थियो । व्यक्तिगत प्रस्तुतिमा आफू चिनाउने हो या देश । हरेक देशका सहभागीको आआफ्नै तरिका थियो । पहिरनमा होस् या संवादका माध्यमबाट सबै प्रतियोगी आफ्नो देश चिनाउने कोसिसमा हुन्थे ।’ उनले भनिन्, ‘नेपालको ब्याच नलगाइकन धेरैले चिन्न सक्ने बनेकी थिएँ म ।’
मीठो आवाजमा अनुभव सुनाइरहेकी अनुष्का घरी मुस्कुराइरहेकी हुन्थिन् त घरी सोचमग्न हुन्थिन् । आफूले टप फाइभमा पुग्न सक्ने गरी प्रस्तुति दिएको दाबी गर्दै अनुष्काले आफू उत्कृष्ट पाँचमा पुग्न नसक्नुको कारण खोजिरहेको बताइन् । भनिन्, ‘के कमी थियो भन्ने जान्न पाए अर्को वर्षका मिस नेपाललाई सहज हुने थियो ।’
प्रतियोगिताको सुरुआती दिनमा आफू त्यही भीडमा हराए जस्तो लागेको अनुभव सुनाउँदै भनिन्, ‘एक सय ११ देशका उत्कृष्टको माझमा आफू नदेखिएजस्तो लाग्ने रहेछ । न म त्यहाँ सबैभन्दा अग्लो थिएँ, न सबैभन्दा सुन्दर जस्तो लाग्थ्यो आफूलाई । त्यसैले हरपल यो भीडमा कसरी आफू र नेपाललाई कसरी चिनाउने भन्नेमै केन्द्रित भएँ । हरेक पल म आफैंलाई प्रश्न गरिरहन्थेँ ।’
नेपालबाट लगेको टोकन बाँडेर भिजिट नेपाल– २०२० लाई सहयोग पुग्ने काम गरेको उनको भनाइ थियो । ग्रान्ड फिनाले नजिकिँदै जाँदा आफूमा जिम्मेवारी झन्झन् बढ्दै गएको महसुस भएको उनले सुनाइन् । उनले मिस वर्ल्डका लागि आफूले सात महिनादेखि निकै मेहनत गरेको जानकारी दिइन् ।